ad ad

समाज


वर्षा, हावाहुरी र हिमपातको सम्भावना, आइतबारदेखि मात्र मौसम सुधार हुने

वर्षा, हावाहुरी र हिमपातको सम्भावना, आइतबारदेखि मात्र मौसम सुधार हुने

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०७९ शुक्रबार ७:२२, काठमाडौँ

अहिले (शुक्रबार बिहान ७ बजे) देशभर मौसम बदली भएको छ भने सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली (आकाशभरि बादल) भएको छ भने गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा चाहिँ सामान्यदेखि आंशिक (आकाशमा थोरै बादल) सम्म बदलीको अवस्था छ। 

‘सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने बिहानैदेखि वर्षा भइरहेको छ’, मौसमविद् नगरकोटीले भनिन्। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

मौसमविद् नगरकोटीका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति पनि देशभर मौसम सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। 

कोशी र मधेश प्रदेशमा हावाहुरीको पनि सम्भावना
मौसमविद् नगरकोटीका अनुसार मेघगर्जन र चट्याङसँगै हल्का हावाहुरी त चलिहाल्छ।

तर आज रातिलाई कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा हावाहुरीको अलि बढी सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ तथा  हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

दुई दिन वर्षाको सम्भावना
मौसमविद् गंगा नगरकोटीका अनुसार आज र भोलि देशभर बदली र वर्षाको सम्भावना छ। ‘पर्सिबाट भने यो प्रणाली (पश्चिमी वायु) कमजोर भएर मौसम सुधार हुने देखिएको छ’, उनले भनिन्, ‘यसो भनेर पर्सि पानी नै पर्दैन भन्ने होइन, स्थानीय वायुका कारण वर्षा हुनसक्छ, तर जे होस् पर्सिबाट यो प्रणाली (पश्चिमी वायु) चाहिँ कमजोर हुने देखिन्छ।’ 

मौसम महाशाखाका अनुुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .