ad ad

समाज


खोकनाको २० वर्षे योजना समेटिएको पुस्तक सार्वजनिक

खोकनाको २० वर्षे योजना समेटिएको पुस्तक सार्वजनिक

खोकनाको २० वर्षे योजनासहितक पुस्तक सार्वजनिक गरिँदै। तस्बिर : नेपालखबर


नेपालखबर
चैत १४, २०७९ मंगलबार १७:१४, काठमाडौँ

ललितपुर महानगरपालिका २१  वडाले खोकनाको २० वर्षे योजना समेटिएको पुस्तक सार्वजनिक गरेको छ।

महानगरका २९ वडामध्ये गुरुयोजना बनाउने पहिलो वडा पनि भएको छ। 

मंगलबार ललितपुरको बखुन्डोलमा खोकना दुरदृष्टि पुस्तिकाको विमोचन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई हस्तान्तरण गरिएको हो।

पुस्तकमा वडा नम्बर २१ मा पर्ने खोकना क्षेत्र अबको २० वर्षपछि कस्तो अवस्थामा रहन्छ ? भन्ने खुलाइएको वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए।

‘हामीले यो पुस्तकमा खोकना क्षेत्रको समग्र विकास निर्माण, भौतिक संरचना, सामाजिक संरचना, त्यस क्षेत्रको नागरिकको आर्थिक र शैक्षिक अवस्था लगायत धार्मिक क्षेत्र यस्तो रहन्छ भनेर दृष्टिकोण दिने कोसिस गरेका छौँ,’ कार्यक्रममा महर्जनले भने, ‘यो ऐतिहासिक सहरलाई अहिलेकै अवस्थामा कायम राख्दै थप विकास गर्ने मास्टरप्लान उतारेका छौँ।’

पुस्तकका लागि २०७६ देखि काम भएको उनले बताए।

त्यस क्षेत्रका नागरिकसँग छलफल गरेर प्राप्त भएका सुझावलाई विज्ञ टोलीसँग बसेर छलफल गरी योजना निर्माण गरिएको उनको भनाइ थियो।

महानगरपालिका प्रमुख महर्जनले खोकनाको २० वर्षे गुरुयोजना निर्माण गरेकामा खुशी हुँदै २९ वटै वडालाई त्यो कार्य तत्काल गर्न निर्देशन दिए।

‘सबै वडाले आफ्नो क्षेत्रको विकास निर्माणसहित अबको २० वर्षपछिको भिजन बनाउन आवश्यक छ,’ महर्जनले भने, ‘महानगरले पनि आर एण्ड डीका लागि बजेट छुट्याएको थियो दुईवर्ष नियमित ५० लाखको दरले राख्दा पनि काम भएन, बुझाउनै सकिएन, यसपटक फेरि राखेको छु। विकासका लागि लग टर्म भिजन र गुरुयोजना चाहिन्छ।’

उनले पाटन कहिल्यै सुत्दैन भन्ने योजना अघि सारिएको बताए।

‘पाटन कहिले सुत्दैन भन्ने योजनामा खोकना पनि पर्छ,’ महर्जनले भने, ‘तर, त्यो क्षेत्र बनाउँदा सडकबारे अहिले नै सोच्न जरुरी छ। किनभने बाटो सानो हुँदा २० वर्षपछिको अवस्था हेक्का राख्नुपर्छ।’

कार्यक्रममा खोकना दूरदृष्टि तयार पार्दा समेटिएका विषयवस्तुबारे प्रस्तुति पनि गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .