समाज


बसन्त चौधरीले विश्व काव्ययात्रा पुनः सुरु गर्ने, प्रणय दिवसमा २ पुस्तक लोकार्पण

बसन्त चौधरीले विश्व काव्ययात्रा पुनः सुरु गर्ने, प्रणय दिवसमा २ पुस्तक लोकार्पण

नेपालखबर
फागुन २, २०७९ मंगलबार २१:४८, काठमाडौँ

प्रेमको प्रतिक गुलाबको फूलको ब्याच लगाएका दर्शक। अधिकांश प्रेमिल रंगको पोशाकमा सजिएका छन्। खचाखच भरिएको काठमाण्डौको मण्डला थिएटरभित्रको शितल वातावरण, रंगहरुको कलात्मक समायोजन र फूलहरुको सजावटले अझ प्रेमिल बनेको पलः मानौं हलमा उपस्थित सबै प्रेम गर्न आएका हुन्, प्रेमको परिभाषा खोज्न आएका हुन् अनि आपसमा प्रेम साट्न आएका हुन्। 

गुलाबी रातो र कालो रंगको पोशाकमा सजिएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीको आगमनसँगै हलमा हुटिङ सुरु भयो। कलात्मक सजावटले चिटिक्क परेको स्टेजमा दिइएको मन्द प्रकाशमा फिस्स हाँस्दै सुरु भयो चौधरीको बहुप्रतिक्षित एकल कविता वाचन ‘कवितासँग बसन्त’। 

स्वास्थ्य समस्या लगायतका कारण झण्डै साढे ३ वर्षको निस्क्रिय जीवनलाई चिरेर पुनः सक्रिय बनेका चौधरीले विभिन्न २० देशमा प्रस्तुत गरेका विश्व काव्ययात्राकै शैलीमा यसपटकको प्रणय दिवसलाई विशेष र रोमाञ्चक बनाए। 

‘लभ इज इन दि इयर’को थिम दिइएको एकल कविता वाचन कार्यक्रमका क्रममा चौधरी आफ्ना प्रिय दर्शक तथा प्रशंसकसँग एकघण्टा पोखिए। 

सो क्रममा उनले एकदर्जन बढी कविता, मुक्तक र गजल सुनाए । सबै रचना प्रेम, प्रेमिका र प्रेमिल सम्बन्ध लगायतसँग सम्बन्धित थिए। 

चौधरीका कविता समकालीन मनुष्यका सुखदुःख, हाँस्य एवम् रोदन अर्थात प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन्। उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीक अनौठा हुने गरेका छन्। यस्तै विशेषता यसपटकको प्रणयदिवसमा प्रस्तुत रचनाहरुमा समेत झल्कियो। 

सो क्रममा कवि चौधरीले आफू कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसारको रचना गर्न चाहेको बताए । ‘आँसु, हासो, सुखदुख जस्ता भावनात्मक रहरबाट नै कविता जन्मिन्छ। म चाहन्छु, मेरो कविता नदीको शितल प्रवाहसरी शान्त होस्। पहराबाट छुटेको छहरासरी गतिमय पनि।’ उनले भने–‘जब मेरा भावनाहरुले शब्द उच्चारण गर्छन्। अनि वास्तवमा मलाई सुखको अनुभूति हुन्छ। साच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु।’

समर्थनमा दर्शकदिर्घाबाट पर्रर तालि बज्यो।  

सो क्रममा कवि चौधरीले आफूले सुरु गरी हाल रोकिएको प्रतिष्ठित विश्व काव्ययात्राको पुनः थालनी गरिने उद्घोष समेत गरे। 

सो अवसरमा कवि चौधरीलाई सुन्न मण्डला थिएटर पुगेका करिब डेढसयजनाले उनका दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) तथा ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह)को सामूहिक लोकार्पण समेत गरेका थिए। 

बसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि स्थापित नाम हो। 

नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सशक्त सिर्जनाहरु सार्वजनिक गरिसकेका छन्। केही समयअघि उनका ८५ वटा कविताहरुको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो। यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन्। त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो। ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एकदर्जन कृतिहरु प्रकाशित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad