छोरी अञ्जु खतिवडाले जहाज उडाउँदै गर्दा माइतीघर विराटनगरमा बुवा गोविन्द र आमा इन्दिरा गर्विलो महसुस गर्थे।
यतीको काठमाडौं-विराटनगर उडान हुँदा सम्भव भएसम्म उनी माइतीघर पुग्ने गर्थिन्। समय नहुँदा उनी आमाबुवाको स्वास्थ्यबारे चासो राखिरहन्थिन्।
जहाज लिएर विराटनगर-काठमाडौं बिहान-राति ओहोरदोहोर गरिरहँदा बुवाआमाको स्वास्थ्यबारे सधैँ बुझ्ने गर्थिन्।
गत शुक्रबार मात्रै उनी विराटनगर उपमहानगरपालिका-५ स्थित चाँदनी चोकमा रहेको माइतीघर आएर उनले बुबाआमालाई भेटेकी थिइन्। उनी त्यही दिन काठमाडौं फर्किइन्।
माघ ३ गते बिहान काठमाडौँ-विराटनगर उडान रहेकाले बुवाआमालाई भेट्न आउने वाचासहित उनी हिँडेकी थिइन्। तर अब अञ्जु कहिल्यै माइतीघर फर्किने छैनन्।
पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा उनीसँगै ७२ यात्रुको निधन भयो। ४५ वर्षीया उनी सेती खोँचमा खसेर सदाका लागि अस्ताएकी छन्।
यती एयरलाइन्सको जहाज दुर्घटनामा अञ्जुको निधनपछि विराटनगर-५ स्थित चाँदनी चोक शोकमा डुबेको छ।
उनको माइतीघरसँगै बस्ती नै शोकमग्न छ। दुर्घटनामा अञ्जुको निधनसँगै आफन्तसहित कोही बोल्न सक्ने अवस्थामा छैनन्।
गाउँ शोकमा डुबेको छ। विमान दुर्घटनामा छोरीलाई गुमाउनु परेको खबरसँगै ६७ वर्षीय बुवा गोविन्द खतिवडा र ६५ वर्षीया आमा इन्दिरा आइतबार साँझ स-परिवार काठमाडौं गएका छन्।
एकजना नातेदार प्रेमप्रसाद घिमिरेले अहिले घरमा आफन्तहरु मात्रै रहेको बताएका छन्। खतिवडाको घरमा सन्नाटा छाएको छ। सबै भावविह्वल अवस्थामा छन्।
सोमबार पनि आफन्तबीच घरभित्र रुवाबासी चलिरहेको छ। सहानुभूति प्रकट गर्न छरछिमेक र आफन्तहरुको घुइँचो लागेको छ।
पारिवारिक स्रोतका अनुसार पाका उमेरका गोविन्दलाई बुवाको बर्खान्त बारिरहेका बेला पुत्रीशोक परेको छ।
गोविन्दका बुवाको चार महिनाअघि अर्थात गत भदौमा निधन भएको थियो। बर्खान्त बसिरहेकै समयमा गोविन्दलाई पुत्रीशोक पनि परेको हो। गोविन्द सरकारका पूर्वकर्मचारी पनि हुन्। उनले लामो समय राजस्व विभागमा काम गरेका थिए।
आफन्तका अनुसार अञ्जुले विराटनगरको सेन्ट जोशेफ विद्यालयबाट एसएलसी गरेकी थिइन्। त्यसपछि उच्च शिक्षा लिन भारत गइन्।
गोविन्दप्रसाद र इन्दिरादेवीकी जेठी छोरी अञ्जुको जन्म २०३५ साल कात्तिकमा भएको हो। गोविन्दका ३ छोरी र १ छोरा छन्।
छोरा मनिष खतिवडा र बुहारी रिग्दा आचार्य अमेरिकामा बस्छन्। माइली छोरी मैया खतिवडाका पति प्रमोदराज पौडेल यतीकै क्याप्टेन हुन्। कान्छी मुना पोखरेल पति राजेन्द्र पोखरेलसँगै क्यानडामा बस्छिन्।
आइतवार पोखरामा दुर्घटनाग्रस्त विमानकी को-पाइलट अञ्जु श्रीमान् दीपक पोखरेलको विमान दुर्घटनामा मृत्यु भएपछि उडान क्षेत्रमा प्रवेश गरेकी हुन्।
पोखरेलको २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनअट्टर विमान दुर्घटनामा परेर निधन भएको थियो ।
आफन्त घिमिरेका अनुसार श्रीमान्को हवाई दुर्घटनामा मृत्यु भएपछि अञ्जुले यही क्षेत्रमा अध्ययन गर्ने जमर्को गरेकी थिइन्।
बुवा गोविन्द र परिवार सदस्यको आग्रहलाई थाती राखेर अञ्जुले श्रीमान्को सपना साकार पार्न अमेरिका पुगेकी थिइन्।
केही वर्ष अमेरिकाको क्यालिफोर्नियामा उनले हवाईजहाज उडानसम्बन्धी अध्ययन पूरा गरेपछि १३ वर्षदेखि नेपाली आकाशमा यात्रुलाई गन्तव्यमा पुन्याउन खटिइन्।
यसलाई उनले आफ्नो श्रीमान्को सपना साकार भएको मानेर आफन्तलाई सुनाउने गरेकी थिइन्। पोखरेल र खतिवडाका एक छोरी छन्।
उनले ६ वर्ष अघि दोस्रो विवाह गरेकी थिइन्। काठमाडौंमा विवाह गरेकी अञ्जुको त्यता पनि एक छोरा रहेका छन्।
Shares
प्रतिक्रिया