समाज


सीता दाहाललाई लागेको पीएसपी रोग के हो? यसले कसरी अर्धचेत बनाउँछ?

सीता दाहाललाई लागेको पीएसपी रोग के हो? यसले कसरी अर्धचेत बनाउँछ?

नेपालखबर
असार २७, २०८० बुधबार १०:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल विगत १० वर्षदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगले ग्रसित थिइन्। २०७४ मंसिरपछि उनलाई यो रोगले थप च्याप्दै लग्यो।

स्तन क्यान्सरले पीडित जेठी छोरी ज्ञानुले २०७० चैत १३ मा संसार छाडेपछि सीता निकै विक्षिप्त भएकी थिइन्। त्यही बेला उनमा पार्किन्सन जस्तो रोगको लक्षण देखिन थालेको थियो। तर, धेरै मानसिक तनाव नलिन र खुसी रहन डाक्टरले सुझाव दिएका थिए। 

प्रचण्डको परिवारले सीतालाई सुखी राख्न हरप्रयास गर्दै थियो। 

तर ३ मंसिर २०७४ मा प्रचण्ड–सीतालाई अर्काे बज्रपात पर्‍यो। लाजिम्पाटमै घरमा सुतिरहेका बेला छोरा प्रकाश दाहालको हृदयघातका कारण मृत्यु भयो। त्यसपछि झनै विक्षिप्त उनी दुई वर्षयता पीएसजी रोगका कारण अचेत अवस्थामा थिइन्। 

उनलाई केही समययता प्रधानमन्त्री निवास बालुवाटारको एक कोठामा निजी नर्ससहित राखिएको थियो। 

मंगलबार बिहान सास फेर्न गाह्रो भएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइयो। ८:३३ बजे उनलाई चिकित्सकले मृत घोषित गरे।

पीएसपी रोगले कसरी अर्धचेत बनाउँछ? 
सीता दाहाललाई देखिएको पीएसपी रोग पार्किन्सन जस्तै बुढ्यौलीमा देखिने एक प्रकारको जटिल रोग हो।

पीएसपी प्रायः ६० वर्ष उमेरमाथिका व्यक्तिहरुलाई बढी सताउने दुर्लभ रोग मानिने वीर अस्पतालका न्युरोलोजी विभाग प्रमुख तथा न्युरोलोजिस्ट डा. सुनिल कोइराला बताउँछन्। 

यो रोग देखा पर्दा बिरामीको शरीर असन्तुलन हुने, हातखुट्टा काँप्ने, सुस्त हुने, आँखाको परेला बिस्तारै चल्ने र बोल्न समेत गाह्रो हुने डा.कोइरालाले जानकारी दिए। 

‘संसारभर नै यस रोगलाई दुर्लभ मानिन्छ,’ डा.कोइरालाले भने, ‘वीर अस्पतालमा पनि वर्षको एकदुई जना बिरामी मात्र आउनु हुन्छ। यो निको नहुने रोग भएकाले अहिलेसम्म औषधि पनि बनेको छैन।’

पीएसपी रोगलाई निको पार्न नसके पनि यस रोगले निम्त्याउन सक्ने जटिलता वा यसका लक्षणहरुलाई भने औषधि उपचार दिएर कम गर्न सकिने डा.कोइराला बताउँछन्। 

शरीर चल्ने भनेको मस्तिष्कले काम गर्दा सम्म हो तर यो रोग लाग्दा मस्तिष्कको एउटा भागमा असर पर्दा पीएसपी रोग देखिन्छ र बिस्तारै बिरामीको शरीर असन्तुलन हुने र स्मरण शक्तिमा पनि कम आउँदै जाने उनले बताए।

उमेरसँगै बढ्दै जान्छ समस्या
बिरामीको उमेरसँगै रोग पनि बढ्दै गएर विभिन्न समस्याहरु ल्याउन सक्छ। यस रोगले मस्तिष्कको कोसिकामा क्षति पुर्‍याएर अंगहरु नचल्ने पनि हुन सक्ने उनको भनाइ छ। 

‘अन्य रोगहरु उपचार पाएपछि निको हुँदै जान्छ। तर पीएसपी भने बढ्दै जान्छ, यसले निम्त्याउन सक्ने समस्यारु बढ्दै जान्छ र बिरामी अर्धचेत जस्तै हुन्छ,’ डा. कोइरालाले भने। 

रोग बढ्दै जादा बिरामीलाई खान नसकेर पाइबाट दिनु पर्ने, उभिन नसकेर २४ सै घण्टा ओछ्यानमै राख्नुपर्ने उनले बताए।

‘कतिपयले यो रोगलाई पार्किन्सन्स पनि भन्छन् तर त्यो होइन। पार्किन्सन्समा हात काँप्ने र असन्तुलन मात्र हुन्छ। तर यसमा धेरै समस्याहरु देखिन्छ र औषधिले पनि काम गर्दैन,’ उनले भने। 

पीएसपीको औषधि नभएकाले बिरामीलाई लक्षण कम गर्नका लागि पार्किन्सन्सकै औषधि चलाइने डा. कोइरालाको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad