ad ad

समाज


घटेन गर्मी, कहाँको तापक्रम कति?

घटेन गर्मी, कहाँको तापक्रम कति?

जल तथा मौसम विज्ञान विभाग


नेपालखबर
जेठ २६, २०८० शुक्रबार ७:३७, काठमाडौँ

देशका अधिकांश स्थानमा जारी गर्मी अझै केही दिन नघट्ने देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार कम्तीमा ३ दिन खासै ठूलो वर्षाको सम्भावना देखिएको छैन। बादल नलाग्दा र वर्षा नहुँदा दिनभर घाम लाग्ने भएकाले तापक्रम घट्न पाउँदैन। 

मौसम महाशाखाले आफ्नो स्टेसन राखेका ६ स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। महाशाखाको विवरणअनुसार बिहीबार सबैभन्दा बढी तापक्रम बारा जिल्लाको सिमरामा ४२.६ डिग्री सेल्सियस पुगेको छ। यसपछि क्रमशः भैरहवा र जनकपुरमा समान ४२.४, नेपालगन्जमा ४१.८, विराटनगरमा ४१.५ र धनगढीमा ४०.५ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौं उपत्यकाको अधिकत तापक्रमसमेत ३२.८ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणमा उल्लेख छ। आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमसमेत २० डिग्रीमा उक्लिएको छ। 

‘अझै एक/दुई दिन तापक्रम घट्ने देखिन्न’, मौसमविद् लामिछानेले भने, ‘किनभने अहिलेसम्मको अनुमानमा यसबीच ठूलो वर्षाको खासै सम्भावना देखिएको छैन।’

पहाडी भेगका केही स्थानमा मौसम बदली र हल्का वर्षाको सम्भावना रहे पनि तराई क्षेत्रमा भने पानी पर्ने कुनै सम्भावना नदेखिएको उनले बताए। 

मौसम महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा (घाम लाग्नु) रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। 

यस्तै राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक/दुई ठाउँमा भने मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आज काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् लामिछानेले बताए।  

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– देशका तराइका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भूभागमा तातो हावा/लु  (Heat Wave) चलिरहेको अवस्था छ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।  तसर्थ अत्यधिक गर्मी तथा मेघगर्जन/चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

हेर्नुहोस् बिहीबारको तापक्रम विवरण- (मौसम महाशाखाबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .