समाज


निगमका महिला पाइलट र चालक दलका सदस्यलाई सरकारको स्वागत

निगमका महिला पाइलट र चालक दलका सदस्यलाई सरकारको स्वागत

निगमको जहाजका महिला चालक दलका सदस्यालाई विमानस्थलमा स्वागत गरिँदै। तस्बिर : पर्यटनमन्त्रीको सचिवालय


नेपालखबर
फागुन २४, २०७९ बुधबार १२:५१, काठमाडौँ

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका हुन्। 

काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन्। 

महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि रासससँग कुराकानी गर्दै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए।

महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उहाँले उल्लेख गरे। 

'पर्यटनमा मात्रै होइन, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि महिलाहरुले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरु (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरुको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ', उनले भने। 

यो उडानमार्फत पनि महिलाहरुले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गरे।

निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका हुन्। 

पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतले काठमाडौंबाट दुबई लगेको जहाज बुधबार फर्किँदा चालक दलका अन्य सदस्य पनि सबै महिला रहेका छन्। 

दुबईबाट काठमाडौंका लागि बुधबार बिहान ४ बजेर ५५ मिनेटमा उडेको जहाजमा चालक दलका सबै सदस्य महिला रहेको निगगमले जनाएको छ। 

यो जहाज बुधबार बिहान १० बजे काठमाडौंमा अवतरण भएको हो। दुईजना पाइलटसँगै यो जहाजमा एयरहोस्टेहरु पुरअन्जक महर्जन,  संगीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए। 

पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले बताए। 

उनका अनुसार महिला चालक दलले बुधबार निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौँको उडान भरेका हुन्। 

दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए।

निगमको आजको दुबई–काठमाडौँ उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले उडाउनुभएको थियो। 

यो उडानका सबै क्रू मेम्बर महिला थिए। विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ।

निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ। 

बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो। निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी ६ जना महिला पाइलट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad