ad ad

राजनीति


नेपाल, लिङ्देन, राउत, खाणदेखि महन्थ ठाकुरसम्मलाई भेटेर फर्किए क्वात्रा

नेपाल, लिङ्देन, राउत, खाणदेखि महन्थ ठाकुरसम्मलाई भेटेर फर्किए क्वात्रा

सन्तोष घिमिरे
फागुन २, २०७९ मंगलबार २२:४, काठमाडौँ

नेपाल राष्ट्रपति निर्वाचनमा होमिन लागेका बेला भारतीय विदेश सचिव विनयमोहन क्वात्राले विभिन्न राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका छन्। 

क्वात्राले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सत्तारुढ जनमत पार्टीका अध्यक्ष सीके राउत, कांग्रेसका नेता बालकृष्ण खाणदेखि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटे। 

राउतसँग भएको भेटवार्तामा विदेश सचिव क्वात्राले पार्टीको भावी रणनीतिबारे चासो राखेको उनी निकट एक नेताले जानकारी दिए। 

‘जनमत पार्टी अब कसरी अघि बढ्छ भन्नेमा क्वात्राको चासो थियो। अध्यक्षले जनताको चाहनाअनुसार हामी अघि बढ्छौँ। मधेशका जनताको हितलाई ध्यानमा राखेर अघि बढ्छौँ भन्ने कुरा राख्नुभयो,’ ती नेताले भने। 

त्यस अवसरमा क्वात्राले जनमत पार्टी र राउतले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि बधाई दिएका थिए। क्वात्राले राउतलाई पछिल्लो पटक कहिले भारत गर्नुभएको थियो भनेर पनि जिज्ञासा राखेका थिए। राउतले आफूले सन् २०१६ मा भारतको निजी भ्रमण गरेको स्मरण गरेका थिए। 

‘तर मैले भारतको राजनीतिक भ्रमण गरेको छैन,’ उनले भनेका थिए। 

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका क्वात्राले आज अर्का कांग्रेस नेता बालकृष्ण खाणसँग एक्लै भेटेका छन्। भेटमा उनले राष्ट्रपति निर्वाचनबारे चासो राखेका थिए। 

सोमबार क्वात्राले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग पनि भेटेका थिए।  क्वात्रालाई भेटेको भोलिपल्ट आज अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा बोल्दै अहिलेको सत्ता गठबन्धन फेरबदल हुनसक्ने आशंका व्यक्त गरेका छन्। उनले सरकार ढाल्न देशीविदेशी तत्व लागेको बताएका छन्। राष्ट्रपति निर्वाचनअघि क्वात्राले गरेको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण मानिएको छ। 

परराष्ट्र सचिव भरतराज पौड्यालको निम्तोमा नेपाल आएका भारतीय विदेशसचिव क्वात्राले उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल (अर्थमन्त्री), नारायणकाजी श्रेष्ठ (भौतिक पूर्वाधार) र राजेन्द्र लिङदेन (उर्जा) सँग भिन्दाभिन्दै भेटे। क्वात्राले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री विमला राईसँग भेटेका थिए।
 
राजनीतिक भेटवार्ताअघि उनले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय बैठक गरेका थिए। त्यस अवसरमा सचिव पौड्यालले कालापानी, लिम्पियाधुरा लगायत स्थानमा रहेका सीमा समस्याबारे कुरा उठाएका थिए। 

बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीमाका विषयमा स्थापित संयन्त्रका माध्यमबाट टुंग्याउन बाँकी सीमासम्बन्धी कामलाई पूर्णता दिनेबारे छलफल भएको उल्लेख गरिएको छ। 

सचिवस्तरीय वार्तामा परिमार्जित पारवहन सन्धिलाई अन्तिम रुप दिने र वाणिज्य सन्धिलाई चाँडै नवीकरण गर्नेे विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यी दुई सन्धिको विषय टुंग्याउन नेपाल र भारतका वाणिज्य सचिवस्तरीय अन्तरसरकारी संयन्त्रको बैठक बसाल्ने विषयमा पनि दुई पक्षबीच छलफल भएको थियो। 

त्यसैगरी नेपालले भैरहवामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सहज हुनेगरी नयाँ हवाई रुट दिन भारतलाई आग्रह गरेको छ। नेपाललाई थप हवाई रुट दिने विषयमा पनि भारतले सकारात्मक जवाफ दिएको छ। 

बैठकमा नेपाल र भारतबीच रेलवे, विद्युतीय प्रशारण लाइन, पुल र एकीकृत जाँच चौकी लगायत भौतिक पूर्वाधार र कनेक्टिभिटीका परियोजनामा भइरहेका प्रगतिप्रति सन्तुष्टि व्यक्त गरिएको थियो। नेपाललाई बढी हुने विद्युत् भारत निर्यात गर्नेबारे दुवै देशले प्रतिबद्धता जनाएका छन्। 

नेपाल र भारतका विदेश सेवा प्रतिष्ठानबीच हुन लागेको समझदारी पत्रलाई टुंग्याउने सहमति पनि दुवै देशबीच भएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा नयाँ महासचिव चाँडै नियुक्त गर्ने विषयमा छलफल भएको थियो। 

प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणका विषयमा सामान्य कुराकानी भएको प्रधानमन्त्रीका् सचिवालयका एक सदस्यले बताए। तर क्वात्राले भेटमा प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र चाहिँ हस्तान्तरण गरेनन्। 

कूटनीतिक स्रोतका अनुसार नेपालको वर्तमान सत्ता गठबन्धनको भविष्य संकटमा पर्नसक्ने बुझेर भारतले प्रचण्डलाई अहिल्यै निम्तो नदिएको हो। 

‘राष्ट्रपति निर्वाचन आउँदै गर्दा सत्ता साझेदार एमाले र माओवादीबीच खटपट छ। नयाँ सत्तासमीकरण बन्ने अवस्था आउनसक्छ। त्यही बुझेरै भारतका तर्फबाट प्रचण्डलाई अहिल्यै निम्तो नदिइएको हो,’ स्रोतले भन्यो। 

अहिलेकै गठबन्धन कायम रहे प्रचण्डलाई राष्ट्रपति निर्वाचपछि भारत भ्रमणको निम्तो आउने बताइएको छ। 

म्याराथन भेटवार्ता सकेर मंगलबार क्वात्रा फर्केका छन्। क्वात्रा गत अप्रिलमा विदेशसचिव भएपछि पहिलो पटक नेपाल आएका हुन्। उनी केही महिनायता छिमेकी देशहरुको भ्रमणमा छन्। मंगलबार नै क्वात्राले बंगलादेश भ्रमण सुरु गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .