समाज


अपहरित युवतीको उद्धारका लागि भारतले नेपालसँग माग्यो सहयोग

अपहरित युवतीको उद्धारका लागि भारतले नेपालसँग माग्यो सहयोग

दीपक खरेल
पुस २७, २०७६ आइतबार १२:३१,

भारत सरकारले औपचारिक पत्र पठाएर एक अपहरित युवतीको उद्धारका लागि नेपाल सरकारलाई अनुरोध गरेको छ।

नेपालस्थित भारतीय राजदूतावास मार्फत कन्सुलर विभागलाई पत्र लेख्दै भारतले अपहरित भनिएकी प्रतिभा सिंहलाई नेपालबाट तेस्रो देश उड्नबाट रोक्न आग्रह गरेको हो।

भारतीय दूतावासले पुस १ (डिसेम्बर १७, २०१९) मा नेपालको कन्सुलर विभागलाई लेखेको पत्रमा भारतीय राहदानीबाहक प्रतिभा सिंहलाई जर्मन राहदानीबाहक जर्नादन अडुगोडी भित्तलले अपहरण गरेको उल्लेख छ।

भारतीय दूतावासको चलानी नम्बर ८७२ रहेको उक्त पत्रमा जर्नादनले प्रतिभालाई नेपाल भएर तेस्रो देश भगाउने सम्भावना रहेकाले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिदिन आग्रह गरिएको छ। पत्रमा प्रतिभालाई मात्र रोक्न आग्रह गरिएकाले यो मामिला भारतीय उच्च घराना र पहुँचवाला परिवारसँग जोडिएको हुनसक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन्।

दूतावासले कन्सुलर विभागसहित गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल समेतलाई बोधार्थ गरेको पत्रमा यो विषयलाई उच्च प्राथमिकतामा राखेर कारबाही अघि बढाउन भनिएको छ।

कन्सुलर विभागले पत्र प्राप्त भएपछि पुस १५ मा गृह मन्त्रालय र अध्यागमन विभागलाई पत्र लेख्दै भारतीय दूतावासको आग्रहको विस्तृत जानकारी गराएको हो। अध्यागमन विभागले गृहको सीमा तथा अध्यागमन शाखाबाट पत्र प्राप्त भएपछि प्रतिभा र जर्नादन दुवैको राहदानी कालोसूचीमा राखेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा उनीहरुलाई रोक लगाउन अध्यागमनले दुवैको राहदानी नम्बर कालोसूचीमा राखेको हो।

IndiaLetter

विभागका निर्देशक रामचन्द्र तिवारीले गृहको पत्रादेश अनुसार अध्यागमन विमानस्थल कार्यालयलाई पत्र पठाएर दुवैको नाम र राहदानी नम्बर कालोसूचीमा राखिएको बताए। ‘अहिलेसम्म उनीहरुका विषयमा केही सूचना आएको छैन, हामीले विमानस्थल अध्यागमनलाई अर्लट गराएका छौं,’ तिवारीले नेपालखबरसँग भने।

भारतीय राजदूतावासले प्रतिभा र जर्नादन दुवैको राहदानीको छायाप्रति समेत पत्रमा संलग्न गरेको छ। भारतीय प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार जर्नादनले प्रतिभाको अपहरण गरेको बेहोरा पत्रमा उल्लेख छ।

भारतबाट अपहरण भएको दाबी गरिएकी युवती र अपहरणकर्ताका विषयमा पत्रमा केही खुलाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad