समाज


सीता दाहाललाई किन लगिएको थियो अस्पताल?

सीता दाहाललाई किन लगिएको थियो अस्पताल?

समृद्धा केसी
जेठ ३०, २०८० मंगलबार १६:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल नर्भिक अस्पतालबाट उपचार गरेर फर्किएकी छिन्। झन्डै एक दशकदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट ग्रसित छिन्। 

सीतालाई लागेको रोग निको पार्न प्रचण्डले देशविदेश सबैतिर लगिसकेका छन्। ४ असार २०७५ मा उनलाई सिंगापुर लगिएको थियो। सोही वर्षको ३ चैतमा अमेरिका लगेर जोन्स हप्किन्स अस्पतालमा उपचार गरिएको थियो।

चिकित्सा विज्ञानले सीताको रोग निको नहुने भनेपछि प्रचण्डले ४ पुस २०७६ मा भारतको हरिद्वार लगेर बाबा रामदेवबाट पनि उपचार गराए।

म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेपछि रोग निको हुने जनविश्वासलाई स्वीकार्दै प्रचण्डले सीतालाई त्यहाँ पनि लगे। 

पछिल्लो समय अर्धचेत अवस्थामा ओछ्यामै रहेकी सीतालाई बालुवाटारमा चिकित्सकहरूको निगरानीमा राखिएको छ। सोमबार (हिजो) सीतालाई नियमित स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल लागिएको थियो। 

हिँड्नडुल्न नसक्ने भएपछि सीतालाई लामो समयदेखि पाइपबाटै खाना दिइँदै आएको छ। अहिले त्यो पाइपमा लिक भएको देखिएकाले अस्पतालमा ल्याइएको प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. युवराज शर्माले जानकारी दिए। 

‘अस्पतालमा भर्ना गरिएको होइन। उहाँलाई पाइपबाट खाना दिरहेको छ,’ डा. शर्माले भने, ‘त्यो पाइप लिक भएको थियो। त्यसैले नर्भिक अस्पतालमा त्यो परिर्वतन गर्न ल्याइएका हो। अल्ट्रासाउन्ड भएको छ। पिसाबथैलीमा पनि थोरै समस्या देखिएकाले कल्चर गर्न दिएको छ। तर रिपोर्ट आएको छैन।’

सीतालाई लामो समयसम्म अक्सिजन र भेन्टिलेरमा राखे पनि अहिले अक्सिजन दिनु नपरेको डा. शर्माले सुनाए। 

डा. शर्मा भन्छिन्, ‘उहाँको सुधार हुने सम्भावना छैन। हामीले त्यो आश पनि गरेका छैनौँ। फिजिकल मात्र हुनुहुन्छ भन्दा फरक नपार्ला। कसैलाई पनि चिन्नु हुन। मेन्टेन मात्र गरेर राखिएको छ।’

सीताको स्वास्थ्य हेरेर अहिलेसम्म पनि सबैमाझ रहनु निकै सुखीको कुरा रहेको डा शर्माले सुनाए। 

छोरीको मृत्युपछि बल्झियो सीताको रोग 
चार सन्तानकी आमा सीताले दुई सन्तान गुमाइसकेकी छन्। दोस्रो संविधान सभाको चुनाव हुनुभन्दा केही समयअघि जेठी छोरी ज्ञानुलाई स्तन क्यान्सर पुष्टि भयो। 

ज्ञानुलाई उपचाका लागि भारत लगियो। तर क्यान्सर अन्तिम चरणमा पुगेकाले उपचार सम्भव भएन। 

१३ चैत २०७० मा ४० वर्षकै उमेरमा ज्ञानुले संसार छोडिन्। जसको खबरले सीता निकै विक्षिप्त भइन्। 

उनमा पार्किन्सन जस्तो रोगको लक्षण देखिन थाल्यो। तर, धेरै मानसिक तनाव नलिन र खुसी रहन डाक्टरले सुझाव दिएका थिए। 

प्रचण्डको परिवारले सीतालाई सुखी राख्न हरप्रयास गर्दै थियो।

तर ३ मंसिर २०७४ मा प्रचण्ड–सीतालाई अर्काे बज्रपात प¥यो। लाजिम्पाटमै घरमा सुतिरहेका बेला छोरा प्रकाश दाहालको हृदयघातका कारण मृत्यु भयो। 

छोरीको मृत्युको खबरबाट बाहिर निस्कन नसकेका बेला सीतालाई छोरोको मृत्युले झन् विक्षिप्त बनायो। 

एकपछि अर्काे सन्तान गुमाउँदाको पीडा नै सीताको रोग बल्झाउने कारण बन्यो। 

पीएसपी रोगले कसरी अर्धचेत बनाउँछ? 
सीता दाहाललाई देखिएको पीएसपी रोग पार्किन्सन जस्तै बुढ्यौलीमा देखिने एक प्रकारको जटिल रोग हो।

पीएसपी प्रायः ६० वर्ष उमेरमाथिका व्यक्तिहरुलाई बढी सताउने दुर्लभ रोग मानिने वीर अस्पतालका न्युरोलोजी विभाग प्रमुख तथा न्युरोलोजिस्ट डा.सुनिल कोइराला बताउँछन्। 

यो रोग देखा पर्दा बिरामीको शरीर असन्तुलन हुने, हातखुट्टा काँप्ने, सुस्त हुने, आँखाको परेला बिस्तारै चल्ने र बोल्न समेत गाह्रो हुने डा.कोइरालाले जानकारी दिए। 

‘संसारभर नै यस रोगलाई दुर्लभ मानिन्छ,’ डा.कोइरालाले भने, ‘वीर अस्पतालमा पनि वर्षको एकदुई जना बिरामी मात्र आउनु हुन्छ। यो निको नहुने रोग भएकाले अहिलेसम्म औषधि पनि बनेको छैन।’

पीएसपी रोगलाई निको पार्न नसके पनि यस रोगले निम्त्याउन सक्ने जटिलता वा यसका लक्षणहरुलाई भने औषधि उपचार दिएर कम गर्न सकिने डा.कोइराला बताउँछन्। 

शरीर चल्ने भनेको मस्तिष्कले काम गर्दा सम्म हो तर यो रोग लाग्दा मस्तिष्कको एउटा भागमा असर पर्दा पीएसपी रोग देखिन्छ र बिस्तारै बिरामीको शरीर असन्तुलन हुने र स्मरण शक्तिमा पनि कम आउँदै जाने उनले बताए।

उमेरसँगै बढ्दै जान्छ समस्या
बिरामीको उमेरसँगै रोग पनि बढ्दै गएर विभिन्न समस्याहरु ल्याउन सक्छ। यस रोगले मस्तिष्कको कोसिकामा क्षति पु¥याएर अंगहरु नचल्ने पनि हुन सक्ने उनको भनाइ छ। 

‘अन्य रोगहरु उपचार पाएपछि निको हुँदै जान्छ। तर पीएसपी भने बढ्दै जान्छ, यसले निम्त्याउन सक्ने समस्यारु बढ्दै जान्छ र बिरामी अर्धचेत जस्तै हुन्छ,’ डा. कोइरालाले भने। 

रोग बढ्दै जादा बिरामीलाई खान नसकेर पाइबाट दिनु पर्ने, उभिन नसकेर २४ सै घण्टा ओछ्यानमै राख्नुपर्ने उनले बताए।

‘कतिपयले यो रोगलाई पार्किन्सन्स पनि भन्छन् तर त्यो होइन। पार्किन्सन्समा हात काँप्ने र असन्तुलन मात्र हुन्छ। तर यसमा धेरै समस्याहरु देखिन्छ र औषधिले पनि काम गर्दैन,’ उनले भने। 

पीएसपीको औषधि नभएकाले बिरामीलाई लक्षण कम गर्नका लागि पार्किन्सन्सकै औषधि चलाइने डा कोइरालाको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .