ad ad

समाज


एआईजी बढुवा राष्ट्रपतिको मनोनयनपछि मात्रै, राजनीतिक आडमा चल्दैछ तँछाडमछाड

एआईजी बढुवा राष्ट्रपतिको मनोनयनपछि मात्रै, राजनीतिक आडमा चल्दैछ तँछाडमछाड

उजिर कार्की
फागुन ९, २०७९ मंगलबार २०:४०, काठमाडौँ

नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा लामो समयदेखि रोकिएको छ। हाल ५ जना एआईजी रिक्त छ। एआईजीहरु सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनी मात्रै कार्यरत छन्। 

८ महिनादेखि रिक्त हुन थालेको एआईजीको कोटा ५ पुगे पनि सरकारले अझै केही दिन बढुवा नगर्ने भएको छ। राजनीतिक समीकरण फेरबदलको असर यहाँ पनि देखिएको छ।

गत मंसिरमै एआईजी बढुवाको तयारी भएको थियो। निर्वाचन आचारसंहिता लाग्ने भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले बढुवा गरेको थिएन। पछि सत्ता समीकरण नै परिवर्तन भयो। त्यसपछि पनि तत्काल एआईजी बढुवा भने हुन सकेन। 

डीआईजीको वरीयतामा अगाडि रहेकाहरुले तत्काल बढुवा गर्न लबिइङ गरे पनि पछिल्लो वरीयताकाले रोक्दै गए। जति पछि बढुवा गर्यो, उति नै कोटा थपिने भएपछि पछिल्लो वरीयताका डीआईजीहरुले त्यसलाई रोकेर आफू पनि बढुवा हुन चाहेका थिए। 

फागुन ७ गतेदेखि रिक्त एआईजीको संख्या ५ पुगेको हो। एआईजी पूजा सिंह ७ गतेबाट अवकाशमा गएकी हुन्। अब भने सरकारले बढुवा गर्ने तयारी गरेको छ। तर फेरिपनि राजनीतिक समीकरणको हिसाब गरेर मात्रै एआईजी बढुवा हुने भएका छन्।

फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने तालिका रहेको छ। राष्ट्रपतिको मनोनयन दर्तासँगै सत्ता समीकरणमा फेरबदल आउन सक्ने भएकाले एआईजी बढुवा पछाडि धकेलिएको हो।

मंगलबार अपरान्ह प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। भेटमा एआईजी बढुवाको विषयमा पनि छलफल भएको छ। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्ड केही दिनपछि मात्रै एआईजी बढुवा गर्न सहमत भएका छन्।

आईजीपी सिंह बुधबार विराटनगर जाने भएकाले बढुवा समितिको बैठक बस्ने छैन।

मंसिरअघि नै ४ एआईजी रिक्त भएको थियो। त्यतिबेलै बढुवा गर्नु पर्ने भए पनि आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवा अवधीको नियम हटाएर आफैंलाई निरन्तरता दिने प्रयासमा लागे। उनको ध्यान एआईजी बढुवामा भन्दा ३० वर्षेमा केन्द्रित थियो। 

तर मंसिरको निर्वाचनपछि सत्ता समीकरण नै फेरियो। एमाले र रास्वपासहितको गठबन्धन सत्तामा आएपछि यसको असर प्रहरीमा पनि देखियो। तत्काल बढुवा गर्दा आफ्नो पार्टी निकटका व्यक्ति छुट्ने भएपछि एमालेको आग्रहमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले तत्काल बढुवा नगर्ने नीति लिए। 

बढुवा हुनु पर्ने डीआईजीहरुलाई नै उनले सरुवा गरेर प्रदेशमा पठाएका थिए। यसअघि असारमा डीआईजी बढुवा भएका उनीहरु एआईजी बन्नकै लागि काठमाडौं केन्द्रित थिए। 

वरीयताको १ देखि ६ नम्बरसम्म रहेका डीआईजीहरु सबै काठमाडौँमै थिए। डीआईजी किरण बज्राचार्य बागमती प्रदेश प्रमुख थिइन्। 

तर, लामिछाने गृहमन्त्री भएपछि सबै प्रदेशमा नयाँ डीआईजीहरु पठाएका थिए। पहिलो नम्बरमा भएका वसन्त कुँवर मधेश प्रदेश पुगे। टेकप्रसाद राई लुम्बिनी, अशोक सिंह सुदूरपश्चिम, दीपक थापा बागमती, श्यामलाल ज्ञवाली प्रदेश १ सरुवा भएका थिए। पछिल्लो वरीयतामा रहेका भीमप्रसाद ढकाल पनि कर्णाली प्रदेश पुगेका थिए। 

सत्ता परिवर्तनपछि उनले पनि एआईजी बढुवामा पर्न लविइङ गरिरहेका थिए। चैत ११ गतेदेखि आईजीपी बन्ने प्रयासमा रहेका अशोक सिंह भने जन्म मिति विवादका कारण राजीनामा दिने तयारीमा लागेका छन्। उनको जन्म मिति एक वर्ष ७ महिना अगाडि नै देखिएपछि बर्खास्तीमा पर्नुअघि नै राजीनामा दिने तयारीमा रहेका हुन्। उनले राजीनामा दिनेबारे प्रहरी महानिरीक्षकलाई जानकारी दिइसकेका छन्। 

अशोक सिंहले राजीनामा दिए अर्कोले एआईजी बन्ने मौका पाउने छन्। 

राजनीतिक आडले तँछाडमछाड
प्रहरी अधिकारीहरु भन्दा स्वतन्त्र भनिए पनि राजनीतिक दल निकट हुन्छन्। अहिले बढुवाको तयारीमा रहेका डीआईजीहरु पनि यसबाट अछुत छैनन्। यिनै ब्याचका १७ डीआईजी छन्। जो एकसाथ बढुवा भएका थिए। 

पहिलो नम्बरमा रहेका डीआईजी वसन्त कुंवर कांग्रेस निकट हुन्। उनलाई कांग्रेस नेतृत्वको सरकारले नै वरीयतामा अगाडि ल्याएको हो। अब माओवादी र कांग्रेसको सत्ता समीकरण बने कुंवर चैत ११ गतेदेखि आईजीपी बन्ने सबैभन्दा बलियो सम्भावना छ। अशोक सिंहले बाटो खाली गर्दा उनलाई थप सहज हुने देखिएको छ।

दोस्रो नम्बरमा छन्, टेकप्रसाद राई। डीआईजी राईको शक्ति अख्तियार प्रमुख प्रेम राई हुन्। अख्तियार प्रमुख राई एमाले निकट हुन्। पूर्वगृहसचिव समेत रहेका प्रेम राईकै जोडमा एसएसपी हुँदा पनि टेकप्रसाद राई दोस्रो नम्बरमा बढुवा भएका थिए। 

त्यसपछि प्रेम राई अख्तियार प्रमुख भए। एसएसपीको वरीयता उथलपुथल हुँदा पनि कांग्रेस–माओवादीको सरकारले राईको वरीयता भने तलमाथि गरेन।

अशोक सिंहपछिको चौथो वरियतामा छन् डीआईजी दीपक थापा। थापा प्रधानमन्त्री प्रचण्ड निकट हुन्। उनको एमालेका नेताहरुसँग पनि खास सम्बन्ध छ। तर भर्ना हुँदै अरुभन्दा पछि भएका कारण उनी अहिले नै एआईजी वरीयतामा अगाडि आउने सम्भावना कम छ। माओवादी–एमालेकै सत्ता रहे आईजीपी हुने उनको सम्भावना बलियो छ। 

यदि आगामी चैतमा आईजीपी नभए पनि अहिलेकै अवस्था रहे त्यसपछि छोटो समयका लागि उनी आईजीपी बन्ने सम्भावना छ। तर ३० वर्षे हटे उनी ३ वर्ष आईजीपी हुनेछन्। एमाले–माओवादी सत्तामा हुँदा थापालाई बढुवामा सहज हुन्छ। 

थापापछिको वरियतामा छन् डीआईजी श्यामलाल ज्ञवाली। हाल पाँचौँ वरीयतामा रहेका उनी पनि एआईजीमा बढुवा हुने सम्भावना बलियो छ। ज्ञवाली एमाले निकट मानिन्छन्। उनको खास सम्बन्ध एमाले नेता एवं अर्थमन्त्री विष्णु पौडलसँग छ। तर कांग्रेस–माओवादी सरकारले पनि नछुटाएका ज्ञवालीलाई अब जुन समीकरण बने पनि एआईजी बन्ने करिब पक्का छ। तर एमाले निर्णायक हुँदा उनी अघिल्लो वरीयतामै बढुवा हुन सक्छन्। 

यही ब्याचबाट डीआईजी किरण बज्राचार्य पनि एआईजी बन्ने सम्भावना बलियो देखिएको छ। बज्राचार्य राजनीतिक रुपमा माओवादी र एमालेसँग निकट छिन्। एमालेमा ओलीको सचिवालयसम्मै पहुँच बनाएकी उनी माओवादीका पनि शीर्ष नेतासँग निकट छिन्। माओवादी नेता शशि श्रेष्ठसँग उनी झनै नजिक छन्। 

प्रहरी अधिकारीहरु यसरी दल निकट बन्दा सत्ता समीकरणको असर देखिने गर्छ। यसअघि आईजीपी बढुवामा पनि राजनीतिक रङ छताछुल्ल भएको थियो। हालका आईजीपी धिरजप्रताप सिंह कांग्रेससँग निकट थिए। तर एमाले सरकारले विश्वराज पोखरेल र सहकुल थापा मध्यबाट आईजीपी बनाउने तयारी गरेको थियो। 

एमालेले सरकारमा हुँदा आफू निकटकालाई आईजीपी बनाउने गरी बढुवा गरेको थियो। पछि सत्ता परिवर्तन भयो र कांग्रेसले नेतृत्व गर्यो। जतिबेला आफू निकट डीआईजी धिरजप्रअताप सिंहलाई आईजीपी बनाउनकै लागि एक महिनाअघि मात्रै एआईजीमा बढुवा गर्यो। पछि उनैलाई आईजीपी बनाइछाड्यो। 

डेढ वर्षपहिले एआईजी भए पनि आईजीपी नभएपछि विश्वराज पोखरेल सर्वोच्च गए। तर सर्वोच्चले पनि आईजीपी बढुवा गर्ने अधिकार सरकारको भएको व्याख्या गरिदियो र सरकारको निर्णय सदर गरिदियो। 

यसपछि त सरकारलाई आफू निकट प्रहरीलाई बढुवा गर्न झनै बाटो खुलेको छ।

सरकारले चाहे यही ब्याचका डीआईजीहरु सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा मध्येबाट पनि एआईजीमा बढुवा गर्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .