ad ad

समाज


पक्की पुल अलपत्र, पैसा तिरेर काठको फड्के तर्छन् स्थानीय

८ वर्षमा ठडिए तीनवटा पिल्लर
पक्की पुल अलपत्र, पैसा तिरेर काठको फड्के तर्छन् स्थानीय

गोकुल जोशी
जेठ २१, २०८० आइतबार २०:२९, कञ्चनपुर

दोदा नदीको बीचमा तीन पिल्लर ठडिएका छन्। नजिकै सालका फलेक जोडेर बनाइएको फड्के छ। जीर्ण बन्दै गएको उक्त पुलका टेको मक्किएका छन्। 

दिनहुँ सयौँ मानिस यो पक्की पुलका पिल्लर हेर्दै फड्केमा पैसा तिरेर नदी तर्छन्।

वर्षौँदेखि देखतभुली–पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि कञ्चनपुरको लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन्। वि.सं. २०७२ साल पुस २६ गते ३ वर्षभित्र सक्ने गरी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो। 

त्यसपछि पटक पटक म्याद थप हुँदा पनि अहिलेसम्म पक्की पुल निर्माण हुन सकेको छैन। सम्झौता भएको ८ वर्षको अवधिमा पुलका तीन पिल्लर मात्रै ठडिएका छन्।

फड्के चढेको पैसा
शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना शिक्षण पेशामा आबद्ध छिन्। उनलाई लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालय जान दिनहुँ दोदा नदी तर्नुपर्छ। 

विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न फड्केको सहारा लिन्छिन्, उनी। साइकलमा ओहोरदोहोर गर्ने उनले दोदा नदीमाथिको जीर्ण फड्के प्रयोग गरेबापतको शुल्क एकमुष्ट तिरेकी छन्।

‘वर्षौँदेखि नदी तर्न फड्केकै प्रयोग गर्दै आएका छौँ, यो पुल पनि अब जीर्ण बन्दै गएको छ,’ उनी भन्छिन्, ‘पक्की पुल निर्माण नहुँदा निकै सास्ती छ।’

लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदको पनि दैनिकी यस्तै छ। दैनिक फड्के भएर साइकलमा आउजाउ गर्ने उनी पनि शुल्क तिर्ने गर्छन्।

दोदा नदीमा पक्की पुल नहुँदा वर्षौदेखि यहाँका स्थानीय शुल्क तिरेर फड्केमा यात्रा गर्ने गरेको उनी बताउँछन्। 

‘पक्की पुल निर्माण सुरु भएको वर्षौँ भइसक्यो, काम सकिएको छैन,’ उनी भन्छन्, ‘पक्की पुल नहुँदा फड्केमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ।’

स्थानीयले फड्के प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको ३० रुपैयाँ शुल्क तिर्ने गरेका छन्। 

पुलले गुजारा
लालझाडी गाउँपालिका–४ की वृद्धा सरस्वती रानाको परिवारले व्यक्तिगत लगानीमा दोदा नदीमा अस्थायी फड्के बनाएको थियो। 

दिनभर फड्के कुर्ने उनी नदी ओहोरदोहोर गर्नेबाट शुल्क संकलन गरेर जीविकोपार्जन गर्दै आएकी छन्। 

‘दिनमा दुई सय भन्दा बढि मानिस फड्के भएर नदी वारपार गर्छन्,’ उनले भनिन्, ‘यहीँबाट आएको पैसाले घरखर्च चलेको छ।’

चुनावमा सम्झिने अनि बिर्सिने
वर्षौँदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण फड्के चढ्न बाध्य छन्, लालझाडीका स्थानीय। 

‘वर्षौ भइसक्दा पनि शुल्क तिरेर फड्केबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना नै छ’, स्थानीय सेमलाल रानाले भने, ‘चुनावमा जहिले पनि नेताहरु पुल बनाउँछु भन्छन्, जितेर गएपछि बिर्सिन्छन्।’

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कविच्छेद हुन्छ। मंसिरदेखि जेठसम्म मात्रै फड्केको सहायताले नदी वारपार गर्न सकिन्छ।

बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुख दिने गरेको छ। ‘बर्खायाममा बाढी आएपछि यो बाटो भएर आउजाउ गर्न सकिदैन’, राना भन्छन्, ‘सात महिना मात्रै फड्के भएर नदी तरिन्छ, हामीले पक्की पुल चढ्न कहिले पाउने?’

दोदामा पक्की पुल निर्माण भए दक्षिणी क्षेत्रलाई मूलधारमा जोड्छ। यहाँका स्थानीयलाई सहज हुने लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदले बताए।

‘यो पुलले कैलाली–कञ्चनपुर रिङरोड जोड्नमा पनि सहायता गर्नेछ, पुल नहुँदा वर्षौदेखि जनता पीडित छन्,’ उनी भन्छन्, ‘पुल निर्माणमा सरकारको ध्यान जाओस्।’

के हुँदै छ?
पक्की पुलको पिल्लरको फाउण्डेसन परीक्षणका क्रममा त्रुटी देखिएपछि निर्माण रोकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।

यो पुल २४ करोड ५२ लाखको लगानीमा निर्माण भइरहेको थियो। त्यसमध्ये अहिलेसम्म १२ करोड रकम भुक्तानी भइसकेको छ।

त्रुटी देखिएपछि सोही पुलको नजिकै अर्को पुल बनाउने भनेर निर्माण कम्पनीले ०७८ सालमा डिजाइनसमेत बनाएको थियो। त्यसपछि अझै पुल निर्माण अघि बढ्न सकेको छैन।

‘भुक्तानी भएको रकम बराबर निर्माण कम्पनी स्वयम्ले खर्च गर्ने गरी पुलको नयाँ डिजाइन गरिएको छ,’ सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर पियुष चटौतले भने, ‘बारम्बार ताकेता गर्दा पनि अझै पुल निर्माणको काम सुरु भएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .