तराई मधेसमा पुसको जाडो र शीतलहरले जनजीवन एकदमै कष्टकर बनेको छ। जाडोले खासगरी गरिब, विपन्न एवं सुकुम्बासी बस्तीका मानिसहरु बढी प्रभावति छन्।
तर, यस्तो बेलामा कुनै दलित, विपन्न र सुकुम्वासी बस्तीमा डोजर चलाएर उनीहरुको उठीवास लगाइयो भने के हो?यो कल्पनाभन्दा बाहिरको विषय हो। तर, धनुषामा आज यो यथार्थमा हुँदैछ। जनताको जीउधनको सुरक्षाको जिम्मेवारी बोकेको राज्य र प्रशासनले शनिबार दिउँसो धनुषाको १६ घरपरिवार दलितको सकुम्बासीमाथि डोजर चलाउने तयारी गरेको छ ।
धनुषाको विदेह नगरपालिका १ ठाडीझिजामा झण्डै ५ कठ्ठा ऐलानी जग्गामा ५ दशकभन्दा बढी समयदेखि बसिरहेका सुकुम्बासीका टहरामा शनिबार दिउँसो १२ बजेदेखि डोजर लगाउन जिल्ला अदालत धनुषाको नेतृत्वमा प्रहरी, प्रशासन र स्थानीय सरकारको टोली त्यहाँ पुगेको छ। व्यापक मात्रामा प्रहरी परिचालन भएपछि स्थानीय सुकुम्वासी बस्तीमा त्रास छाएको छ।

‘बस्तीमाथि डोजर चलाउन धेरै प्रहरी बिहानैदेखि यहाँ आएका छन्। दिउँसो १२ बजेदेखि बस्तीमा डोजर चलाउने तयारी गरिएको छ। उनीहरुका क्रियाकलापले हामी एकदमै त्रसित भएका छौैं’, सोही बस्तीमा बस्दै आएका अशोक दाहा मलाहले डरले काम्दै भने, ‘यस्तो जाडोमा हामी कहाँ बस्ने, हाम्रा बालबच्चा कहाँ राख्ने हजुर? हामीलाई बँचाइदिनूस्।’
सो बस्तीमा १६ परिवार रहेकोमा सबभन्दा बढी १३ घर मलाह परिवार रहेका छन्। आफलूहरु तीन पुस्तादेखि सो ऐलानी जग्गामा घर बनाएर बस्दै आएको अशोकको भनाइ छ।
चारवर्ष अघि वस्तीकै पछाडि जग्गा रहेका रामसागर ठाकुर घर बनाउने क्रममा बस्तीको जग्गा माग गरेका थिए। बस्तीवालाले जग्गा नदिएपछि उनले एलानी जग्गा खाली गराई पाऊ भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरे।

अदालतले ठाकुरको मुद्दामाथि सुनवाई गर्दै बस्ती खाली गराउन आदेश गरेको थियो। अदालतको सोही आदेश अनुसार सो बस्ती खाली गर्न लागिएको बताइएको छ।
Shares

प्रतिक्रिया