समाज


हङकङबाट यसरी काठमाडौं पठाइयो सुन, मिस लीले मध्यराति रोकिन् १५२ किलोको सिपिङ

हङकङबाट यसरी काठमाडौं पठाइयो सुन, मिस लीले मध्यराति रोकिन् १५२ किलोको सिपिङ

हङकङको जोर्डनस्थित पार्केस स्ट्रिट, जहाँबाट उठाइन्थ्यो नेपाल पठाउने सुनका बक्स (साथमा एआईले बनाएको मिस लीको प्रतिकात्मक तस्बिर)


पूर्ण बस्नेत
साउन ७, २०८० आइतबार ७:५४, हङकङ

हङकङका नेपाली रोशन लिम्बू र हङकङकै सिपिङ कम्पनी– क्यारी अन ग्लोबल लजिस्टिक्स लिमिटेडका प्रतिनिधि एक वर्षअघि, ३० जुलाई २०२२ मा सामाजिक सञ्जालमा जोडिन्छन्।

सिपिङ कम्पनीका प्रतिनिधिको नाम चिनियाँमै छ, रोशन भने ‘एसिड’ नामले उनीसँग सम्पर्कमा आए। यो छद्म नामले नै उनको कारोबार वैधानिक होइन भन्ने संकेत गर्छ। सम्भवतः रोशन पनि ती नेपालीको वास्तविक नाम होइन।

सिपिङ कम्पनीका प्रतिनिधिले ‘अब सबै कुराकानी यहीँ गरौँ’ भनेपछि रोशनले सुरुमै आफ्नो ठेगाना दिन्छन्, मेरो हङकङको ठेगाना हो– ७ तला, फ्ल्याट ए, ३७७ केइलुङ स्ट्रिट, साम सुइ पो।

साम सुइ पो हङकङमा जोर्डन र याउ मा तेइपछि धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो।

सिपिङ कम्पनीका प्रतिनिधिलाई आफ्नो ठेगाना दिएपछि रोशन सिधै कारोबारको कुरा अगाडि बढाउँछन्– म तयार हुन्छु, सामान कतिबजे उठाउनु हुन्छ? जम्मा ६२ किलो छ।

तत्कालै उनले फोन र प्यान नम्बरसहित नेपालमा डेलिभरी गर्ने ठेगाना पठाउँछन्– रुबिना ट्रेड इन्टरप्राइजेज, भोटाहिटी–२७, काठमाडौं।

सिपिङ कम्पनीका प्रतिनिधिले हङकङबाट क्वालालम्पुर हुँदै काठमाडौंसम्म पठाउने एयर कार्गोको सिपिङ दर पठाउँछन्– मलेसियन एयरलाइन्सबाट हङकङ–काठमाडौं ४५ किलोभन्दा बढी सामान पठाउँदा प्रतिकिलो ४५ हङकङ डलर, हङकङमा सामान उठाएर विमानस्थलसम्म लगेको थप सात सय डलर, ६ सय किलोभन्दा बढी सामान भएमा प्रति किलो ४५.५० डलर र हजार किलोमाथि भएमा प्रतिकिलो ४५ डलर।

त्यसपछि उनले हङकङ–क्वालालम्पुर–काठमाडौं दैनिक उडानबाट काठमाडौं सामान पुग्ने रुटिन पठाउँछन्।

सिपिङ कम्पनीका प्रतिनिधिले मागेपछि रोशन हङकङको आफ्नो फोन नम्बर पठाउँछन् र भन्छन्– मलाई ३० मिनेट पहिले नै कल गर्नु, अनि म सामान ल्याइदिन्छु।

३० जुलाईको ३ बजे पहिलो खेप सामान उठाउने तय भएपछि सिपिङ कम्पनीका प्रतिनिधिले सोध्छन्– कति काटन छ?

रोशनले सामान प्याक गरिएका ६ वटा काटनको फोटो पठाउँछन्, अनि भन्छन्– ६ बक्स। प्योकटभित्रको सामानको समेत फोटो पठाउँदै थप्छन्– ६ वटै बक्समा यही छ, मोटरसाइकलका सामानहरू।

त्यसपछि उनी सिपिङ कम्पनीका प्रतिनिधिलाई सोध्छन्– उसोभए मैले ६२ किलो सामानको सिपिङ शुल्क र सात सय किलो सामान उठाएको शुल्क तिर्नुपर्छ, हैन?

सिपिङ कम्पनीका प्रतिनिधिले हिसाब पठाउँछन्– लगभग ३४९० हङकङ डलर।

‘मेरो सामान यसरी पठाउँदा हुन्छ’ भन्दै रोशनले हङकङबाट पठाउनेमा आफ्नै नाम र ठेगाना अनि काठमाडौंमा पाउने रुबिना ट्रेड इन्टरप्राइजेज, भोटाहिटी–२७, काठमाडौं ठेगाना पठाउँछन्।

ती समानभित्र ‘ब्याट्री’ छैन भन्ने निश्चित भएपछि सिपिङ कम्पनीका प्रतिनिधिले सामान उठाउने भ्यानको नम्बर र ड्राइभरको नाम पठाइदिन्छन्।

सिपिङ कम्पनीका प्रतिनिधिले १ अगस्टमा रसिदको कपी पठाउँदै सामान काठमाडौंमा बुझाइएको जानकारी दिन्छन् र ‘एयरपोर्ट वेट’ ६६ किलो भएकाले ६६ किलोकै सिपिङ शुल्क तिर्न भन्छन्।

रोशन सोध्छन्– मसँग अलि पे छैन, त्यसैले हङकङको कुनै बैंक खाता छ?

सिपिङ कम्पनीका प्रतिनिधिले हङकङस्थित हाङसेङ बैंकको खाता नम्बर दिएपछि ७ सेप्टेम्बर २०२२ मा यो सिपिङ कारोबारको पहिलो शुल्क तिर्छन् रोशन।

हङकङबाट एक जना नेपालीले हङकङकै सिपिङ कम्पनी मार्फत् सामान काठमाडौं पठाउन थालेको एक सातापछि नै यो कारोबारले अर्को मोड लिन्छ। पहिलो खेप सामान पठाएको शुल्क क्यारी अन ग्लोबल लजिस्टिक्स लिमिटेडलाई तिरेपछि रोशन लिम्बू एकाएक सम्पर्कबिच्छेद गरेर हराउँछन्।

‘रोशन नेपाली भए पनि क्यान्टोनिज राम्रो बोल्थे, हामीसँग उनले एक पटक मात्रै सामान पठाउने डिल गरे,’ क्यारी अन ग्लोबल लजिस्टिक्सका एक प्रतिनिधिले हङकङमा नेपालखबरसँग भने, ‘त्यसपछि उनी कहिल्यै सम्पर्कमा आएनन्।’

रोशनको ठाउँमा एकाएक आउँछिन्– हङकङकै करिब ३० वर्षीया युवती मिस ली। रोशनले सम्पर्क गर्न छाडेको एक–दुई सातापछि सिपिङ कम्पनीको सम्पर्कमा आएकी लीले रोशनले पठाउन थालेकै शंकास्पद सामान काठमाडौं पठाउन ‘डिल’ गर्न थाल्छिन्।

खासमा मिस लीको नाम सिपिङ कम्पनीका स्टाफहरूलाई रोशनले नै दिएका थिए।

‘मिस लीले हाम्रा स्टाफहरूसँग रोशनले नै आफूलाई सिपिङको डिल गर्न खटाएको बताएकी रहिछन्,’ सिपिङ कम्पनीका प्रतिनिधिले थपे।

सायद रोशनले कम्पनीसँग पहिलो सिपिङ कारोबार गरेर ‘परीक्षण’ गरेका थिए। त्यसमा सफल भएपछि उनले मिस लीलाई सो काममा खटाए। लीलाई यो सिपिङ कारोबार ‘डिल’ मा पछाडि बसेर नेतृत्व दिइरहेका थिए, ‘मिस्टर लिन’ नाम गरेका हङकङका अर्का चिनियाँ व्यक्ति, जो ‘फ्रन्टलाइन’ मा प्राय देखा पर्दैनथे। यी दुई बाहेक दैनिक सम्पर्क र कामका लागि अरु तीन जना यो समूहमा सक्रिय थिए।

३० जुलाई २०२२ (१४ साउन २०७९) मा हङकङको जोर्डनबाट सुरु भएको शंकास्पद सामानको यो सिपिङ कारोबार झण्डै एक वर्ष चल्यो।

१९ जुलाई २०२३ (३ साउन २०८०) को राति जब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेकजाँच पार गरिसकेको करिब सय किलो सुन बरामद भयो, तब मात्र हङकङबाट भइरहेको सुनको यो अवैध धन्दाको खुलासा भयो।

गत वर्ष साउनमा यो अवैध सुन कारोबार सुरु हुँदै गर्दा नेपाल प्रतिनिधि सभा निर्वाचनको तयारीमा थियो, जुन कारोबार निर्वाचनको समय पार गर्दै नयाँ सरकार बनेको सात महिनासम्म निरन्तर चलेको देखिन्छ।

३५ पटक सिपिङ, ८५ लाख शुल्क
सिपिङ कम्पनीको हाङसेङ बैंकमा जम्मा भएको भुक्तानी रसिदहरु हेर्दा करिब एक वर्षमा कम्तीमा ३५ पटक उस्तै खालका शंकास्पद सामानहरू एउटै खालको प्याकिङमा सिपिङ भएको देखिन्छ। यो कारोबार अन्तर्गत एक पटकमा १५५ किलोसम्म तौलका सामानका बक्स प्रत्येक महिना दुईदेखि चार पटकसम्म हङकङबाट काठमाडौंका लागि सिपिङ भएको भेटिएको छ।

सिपिङ कम्पनीको हाङसेङ बैंक खातामा पहिलो पटक ७ सेप्टेम्बर २०२२ र अन्तिम पटक २० जुलाई २०२३ मा सिपिङ शुल्क बापतको रकम जम्मा भएको छ। ३५ वटा कारोबारको सिपिङ शुल्क जम्मा पाँच लाख एक हजार ९ सय ६० हङकङ डलर (करिब ८५ लाख रुपैयाँ) जम्मा भएको छ। ३५ वटा कारोबारमध्ये सबैभन्दा धेरै रकम ६६ हजार ७७२ हङकङ डलर काठमाडौंमा सुन बरामद हुनु अघिल्लो दिन १८ जुलाई २०२३ (२ साउन २०८०) मा भएको भेटिएको छ।

हङकङबाट क्यारी अन ग्लोबल लजिस्टिक्स लिमिटेडबाट सिपिङ भएका सामान काठमाडौंमा भने बुढानीलकण्ठमा कार्यालय रहेका रेडी ट्रेड प्रालि र दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, काठमाडौंकै माउन्ट एभरेस्ट ट्रेडर्स लगायत कम्तीमा आधा दर्जन कम्पनीले बुझेको कागजहरूबाट देखिन्छ।

सामान अर्डर र चलानीका कागज, सामाजिक सञ्जालमा भएको कुराकानी र सिपिङ शुल्क तिरेको रसिदहरू हेर्दा मोटरसाइकलका पार्ट्स, इलेक्ट्रिक वाच लगायतका सामान नेपाल पठाएको देखिन्छ। काठमाडौंमा मोटरसाइकलको ‘ब्रेक शु’ मा सुन भेटिएबाट ती सामानभित्र सुन राखेर पठाइन्थ्यो भन्ने खुलेको छ।

सिपिङ कम्पनीले हङकङ–काठमाडौं रुटमा उड्ने हङकङको क्याथे प्यासेफिक, हङकङबाट मलेसियाको क्वालालम्पुर हुँदै काठमाडौं उड्ने मलेसियन एयरलाइन्सबाट सिपिङ गरेको पाइएको छ।

हङकङको पार्केस स्ट्रिटबाटै उठाइन्थ्यो सुनका बक्स
काठमाडौंमा करिब सय किलो सुन बरामद भएको र त्यो हङकङबाट पठाइएको खबर १९ जुलाईको राति फैलिँदै गर्दा हङकङका धेरै नेपाली सायद मस्त निद्रामा थिए। अर्को बिहान उठ्दा यो खबर सुनेर छक्क पर्ने नेपालीहरूमा हङकङबाट कसरी यति ठूलो मात्रामा सुन नेपाल लैजान सम्भव भयो भन्ने जिज्ञासा पाइन्थ्यो।

तर दैनिक आफैँ ओहोरदोहोर गर्ने पार्केस स्ट्रिटबाटै यत्रो कारोबार भएको रहस्यबाट उनीहरू अझै अनविज्ञ नै थिए। 

विशेष योजना र तयारीमा गरिएको यो तस्करीको मुख्य केन्द्र हङकङको जोर्डनस्थित त्यही पार्केस स्ट्रिट हो, जुन स्ट्रिट आसपास नेपालीहरुको बाक्लो बसोबास छ। सिपिङ कम्पनीका प्रतिनिधिका अनुसार पार्केस स्ट्रिटको बिल्डिङ नम्बर १–११ पार्केस म्यान्सनबाट सबैभन्दा बढी सामान उठाएर विमानस्थल लगिएको थियो।

‘हरेक पटक भ्यान पठाएपछि मिस लीले पार्केस म्यान्सनबाट कार्गो तल सडकमा ल्याउँथिन्,’ ती प्रतिनिधि भन्छन्, ‘चुन वानको चाइ वान कोक स्ट्रिट गोल्डेन बियर इन्डस्ट्रियल सेन्टरको पहिलो तला र याउ मा तेइको क्यान्टन रोडस्थित ६१८–६३२ डिकसन बिल्डिङको पहिलो तला लीको अर्को पिक अप ठेगाना हो।’

काठमाडौंमा सुन समातिएपछि हङकङमै रोकियो १५२ किलोको सिपिङ
यसअघि झैँ बुधबार (१९ जुलाई) को उडानबाट काठमाडौं पठाउन जोर्डनको पार्केस स्ट्रिटबाट मंगलबार साँझ ७ बजेतिर सामान उठाइएको थियो। तर जब बुधबार बिहान १ बजे (करिब मध्यराति) मिस लीको फोन आयो, यो सिपिङ कारोबार रोकियो।

काठमाडौंमा मंगलबार (१८ जुलाई) साँझ नै करिब सय किलो सुन बरामद भए पनि त्यो खबर बुधबार राति मात्रै सार्वजनिक भएको थियो। तर, काठमाडौंमा आफूले पठाएको सुन पक्राउ परेको चाल हङकङबाट मोटरसाइकलका पार्टस्को नाममा यसरी सुन पठाउने गिरोहले मंगलबार राति नै पायो। त्यसपछि बुधबार काठमाडौं पठाउन ८ वटा काटनमा प्याक गरिएको १५२ किलो शंकास्पद सामानको अर्को खेप मध्यराति रोकियो।

‘बुधबारको उडानबाट काठमाडौं पठाउन मंगलबार साँझ ७ बजे नै जोर्डन एरियाबाट ८ वटा काटनमा प्याक गरिएको १५२ किलो सामान उठाइएको थियो,’ सिपिङ कम्पनीका ती प्रतिनिधिले भने, ‘बुधबार बिहान १ बजे अचानक मिस लीले कार्गो होल्ड गर्न भनिन्, जुन बुधबार दिउँसो फिर्ता लगियो।’

काठमाडौंमा आफैंले पठाएको करिब सय किलो सुन समातिएसँगै हङकङमा यो गिरोहले नेपाल पठाउन ठिक्क पारेको १५२ किलो सामान फिर्ता लिनुले त्यो पनि सुन नै थियो भन्ने प्रष्ट संकेत गर्छ।

मिस लीको मध्यरातको त्यो आकस्मिक फोनसँगै एक वर्षदेखि चलिरहेको सिपिङ कारोबार रोकियो। जुन कारोबार अन्तर्गत कति मात्रामा अवैध सुन काठमाडौं उतारियो र कति अन्य सामान पठाइयो भन्ने थप अनुसन्धानसँगै खुल्दै जानेछ। तर एक वर्षसम्म चलेको यो कारोबारभित्रको मुख्य धन्दा सुन तस्करी नै थियो भन्ने अन्तिम खेप रोकेबाट झन् स्पष्ट भएको छ।

सिपिङ कम्पनीले सामान्य सोधपुछपछि प्याक गरिएका सामान सिपिङ गर्ने गर्छन्, बक्सभित्र के छ भनेर उनीहरूले सबै चेकजाँच गर्न सक्दैनन्। हङकङमा सिपिङ व्यवसायमा संलग्न व्यवसायीहरूका अनुसार यसरी सामान पठाउने ‘डिल’ सिपिङ कम्पनीका प्रतिनिधिहरूले गर्छन्, कुन सामान पठाइँदै छ भन्नेबारे कम्पनीका प्रतिनिधि र व्यवस्थापन तहमा खासै जानकारी हुँदैन।

‘खासमा हङकङ कस्टमले चेकजाँच गर्दा थाहा पाउनु पर्ने हो, तर मोटरसाइकल वा अन्य सामानभित्र प्याक गरिएकाले ठूलो मेसिनबाट चेकजाँच गर्दा सुन नदेखिएको हुन सक्छ,’ एक सिपिङ व्यवसायी भन्छन्।

हङकङका चिनियाँ युवा मिस ली र लिन हुन् वा नेपाली रोशन लिम्बू, उनीहरू सायद शंकास्पद सामान पठाउने प्रतिनिधि मात्रै हुन्, यति ठूलो मात्रामा अवैध रुपमा सुन करोबार गर्ने व्यवसायी अरु नै कोही छन्।

‘हामीले सोध्दा मिस ली र रोशनले वास्तविक सिपरको नाम भनेनन्,’ हङकङको यो चिनियाँ सिपिङ कम्पनीका प्रतिनिधि भन्छन्, ‘यति मात्रै अनुमान गर्न सकिन्छ– सुन कारोबार चलाउने मुख्य व्यक्ति त नेपाली नै होलान्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .