सरस्वती डुम्रे अहिले विक्षिप्त अवस्थामा छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरका रुपमा कार्यरत सरस्वतीको जीवनमा माघ १ गते परेको बज्रपात अकल्पनीय थियो।
त्यो बिहान उनी खुसी थिइन्। उनको परिवारका चार सदस्य पोखरा जाँदै थिए। उनका पति, दुई सन्तान र सासू चढेको यती एयरलाइन्सको विमानलाई उडान अनुमति उनैले दिएकी थिइन्।
त्यति मात्र होइन, काठमाडौँ टावरसँग विमानको सम्पर्क कायम रहुञ्जेल उनैले विमानलाई बाटो देखाएकी थिइन्। त्यसपछि पोखरा टावरलाई विमान ह्यान्डओभर गरेकी थिइन्।
तर, विमान सकुशल अवतरण हुन सकेन, सेती खोँचमा दुर्घटनामा पर्यो। लगत्तै उनले थाहा पाइन्। सरस्वतीले आफ्ना दुवै सन्तानसहित परिवारका चार जना गुमाइसकेकी थिइन्।
तर, सरस्वतीको पीडा यहीँ सकिएन।
विमान दुर्घटनामा ७२ जनाको मृत्यु भयो। ७० जनाको शव आफन्तले बुझिसके। मारिनेमध्ये १५ जना विदेशी थिए। उनीहरुको शव पनि आफन्तले लगे।
सरस्वतीकी १३ वर्षीया छोरी आयुर्दी शर्मा र ६३ वर्षीया सासू जमुना शर्माको शव पनि फेला पर्याो। उनीहरुको अन्तिम संस्कार भइसकेको छ।
तर, उनले ४० वर्षीय पति युवराज शर्मा र ४ वर्षका छोरा बेबिनको शव पाएकी छैनन्। किनभने दुर्घटनामा परेका दुई जना अझै बेपत्ता छन्। ती सरस्वतीकै पति र छोरा हुन्।
जमुनाको शव पोखरामै पहिचान भइसकेको थियो। पछि शिक्षण अस्पतालमा आयुर्दीको पहिचान भयो। शव पहिचान भएको केही दिनपछि आफन्तले पशुपति आर्यघाटमा अन्त्येष्टि गरे। तर दुई जनाको भने महिना दिन बित्दा पनि पत्तो लाग्न सकेको छैन।
सुरक्षाकर्मीले अहिले पनि खोजी भइरहेको जवाफ दिएका छन्। तर अब भेटिने सम्भावना झनझन् कम हुँदै गएको छ।
युवराजका भाइ छविलाल परिवारसहित नै लाओसमा बस्छन्। यहाँ परिवारका ४ जना विमान दुर्घटनामा परेको खबर पाएपछि उनीहरु पनि नेपाल आए। नेपाल आएर उनले आमाको अन्त्येष्टि गरे। तर दाजु र भतिजको शव फेला परिवारमा अझ धेरै पीडा थपिएको छ।
सरस्वतीले हालै मात्र नवौँ तहमा नाम निकालेकी थिइन्।
पोखरा विमान दुर्घटनामा सबैभन्दा धेरै मानवीय क्षति पर्वत जिल्लाले बेहोर्यो। पर्वतका १० जनाको ज्यान गयो। सरस्वतीको घर पनि पर्वतको विहादी गाउँपालिका हो।
दुर्घटनापछि पहिचान हुन नसकेका ६ वटा शवको डीएनए परीक्षण गरिएको थियो। तीमध्ये ५ वटा शव आफन्तको जिम्मा लगाइसकिएको छ।
पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले भने, ‘यहाँ ४८ वटा शव र दुई वटा पोकामा शरीरका केही अंग ल्याइएको थियो। ती मध्ये ४८ जनाको पहिचान गरेर आफन्तको जिम्मा लगाइसकेका छौं। पहिचान नभएका केही शव पछि डीएनए परीक्षण गरेर बुझायौं तर दुई जनाको भने केही फेला परेको छैन। पोकामा भएका केही अंगलाई शव मान्न सकिँदैन।’
पोखरामा विमान दुर्घटना भएको एक महिना पुगेको छ। माघ १ गते बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज सेती खोंचमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका ४ सदस्यसहित ७२ जना परेका थिए।
प्रतिक्रिया