समाज


गण्डकीबाट अघि बढ्न सकेन मनसुन, मध्य र पश्चिम तराईमा उखरमाउलो गर्मी अझै लम्बिने

गण्डकीबाट अघि बढ्न सकेन मनसुन, मध्य र पश्चिम तराईमा उखरमाउलो गर्मी अझै लम्बिने

फाइल तस्बिर : मनसुन


नेपालखबर
असार २, २०८० शनिबार ७:१०, काठमाडौँ

कोशीदेखि गण्डकीसम्म चारवटा प्रदेशमा गत बुधबार (जेठ ३१ गते) नै प्रवेश गरेको मनसुन (वर्षा गराउने मौसमी प्रणाली) त्यसभन्दा अघि (पश्चिम) बढ्न सकेको छैन। जसका कारण मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मी हुने क्रम यथावत् रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अझै २/३ दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुनी गतिविधि (बादल र वर्षा) सुरु हुने सम्भावना छैन। 

यसैकारण २ हप्ताभन्दा बढी समयदेखि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा जारी उखरमाउलो गर्मी अझै लम्बिने देखिएको उनले बताए। 

‘त्यसो त आज सुदूरपश्चिमको तराईमा भने भारतको गुजरातस्थित सौराष्ट्रमा रहेको चक्रवात (बिपरजोय) र पश्चिमी वायुको प्रभावले अलिअलि बदली (आकाशमा बादल) को सम्भावना देखिएको छ’, मौसमविद् झाले भने, ‘तर यो तापक्रम नै घटाउनेगरी हुने देखिँदैन।’ 

उनका अनुसार लुम्बिनीको तराईमा भने आज पनि बदलीको कुनै सम्भावना छैन। त्यही चक्रवात र पश्चिमी वायुको दबाबले पूर्वबाट प्रवेश गर्ने मनसुन अगाडि बढ्न नसकेको मौसमविद् झाको भनाइ छ। ‘त्यो चक्रवात बिस्तारै कमजोर हुँदै छ, त्यो जमिनमा ठोक्किएपछि झन् कमजोर हुन्छ र नेपालमा त्यसको प्रभाव पनि कम हुन्छ’, उनले भने।  

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार केही दिनदेखि देशका मध्य तथा पश्चिमी तराईका भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम लगातार वृद्धि भइरहेको देखिन्छ। उक्त भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी हुने क्रम जारी छ। 

महाशाखाले चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, नवलपरासी जिल्लामा अत्यधिक गर्मीको सम्भावना अझै रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा  थोरै तापक्रम घटे तापनि गर्मीको सम्भावना यथावत् रहने हुनाले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ।

ती क्षेत्रमा असार ३ गते (भोलि) सम्म तातो हावा चल्ने सम्भावना यथावत् रहेको महाशाखाले उल्लेख गरेको छ। मनसुनी प्रणालीको प्रभाव रहेका कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा भने बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घट्न सक्ने देखिएको महाशाखाले जनाएको छ। 

आज कहाँकहाँ होला वर्षा? 
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार–

असार २ गते शनिबार (आज)
दिउँसो : कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : कोशी प्रदेश, मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशसहित बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावना
मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि हल्का वर्षाको सम्भावना छ। ‘त्यस्तो ठूलो वर्षाको सम्भावना भने छैन’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .