आज आइतबार पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका हिमाली भेगमा साधारणतया तथा पहाडी क्षेत्रसहित मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
अनि देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै हिमपातको पनि सम्भावना छ। मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
यस्तै राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहनेछ।
अनि कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा सम्भावना छ। साथै हिमपातको पनि सम्भावना छ। बागमती र गण्डकी प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै हिमपातको सम्भावना छ। मधेस प्रदेशका पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।
काठमाडौँमा पनि वर्षाको सम्भावना
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यकामा आज अपराह्न वा साँझपख मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।
‘अहिले काठमाडौँ उपत्यकामा बादल पनि लागेको छ भने घाम पनि देखिएको छ’, आज बिहान १०:४५ बजेतिर उनले नेपालखबरसँग भने, ‘दिउँसो २ बजेपछि बादल बढ्दै गएर मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
यस्तै आज काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम ३१ डिग्रीसम्म पुग्न सक्ने अनुमान गरिएको जानकारी पनि उनले दिए।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया