समाज


भूतपूर्व सैनिक सम्मेलनमा ज्येष्ठ नागरिक सम्मानित

भूतपूर्व सैनिक सम्मेलनमा ज्येष्ठ नागरिक सम्मानित

नेपालखबर
फागुन १५, २०७९ सोमबार २१:५७, काठमाडौँ

भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा-सेनाप्रतिको समर्पण र भरोसा’ नारासहित बुटवलस्थित श्री मध्य पश्चिम पृतना हेडक्वाटरमा भूतपूर्व सैनिक सम्मेलन–२०७९ सम्पन्न भएको छ। 

कार्यक्रममा गुल्मी, अर्घाखाँची, कपिलबस्तु, पाल्पा, परासी, रुपन्देही र नवलपुर गरी ७ जिल्लामा बसोबास गर्ने ३९९८ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागिता रहेको थियो।

सम्मेलनको उद्घाटन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले भूपू सैनिकहरु अवकाश प्राप्त जीवनमा पनि सेनाको रक्षा कवच एवं सेनालाई समाजसँग जोड्ने महत्त्वपूर्ण सेतुको रुपमा रहँदै आएको बताए। उनले सेनाको संस्थागत मूल्य र मान्यतालाई अनुशरण गर्दै सैनिक सेवाको दौरान आर्जित ज्ञान, शीप र कलाको प्रयोग गरी आ–आफ्नो क्षेत्रबाट राष्ट्र सेवामा समर्पित रहँदै आएका अवकाश प्राप्त सैनिक व्यक्तिहरुले प्रदर्शन गर्ने अनुशासन र  सेवाभावले समग्र नेपाली सेनाको छवि निर्धारण गर्ने बताए।  

 

सम्बोधनकै क्रममा प्रधान सेनापतिले नेपाली सेनाका सकल दर्जाको रगत र पसिनाबाट आर्जित कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै दीर्घकालिन प्रभाव पार्ने सेवा सुविधा विस्तार गरी अवकाश प्राप्त सैनिकहरुको जीवनलाई थोरै भएपनि सरल, सहज र सुखी बनाउन प्रयत्नशील रहेको बताए। 

सोही क्रममा उनले वीरगति प्राप्त सकलदर्जाका सन्तती र एकल महिलालाई सदैव महत्वका साथ हेरिँदै आएको र यसको निरन्तरता स्वरुप देशका विभिन्न ६ स्थानमा एकल महिला स्वरोजगार केन्द्रहरु संचालन भईरहेको एवं वीरगति प्राप्त सकलदर्जाका सन्ततीलाई नेपाली सेनाको भर्नामा प्राथमिकताका लागि प्रयत्नशील रहेको बताए। 

सम्मेलनमा पाल्पा जिल्ला निवासी ९७ वर्षका प्युठ दल बहादुर घर्तीमगर (अवकाश प्राप्त) र स्वर्गीय हुद्धा अम बहादुर थापामगर (अवकाश प्राप्त) की श्रीमती पाल्पा जिल्ला निवासी ९२ वर्षकी एकल महिला श्रीमती हिम कुमारी थापालाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघुउद्यमीरव्यवसायीहरु दुई जनालाई प्रशंसा–पत्र एवं पुरस्कार वितरण गरिएको थियो। 

सोही क्रममा ४ वा सो भन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका ७ जना अभिभावकहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्‍त ११ जनालाई व्हिल चेयर, वैशाखी तथा आर्थिक सहयोग र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई कर्जाको चेक वितरण गरिएको थियो। 

भूपू सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि रथी नेपाल भूषण चन्द (अ.प्रां) तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका महासचिव अवकाश प्राप्त प्रमुख सेनानी श्यामसुन्दर घिमिरेले मन्तव्य राख्दै अवकाशप्राप्त सैनिक र आश्रित परिवारजनलाई पुर्‍याउँदै आएको सहयोगका लागि नेपाली सेना प्रति आभार प्रकट गरे। 

बलाध्यक्ष रथी सिताराम खड्काले समापन मन्तब्य राख्दै कल्याणकारी गतिविधिलाई सरल, सहज र विस्तार गर्न निरन्तर प्रयास भैरहेको बताए।

सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अवकाश प्राप्त) रक्षा मन्त्रालयका सह सचिव, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरुका साथै संचारकर्महरुको उपस्थिति रहेको थियो।

त्यस अवसरमा भूपू सैनिक तथा एकल महिलाहरुको तर्फबाट मार्चपाष्ट लगायत स्थान विशेषको झाँकी, विभिन्न संस्कृति झल्किने नृत्य, राष्ट्रिय सेवादलका क्याडेटद्वारा एकता नृत्य र सैनिक व्याण्डको प्रस्तुती प्रदर्शन गरिएको थियो।

सम्मेलनकै अवसर पारेर फागुन १३, १४ र १५ गते सैनिक मेडिकल टिमद्वारा योगीकुटी ब्यारेकमा स्वास्थ्य शिविर संचालन गरि विभिन्न स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ। जसबाट ३३१४ जना लाभान्वित भएका छन्। 

यसै क्रममा मिति २०७९ फागुन १६ गते दाङ्गको भरतपुर व्यारेकमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने कार्यक्रम छ। सम्मेलनमा अवकाश प्राप्त सैनिकहरुको भेटघाट र अवकाश पश्चातको अनुभव आदानप्रदान गर्ने अवसर मिल्नुका साथै सैनिक नेतृत्वसँगको अन्तरक्रियाबाट कल्याणकारी कार्यहरूलाई थप प्रभावकारी बनाउँदै लैजान महत्वपूर्ण सुझावहरू प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad