समाज


राष्ट्रिय धान दिवस रोपाइँ गरेर मनाइँदै (तस्बिरहरू)

राष्ट्रिय धान दिवस रोपाइँ गरेर मनाइँदै (तस्बिरहरू)

नेपालखबर
असार १५, २०८३ सोमबार १२:३८, काठमाडौँ

प्रत्येक वर्ष असार १५ मा मनाइने राष्ट्रिय धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। 

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि असार १५ मा दही चिउरा खाँदै रोपाइँ गर्ने परम्परा छ। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा मनाइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

२९ मंसिर २०६१ को मन्त्रीस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती नै हो।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा छ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ भएको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दावी गरेको छ। 

रोपाइँ महोत्सवको अवसरमा पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले धादिङमा आज ‘रोपाइँ’ महोत्सव आयोजना गरिएको छ। त्यसैगरी विभिन्न संघसंस्थाले पनि आज रोपाइँ गरेर धान दिवस मनाउँदै छन्।

धान दिवसका अवसरमा राष्ट्रपपति रामचन्द्र पौडेलसहित विभिन्न दलका नेताहरूले शुभकामना सन्देश दिएका छन्। 

हेर्नुहोस् रोपाइँका थप तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad