समाज


कञ्चनपुरको नमुना विद्यालय, जसले शिक्षासँगै रोजगारी पनि दिन्छ

कञ्चनपुरको नमुना विद्यालय, जसले शिक्षासँगै रोजगारी पनि दिन्छ

तस्बिर : विद्यालयको वेबसाइटबाट


रासस
बैशाख २८, २०८० बिहिबार १३:५८, काठमाडौँ

शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै कमाउनेमा पनि संलग्न हुँदै आएका छन्। 

विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी पढ्ने विद्यार्थी कक्षाकोठामा बसेर पढाइ मात्रै गर्दैनन्, विद्यालयको स्वामित्वमा रहेको जग्गामा तरकारी खेती पनि गर्छन्।

जैविक मल र जैविक विषादीको प्रयोग गरी विद्यार्थीले तरकारी खेती गर्दै आएका छन्। विद्यार्थीले उत्पादन गरेको तरकारी बारीबाटै बिक्री हुने गरेको छ। जैविक विधिबाट उत्पादन गरिने तरकारीको माग बढ्दो छ।
 
विद्यालयमा पढ्ने कार्यसँगै प्रयोगात्मक कक्षामा सहभागी भई तरकारी खेती गर्दै आएको विद्यालयका आइएस्सी एजीका विद्यार्थी रोहित बोहराले बताए। 'विद्यालयमा पढ्ने कार्यसँगै, पकेट खर्च पनि पाउन थालेपछि पढाइ गर्न उत्साहित भएका छौँ', उनले भने। 

विद्यार्थीलाई विद्यालयले २० प्रतिशत सैद्धान्तिक ज्ञान (पाठयपुस्तक) र ८० प्रतिशत प्रयोगात्मक कक्षामा सहभागी गराउने गरेको छ। विद्यालयको जग्गामा विद्यार्थीले अहिले काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानी, तितेकरेला, लौका, भेँडेखुर्सानीलागयत तरकारी रोपेका छन्। 

विद्यालयको कृषितर्फको प्राविधिक धारमा एक सय विद्यार्थी अध्ययनरत रहेका छन्। पालैपालो तरकारीमा सिँचाइ गर्ने, मल राख्ने, रोगकिरा निदान गर्ने, गोडमेल गर्ने कार्य विद्यार्थीले गर्दै आएका छन्। तरकारी खेतीसँगै मौसमअनुसार धान, गहुँ, मुसुुरोलगायत दलहन र तेलहन बाली लगाइने गरेको विद्यालयका विद्यार्थी अनिल डगौराले बताए। 

'खेतबारीमा खनजोत गोडमेलदेखि बीउ राख्ने र तरकारी उत्पादन गर्ने कार्यमा प्रत्यक्षरुपमा संलग्न हुने गरेका छौँ', उनले भने, 'व्यावसायिक खेती गर्ने तौरतरिकासँगै रोगकिरा रोकथामका लागि सहजरुपमा जानकारी पाइने गरेको छ, सिक्ने अवसर प्राप्त हुने गरेको छ।' 

खेती गर्नका लागि प्रयोग हुने कृषियन्त्र, औजार, उपकरणबारे विद्यार्थीलाई खेतबारीमै लगेर प्रत्यक्षरुपमा संलग्न गराई जानकारी दिने कार्य गरिँदै आएको विद्यालयका कृषि विषय अध्यापन गराउँदै आउनुभएका शिक्षक समीर धानुकले बताए। 

'विद्यालयबाट पढेर गएका विद्यार्थी कृषि क्षेत्रमा सक्षम बनाउन प्रयत्न गर्दै आएका छौँ', उनले भने, 'हालसम्म विद्यालयबाट कृषि पढेर गएका विद्यार्थीले बेरोजगार भएर बस्नुपरेको छैन, हालसम्म तीन दर्जन बढी विद्यार्थी सरकारी सेवामा कार्यरत रहेका छन्, केही आफ्नै एग्रोभेट खोलेर स्वरोजगार भएका छन्।'

विद्यार्थीले विद्यालयको जग्गामा प्रतिवर्ष रु पाँच लाख बढीको तरकारी उत्पादन गर्दै आएका छन्। उत्पादन भएको तरकारी बिक्री गरी आएको ७५ प्रतिशत रकम विद्यार्थीलाई र २५ प्रतिशत रकम विद्यालयको कोषमा जम्मा गरिँदै आएको छ। विद्यार्थीले पाएको रकम शैक्षिक कार्यका लागि खर्च गर्ने गरेका छन्। विद्यालय कोषमा जम्मा हुने रकम विद्यार्थीका लागि कृषि औजार, उपकरण, बीउबिजन लगायतमा खर्च हुने गरेको छ।

विद्यालयमा कृषि विषय पढ्दै आएका विद्यार्थीलाई खेती प्रणालीसँगै माछापालन, च्याउ उत्पादन गर्ने तरिकाबारे प्रत्यक्षरुपमा स्थलगत खटाइ प्राविधिक शिक्षा दिइने व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहले बताए। माछापालनका लागि विद्यालयमा दुई पोखरी निर्माण गरिएका छन्। 

'विद्यालयकै भवनमा मौसमी र बेमौसमी च्याउ उत्पादन गर्न व्यवस्था मिलाएका छौँ', उनले भने, 'विद्यार्थीका लागि बाली विज्ञानसम्बन्धी विद्यालयमै अत्याधुनिक प्रयोगशालासमेत सञ्चालनमा ल्याएका छौँ।'

तरकारी खेतीसँगै माछा र च्याउ बिक्री गरेको रकम विद्यार्थीले पाउने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad