कपनमा दिनदहाडै भएको हत्याको घटना अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको नेतृत्वमा समिति बनेको छ। सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको नेतृत्वमा शुक्रबार समिति गठन भएको हो।
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका प्रहरी कार्यालय र बौद्ध बृत्तले छुट्टा छुट्टै अनुसन्धान गरिरहेका थिए। तर एक हप्तासम्म पनि हत्यारा पत्ता लगाउन नसकेपछि एआईजीको नेतृत्वमा समिति बनाइएको हो।
सीआईबी प्रमुख बज्राचार्य नेतृत्वको अनुसन्धान समितिमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अनुसन्धान कार्यालय प्रमुख एसएसपी मनोज केसी, सीआईबीका एसएसपी दिनेश आचार्य लगायत ११ सदस्य छन्।
अनुसन्धानमा खटिएका छुट्टा छुट्टै युनिटका प्रहरीबिच नै समन्वय नहुँदा अनुसन्धान प्रभावित भएपछि उच्च कमाण्डमा टोली खटाइएको हो। अब सबै युनिटले सीआईबी प्रमुख मातहत अनुसन्धान गर्नेछन्। सबै युनिटले संकलन गरेका प्रमाण र सूचनालाई एकीकृत गरिनेछ।
सबै युुनिटले छुट्टा छुट्टै अनुसन्धान गर्दा प्रमाण संकलनमा पनि समस्या होला र सोधपुछ गर्ने व्यक्तिलाई पनि झनझट होला भनेर एउटा टिम बनाएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।

वैशाख ७ गते दिउँसो काठमाडौंको कपन सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने निरु भन्ने निरा पाण्डेको पसलमै हत्या भएको थियो। उनको शरीरका करिव २० ठाउँमा चक्कू रोपेर हत्या गरिएको थियो।
हत्यामा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन। प्रहरीले पसल नजिकै रहेका सीसीटीभी फुटेजको सहयोगमा घटनामा संलग्न व्यक्ति इन्ड्राइभमा आएर हत्या गरेको आशंका गरेको छ।
तर अफलाइन रहेको इनड्राइभ मोटरसाइकलमा आएका व्यक्ति को हुन् भन्ने पहिचान गर्न सकेको छैन।
एकसातासम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै आफन्तले धर्ना दिन थालेका छन्। दबाब बढ्दै गएपछि प्रहरीले उच्च अधिकारीको नेतृत्वमा अनुसन्धान टोली खटाएको हो।
Shares

प्रतिक्रिया