ad ad

समाज


सशस्त्र प्रहरीको पहिलो ब्याच बन्यो डीआईजी

सशस्त्र प्रहरीको पहिलो ब्याच बन्यो डीआईजी

उजिर कार्की
फागुन ८, २०७९ सोमबार २१:२३, काठमाडौँ

सशस्त्र प्रहरी बलको पहिलो ब्याच सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएको छ। २० वर्षअघि पहिलो पटक सशस्त्र प्रहरीमा भर्ना भएको ९ जनाको टोली मध्ये ४ जना डीआईजीमा बढुवा भएका हुन्। 

डीआईजीमा बढुवा भएका अन्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई सोमबार दज्र्यानी चिन्ह प्रदान गरिएको छ। बढुवा भए पनि सुरेशकुमार श्रेष्ठले भने दर्ज्यानी चिन्ह लगाउन पाएनन्। श्रेष्ठ संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट कोअर्डिनेटरको रुपमा दक्षिण सुडानमा छन्। 

उनीहरु माघ २५ गते बढुवा सिफारिस भएका थिए। फागुन ४ गतेको प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरबाट बढुवाको निर्णय भएको हो।

नेपाल प्रहरी र नेपाली सेनाबाट जनशक्ति मिसाएर सशस्त्र प्रहरीको स्थापना गरिएको थियो। २०५९ सालमा पहिलो पटक ९ जना सशस्त्र प्रहरी निरीक्षकमा भर्ना गरिएको थियो। 

डीआईजी बनेका ४ जनासँगै एसएसपीहरु दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोद श्रेष्ठ र प्रकाश थापा पहिलो पटक सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका थिए। 

भर्ना भएको ३ वर्षपछि नै २०६२ सालमा डीएसपीमा बढुवा गरिएको थियो। २०७५ सालमा एसपी र २०७७ सालमा एसएसपीमा बढुवा भएका थिए। 

३० वर्षे सेवा अवधि कायम रहे २०८६ सालमा यो ब्याचले सशस्त्र प्रहरीको नेतृत्व गर्नेछ। 

हाल सशस्त्र प्रहरीमा नेपाली सेनाबाट आएका एक जना मात्रै एआईजी छन्। एआईजी चन्द्रप्रकाश गौतम नेपाली सेनाबाट सशस्त्रमा प्रवेश गरेका हुन्। एआईजी नारायणदत्त पौडेल र वंशीधर दाहाल नेपाल प्रहरीबाटै आएका हुन्। हालका आईजीपी राजु अर्याल पनि नेपाल प्रहरीबाटै सशस्त्रमा आएका हुन्।  

डीआईजीहरु किशोर प्रधान, गणेश ठाडा मगर, कमल गिरी, दुर्गा भट्टराई, कुलबहादुर नेम्वाङ, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मण सिंह, प्रदीप पाल,  विदुर खड्का अविकुमार खत्री र शम्भु सुवेदी नेपाल प्रहरीबाट आएका हुन्।  

एसएसपीभन्दा तलको दर्जामा भने सशस्त्रमै भर्ना भएको टोली छ। अहिलेकै अवस्थामा ६ वर्षपछि मात्रै सशस्त्र प्रहरीमै भर्ना भएको टोलीले संगठनको नेतृत्व गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .