समाज


मंगलबारदेखि उपत्यकामा सार्वजनिक गाडी नचलाउने मजदुरको घोषणा

मंगलबारदेखि उपत्यकामा सार्वजनिक गाडी नचलाउने मजदुरको घोषणा

नेपालखबर
फागुन १, २०७९ सोमबार १८:३, काठमाडौँ

यातायात मजदुरहरुले मंगलबारदेखि  काठमाडौं उपत्यकाको रुटमा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। यातायात मजदुरका तीनवटा संगठनले सोमबार साँझ संयुक्त विज्ञप्ति निकालेर सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन्। 

बालाजुस्थित नयाँ बसपार्क चलाउँदै आएको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको आरोपमा मजदुरहरू आन्दोलित भएका हुन्। मजदुरहरुले बालाजु क्षेत्रस्थित सडकमा गाडी राखेर अवरोध गरिरहेका छन्। 

त्यसक्रममा प्रहरीसँग झडप हुँदा उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तको एउटा भ्यानमा आगोसमेत लगाएका छन्। 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त गाडी नचलाउने घोषणा गरेका हुन्। आफूहरुमाथि ठेकेदार कम्पनीका प्रतिनिधिले कुटपिट पनि गरेको बताउँदै मजदुरहरुले गाडी नचलाउने भनेका हुन्। 

यातायात मजदुर नेता भीम ज्वाला राईले आफूहरुमाथि आक्रमण भएको बताए। ‘हाम्रा १० बुँदे माग सार्वजनिक गर्ने कार्यक्रममा ल्होत्से कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल,हिमाल कुँवरसहित ३० जनाको समूहबाट हामीमाथि कुटपिट भयो। त्यहीकारण हामी आन्दोलित भएका हौँ,’ राईले भने।

यसलाई लिएर आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता पनि भएको थियो। उक्त छलफलमा सहमति भएको बताइएको थियो।

मजदुरहरुले ट्राफिक प्रहरीले ऐनविपरीत १५ सय जरिवाना असुलेको, चालकहरूको अनुमतिपत्र जथाभावी निलम्बन गरेको, प्रदूषणका नाममा मनोमानी रकम उठाएको आरोप लगाएका छन्। 

उनीहरुले आफ्ना माग पूरा गरिनुपर्ने बताएका थिए। तर सरकारले नसुनेको उनीहरुको गुनासो थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .