समाज


गोंगबु घटनापछि महानिरीक्षक सिंहको निर्देशन : अवस्था हेरेर बल प्रयोग गर्न नहिच्किचाउनू

लुटपाटमा संलग्न सबैलाई पक्राउ गर्न आग्रह
गोंगबु घटनापछि महानिरीक्षक सिंहको निर्देशन : अवस्था हेरेर बल प्रयोग गर्न नहिच्किचाउनू

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०७९ बुधबार १३:१८, काठमाडौँ

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी कर्मचारी जुनसुकै बेलामा शान्तिसुरक्षा अमनचयनका लागि आवश्यक तयारीमा रहनुपर्ने बताएका छन्। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले कुनै पनि अपराधका घटना हुन नदिन प्रहरीको सक्रियता महत्वपूर्ण रहने उल्लेख गरे।

प्रहरी महानिरीक्षक सिंहले जिम्मेवारीलाई पूर्ण रुपमा सम्पादन गर्न निर्देशन पनि दिएका छन्।

उनले हालैका घटनाको समीक्षा गर्दै सम्भावित घटनाको पूर्वानुमान गरी तयारी अवस्थामा रहन पनि उपत्यकाका प्रहरीहरुलाई निर्देशन दिएका छन्। 

आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था भनेको प्रहरी नै भएको पनि उनले बताए। 

'हालै (बालाजु-गोंगबुमा भएका) का घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकताअनुरूप कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु', उनले भने। 

सिंहले उक्त घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी चुक्न नहुने पनि बताएका छन्। 

सिंहले ट्राफिक जाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शितामा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यावसायिक भएर जिम्मेवारी बहन गर्नुपर्ने बताए।

फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्न पनि उनले आग्रह गरे।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले सङ्गठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहत कार्यालयका प्रहरी कर्मचारी प्रतिवद्ध रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .