ad ad

समाज


टोपबहादुरलाई नभेटेपछि संसद् सचिवालयमा पत्र बुझाउनेको खोजीमा प्रहरी

सीआईबीले लग्यो सीसीटीभी फुटेज
टोपबहादुरलाई नभेटेपछि संसद् सचिवालयमा पत्र बुझाउनेको खोजीमा प्रहरी

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १७:४०, काठमाडौँ

संसद सचिवालयबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीसीटीभीको फुटेज संकलन गरेको छ। बिहीबार ब्यूरोको टोलीले फुटेज लगेको प्रहरी श्रोतले जानकारी दिएको छ। 

सांसद टोपबहादुर रायमाझीको पत्र संसदमा दर्ता गर्ने क्रममा संसद सचिवालयमा पुगेका व्यक्तिको पहिचान गर्न सीआईबीले फुटेज हेर्ने भएको हो। सचिवालयमा गएका व्यक्तिमार्फत टोपबहादुरसम्म पुग्न प्रहरीले यो उपाय लगाउने भएको हो। 

टोपबहादुर गएको वैशाख २० गतेदेखि फरार छन्। फरार रहेकै अवस्थामा उनले संसदलाई पत्र पठाउँदै आफू बिरामी रहेको जानकारी गराएका छन्। बुधबार उनको पत्र प्राप्त भएको सचिवालयले जानकारी दिएको थियो। 

प्रहरीले खोजि गरिरहेका व्यक्तिको पत्र आइसकेपछि प्रहरी उनको खोजिमा सचिवालय आएका व्यक्तिको कनेक्सन तर्फ लागेको हो।

बिनाजानकारी प्रतिनिधि सभाका १० वटा बैठकमा अनुपस्थित भए सांसद पद नै धरापमा पर्ने भएकाले रायमाझीले बिरामी रहेको पत्र पठाएका हुन्। 

बिरामी भनिएका रायमाझी कुन अस्पतालमा छन् भन्ने एमालेले पनि जानकारी पाएको छैन। प्रहरीलाई र पार्टी नेतृत्वलाई पनि उनले ढाँटेका थिए। 

रायमाझी आफैं उपस्थित हुने भन्दै एमाले अध्यक्ष केपी ओलीले प्रहरीलाई तत्काल पक्राउ गर्न लाग्दा विरोध गरेका थिए। उनलाई पक्राउ गर्ने तयारी गरिरहँदा प्रधानमन्त्रीलाई भेटेर रोक्न लगाएका थिए। 

रायमाझी आफैं उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने ओलीले भनेका थिए। रायमाझीले पनि प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई टेलिफोन गरेर आफैँ उपस्थित हुने र अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।

अर्घाखाँचीमै रहँदा पक्राउ गर्ने तयारी गरेपछि यस्तो बताएका रायमाझी भने त्यसै दिन काठमाडौं आउन काटिसकेको टिकट रद्द गरेर भागेका थिए। 

प्रहरीले २० गते साँझ उनका छोरालाई पक्राउ गरे लगतै उनी फरार भएका थिए। उनका छोरा सन्दीप भने प्रहरी हिरासतमा छन्। 

रायमाझी बाबु छोराले नै भुटानी शरणार्थीका नाममा नक्कली व्यक्ति खडा गरेर करोडौं ठगीमा संलग्न रहेको आरोप छ। सुरुमा आफैंले पक्राउ नगरी छाडेका रायमाझी भागे पनि प्रहरीको क्षमता र नियतमाथी प्रश्न उठेको छ। 

रायमाझीलाई पक्राउ गर्नका लागि प्रहरीले देशभर सर्कुलर जारी गरेको छ। यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई पनि भनिएको छ। सीआईबीले पक्राउ गर्ने जिम्मा पाएपछि थप सक्रियता देखाएको छ। पक्राउ गर्न भने सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .