कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताएका छन्।
बिहीवार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उनले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताएका हुन्।
न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसावबाट गरिए न्याय पूर्वाग्रही हुने बताए। उनले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि बताए।
उनले भने, ‘स्थानीय जनप्रतिनिधिहरुको भूमिका न्यायिक समितिको एउटा न्यायाधीश मात्रै नभएर तपाईंहरुको भूमिका जनप्रतिनिधिको हुनुपर्छ। त्यसैले जनप्रतिनिधिहरुको भूमिकाबाट पनि न्याय नै फैसला नै गर्नुपर्यो भने फेरि जनप्रतिनिधि हुँ भन्ने बिर्सिनुपर्छ। म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा बिर्सिनुपर्छ। यदी म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा दिमागमा राखेर मनमा राखेर फैसला गर्नुभयो भने न्याय पर्दैन। त्यहाँ पूर्वाग्रह हुन्छ। जहाँ पूर्वाग्रह हुन्छ त्यहाँ न्याय हुँदैन।’
का.मु. प्रधानन्यायधीश कार्कीले न्याय दिनको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्ने बताए। उनले स्थानीय जनप्रतिनिधिहरुले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसावबाट सोच्न जरुरी रहेको बताए।
उनले भने, ‘न्याय पर्नको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्छ। त्यसैले को केबाट भए, विवाद गर्न आउने मान्छे को हो? भन्न थाल्यौँ भने त हामीले न्याय गर्दैनौँ। अनि न्यायिक अधिकार दिएको त त्यसै खेर जान्छ। न्याय गर्न बस्दा त्यो सम्पूर्ण कुरा बिर्सिनुपर्छ। तर समाजमा मिलाएर राख्ने कुरा छ भने म जनप्रतिनिधि पनि हो है भन्ने हिसावले हामीले काम गर्नसक्यौँ भने आफ्ना दुवै भुमिका निर्वाह गर्न सक्नुहुन्छ।’
का.मु. प्रधानन्यायाधीश कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिने बताए। न्यायिक समितिले फैसला गर्नेकुरामा भन्दा मेलमिलापको कुरामा बढी जोड दिनुपर्ने बताए।
प्रतिक्रिया