‘....अहँ म हार मान्ने छैन, न तिमीलाई मान्न दिनेछु। बलियो हुनु माया। अझै लडाइँ लड्नु छ। ईश्वरले हेरिरहनुभएको छ। सबैले पुकार्दा एक जनाको मात्र भए पनि पुकार कसो नसुन्नुहोला र!’ भावुक स्टाटसमार्फत् ईश्वरसँग श्रीमान्को प्राण बचाइदिन याचना गरिरहेकी छिन् सिर्जना सुवेदी।
आखिर खुसीको सेतो पछ्यौरामा आँसुका दाग बस्न कति समय लाग्दो रहेछ!
केही महिनाअघिसम्म श्रीमती सिर्जनाको प्रशिक्षणमा टिकटकमा बेफिक्री बाङ्गोटिङ्गो नाच्ने ३२ वर्षीय विवेक यतिबेला जीवन र मृत्युको दोसाँधमा छन्।
केही महिनामै बदलिएको छ सिर्जनाको जीवन। फेरिएको छ दैनिकी। उजाडिएको छ खुसीको आकास। उन्मुक्त हाँसो फुल्ने ओठसम्म लत्पतिँदै चुहिन पुग्छन् आँसु।
रमाउँदै/रिसाउँदै श्रीमान्लाई नाच्न सिकाएर आम सर्वसाधारणलाई हँसाउने सिर्जना आफू स्वयं नहाँसेको धेरै दिन भइसक्यो। उनीहरूको भिडिओ हेरेर हाँस्ने दर्शक अब उनका नयाँ भिडिओ हेरेर आँसु बगाउँछन्।
धेरैले यो भाइरल डान्स जोडीलाई रुचाएका थिए। यतिसम्म कि सिर्जनाले केही दिन भिडिओ अपलोड नगर्दा दर्शकहरूले ‘बूढो नचाउने दिदी खोइ? डान्स सिकाएको भिडिओ राख्नू न’ भन्दै कमेन्ट गर्थे।
बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–५ का विवेक र मैनापोखरकी सिर्जनाले ७ वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए।
पढ्नमा निकै तेज विवेकले जीवनमा ठूला सपना देखेका थिएनन्। वश उनी पीएचडी गर्न चाहन्थे। त्यसका लागि उनले दिनरात नभनी मेहेनत गरे। त्यसमा सधैँ हैसला थपिरहिन् सिर्जनाले र त विवेकले पूर्ण छात्रवृत्ति कोटामा अमेरिकाबाट भौतिकशास्त्रमा पीएचडी गर्ने मौका पाए।
सिर्जनाका लागि श्रीमान्को खुसी नै सबथोक थियो। अथक मेहनत गरेर अमेरिकामा पीएचडी गर्ने मौका पाएपछि सिर्जनाले दुःखको दिन गएर सुखका दिन आए भन्ने सोचेकी थिइन्।
उनीहरू एकअर्काको साहस बनेर विवेकको अगाडि डा. थप्ने सुन्दर सपना बोकेर १० महिनापहिला अमेरिका उडे। तर उनीहरूले त्यो सुख धेरै समय अनुभूति गर्न पाएनन्।
टिकटकमा सधैँ हासीखुसी देखिने यो जोडीको जीवनमा घटेको एक नमीठो घटना, जसले उनीहरूका लागि सिंगो संसार फेरिएको छ।
विवेक ब्रेन क्यान्सरको अन्तीम अवस्था (चौथो चरण) सँग संघर्ष गरिरहेका छन्। सिर्जना अहिले पनि श्रीमान्सँगको टिकटक बनाउँछिन्, तर फरक यत्ति हो कि यो प्रेमिल जोडीको हाँसो हराएको छ।
सिर्जनाको अनुहारमा स्पष्ट देखिन्छन् वैराग्यका धर्साहरू,तर उनी देखावटी हाँसो हास्दै विवेकलाई खुसी पार्न खोज्छिन्। विवेक एकोहोरो टोलाइ रहन्छन्। प्रतिक्रियाविहीन हेरिरहन्छन् सिर्जनालाई, बस आँसु बगाइरहन्छन्।
'घरिघरि मन आँत्तिदा उनी मलाई अँगालोमा च्याप्छन्, किनकी उनी जान्दछन्- मेरा लागि संसारकै सबैभन्दा सुरक्षित ठाउँ उनको न्यानो काख हो,' संसारकै सबैभन्दा न्यानो र महफुज ठाउँ जसरी विवेकको आँलिगनमा बाँधिन्छिन् सिर्जना।
क्यान्सरसँग लडिरहेका श्रीमान्लाई हौसला दिँदै बनाइएका ती भिडिओ र लेखिएका क्याप्सनहरू पढेर नरसाउने आँखा कसका होलान् र!
‘संसारै भासिएर गएको महसुस भो, जब हाँस्ने, नाच्ने, रमाउने मेरो माया मेरो श्रीमान्लाई ‘हाइ ग्रेड ब्लास्टोमा’ ब्रेन क्यान्सर लास्ट स्टेजमा छ भन्ने थाहा भो। थरथर हात काँप्छ केही लेख्न खोज्दा, कुन शब्दमा लेखूँ, म यी दर्दनाक भोगाइहरू।’
सिर्जनाले विवेकको स्याहार गर्दै बनाइएका अधिकांश भिडिओमा लेखेकी छन्, ‘गड प्लिज–प्लिज, एन्ड प्रे फर हिम’ सबैलाई भगवानसँग आफ्नो मायाको पुकार गरिदिन आग्रह गरेकी छन्।
विवेकलाई क्यान्सर पत्ता लागेदेखि अस्पताल बसाइँ, अप्रेसन, खाना खुवाउने सबैको भिडिओ बनाएर टिकटकमा राखिरहेकी छन्।
दर्शकहरूले पनि स्वास्थ्य अवस्थाको अपडेट मागिरहेका छन्।
तर दुई दिन पहिला सिर्जनाले टिकटकमा राखेको त्यो भिडिओ हेरेर धेरै दर्शकले आँसु बगाएका छन्।
विवेकको कपाल काट्दाकाट्दै त्यही कैँचीले सिर्जना आफ्नो कपाल काट्न थाल्छिन्, विवेक प्रेमपूर्वक हेरिरहन्छन् उनलाई, झरिरहेका आफ्ना आँसु पुच्छन्। कपाल काट्दाकाट्दै भक्कानिन्छिन् सिर्जना।
चिसिँदै गएका मानवीय सम्बन्धलाई प्रेमको पाठ पढाइरहेकी छन् सिर्जना। सिर्जनाले गरेको यो माया र समर्पणलाई धेरैले खुला दिलले तारिफ गरेका छन्। मायाको अर्थ बुझाइदिएकोमा आभार भाव प्रकट गरेका छन्।
अमेरिका पुगेको एक महिना मात्र भएको थियो, विवेककी आमाको मृत्यु भयो।
आमाको मृत्युको खबरले विक्षिप्त विवेकलाई सम्हालेर सिर्जना नेपाल ल्याउँछिन्। काजकिरिया सबै सकेर एक महिनामा अमेरिका फर्किन लाग्दा विवेक बिरामी पर्छन्।
अमेरिका जाने अघिल्लो दिन काठमाडौंमै विवेकको स्वास्थ्य परिक्षण गरिन्छ। रिपोर्ट उनीहरूले कल्पनामा पनि नचिताएको आइदिन्छ।
त्यसको भोलिपल्ट नै अमेरिकाको टिकट भएकाले रातभर रोएका उनीहरू अब रोएर हुँदैन, टुट्नु हुँदैन भनेर सिर्जनाले हिम्मत जुटाउँछिन् र उनीहरू राम्रो ठाउँमा उपचार गरे निको हुने आशामा अमेरिका उड्छन्।
विवेकलाई रारा घुम्ने धेरै मन छ। अपरेसन थिएटर जानुअघि उनले सिर्जनलाई भनेका थिए, ‘म सकुसल निस्केँ भने नेपाल जाँदा रारा जाम्ला है।’
सिर्जनाले हौसला दिँदै भनेकी थिइन्, ‘हिम्मत नहार्नू, सारा संसार देख्न बाँकी छ।’
ब्रेन क्यान्सरको चौथो चरणसँग लडिरहेका विवेकको दुईपटक टाउकाको शल्यक्रियापछि ७० प्रतिशत ट्युमर निकालिएको विवेकका भाइ विपीन पंगेनीले जानकारी दिए।
बाँकी रहेको ३० प्रतिशत ट्युमर शल्यक्रिया गरेर निकाल्न नमिल्ने भएकाले रेडियसन र केमो दिइएको छ।
‘बाँकी रहेको ट्युमर निकाल्न नमिल्ने ठाउँमा भएकाले एक महिनासम्म केमो र रेडियसन दिएको थियो,’ विपीनले भने, ‘त्यसले कति काम गर्यो। एमआरआई गरिएको छ, भोलिपर्सि रिपोर्ट आउँछ। हेरौँ, रिपोर्टले अब के भन्छ!’
विवेकलाई ब्रेन क्यान्सर भएर अन्तीम अवस्थामा पुग्दा पनि पहिला हल्का टाउको दुख्नेभन्दा अरु केही पनि समस्या नदेखिएको भाइ विपीनले बताए।
‘मम्मी बित्दा दाइ नेपाल आएको बेला धेरै टाउको दुख्यो भनेर अमेरिका जानुको अघिल्लो दिन काठमाडौंमा जबर्जस्ती चेक गरेको हो। दाइले त केही भएको छैन, चेक नगरौँ भन्थ्यो। तर चेक गर्दा रिपोर्ट त्यस्तो आयो,’ विपीनले भने।
बुवा मीनबहादुर पंगेनी पनि छोराको हेरचाह गर्नका लागि बुधबार अमेरिका गएको उनले बताए।
क्यान्सर उपचार निकै महँगो पर्छ। विवेकलाई महिनौँ अस्पताल राख्दा आर्थिक रूपमा पनि निकै समस्या परेको विपीनले बताए।
‘अमेरिकामा उपचार निकै मंहगो हुने रहेछ,’ उनले भने, ‘आफन्त सबैले सहयोग गरिहनुभएको छ। तर अस्पतालले निको हुने/नहुने केही भनेको छैन। अब एमआरआईको रिपोर्ट आएपछि ट्युमरको अवस्था थाहा होला!’
मुत्युसँग लडिरहेका विवेकलाई बचाउन सिर्जना अहिले हरप्रयास गरिरहेकी छन्।
कहिले आमा बनेर बच्चालाई जस्तै खाना खुवाइरहेकी छन्, कहिले नर्स बनेर अप्रेसन गरेको घाउ सफा गरिरहेकी छन्। कहिले विवेकलाई पिङमा राखेर आफू नाचिरहेकी छन् र ह्विलचेयरमा राखेर घुमाइरहेकी छन्।
विवेकको जीवनकै सबैभन्दा जटिल मोडमा विवेकलाई प्रेमिल साथ दिएर उनको हौसला बढाइरहेकी छन्, साथ र समर्पणले 'म छु' भनेर उनलाई एक्लो हुन दिएकी छैनन्। भन्छिन्, 'कसरी भनूँ? उनी कमजोर छन्। अझैँ पनि बादल गर्जिँदा/म तर्सिँदा उनी आफ्नो अँगालोमा मलाई च्यापी भन्छन्, नडराऊ न, म छु नि!'
Shares
प्रतिक्रिया