छारे रोग मानिसको मस्तिष्कमा आउने अस्वाभाविक विद्युतीय तरंग हो। जसले गर्दा मस्तिष्कको भाग अनियन्त्रित भई शरीर काँप्ने र अचेत हुने हुन्छ।
छारे रोग २ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका व्यक्तिमा देखिन सक्छ।
विश्व स्वास्थ्य गंगठनका अनुसार संसारभर २ देखि ४ प्रतिशतसम्म बालबालिकामा छारे रोग देखिएको छ।
बालबालिकामा सुगर, क्याल्सियम, दिमागमा अक्सिजनको मात्र कम हुँदा र प्यारालाइसिस, इन्सेफ्लाइटिस, मेनेन्जाइटिसजस्ता संक्रमण हुदा पनि छारे रोग देखिने वरिष्ठ न्युरोलोजिस्ट डा. सुमन भट्टराई बताउँछन्।
त्यस्तै केही बालबालिकामा आनुवंशिक (जेनेटिक) कारणले छारे रोग लाग्ने र यसले सिन्ड्रोमिक छारे रोग निम्त्याउने उनले बताए।
डा. भट्टराईका अनुसार छारे रोगमा ५० प्रतिशतमा कारण खुल्ने गरे पनि ५० प्रतिशत भने कारण नै थाहा हुँदैन।
नेपालका धेरै बालबालिकामा छारे रोगको समस्या भए पनि एकिन तथ्यांक भने थाहा नभएको उनी बताउँछन्।
यस रोगमा एकातिर मात्र शरीर काँप्ने, झम्झमाउने, आँखा वा आखीभौँ मात्र फर्फराउने, आफैँ बेसुरमा हाँस्ने, बोल्नेजस्ता लक्षण देखिने डा. भट्टराईले बताए।
छारे रोग : केही भ्रम र सत्यता
एक हजार वयस्क व्यक्तिमध्ये ७ देखि ८ जनामा छारे रोग देखिने गर्छ। यसैलाई आधार मान्ने हो भने २ प्रतिशत बालबालिकामा छारे रोग लाग्ने गरेको डा. राकेश कर्ण बताउँछन्।
सयममै उपचार पाए भने ९० प्रतिशत बालबालिकाको छारे रोग निको हुने र १० प्रतिशतमा पुनः दोहोरिन सक्ने सम्भावना रहने डा. कर्णले बताए।
उनले भने, ‘छारेको अट्याक (आक्रमण) जति बढी आउँछ, उति नै दिमागमा असर पर्दै जान्छ र बालबालिकाहरु लाटो हुने, सुस्त हुनेदेखि लिएर हातगोडा नै नचल्ने जटिलता आएर लामो समयसम्म औषधि खाने अवस्था आउँछ।’
छारे रोगले छोप्दा बालबालिकालाई चक्कु, कैँची, आगो र धेरै पानी भएको ठाउँमा एक्लै छाड्न नहुने सुझाव पनि उनले दिए।
Shares

प्रतिक्रिया