समाज


तीन दिन ठूलो वर्षाको सम्भावना छैन, यस्तो छ मंगलबारसम्मको अनुमान

तीन दिन ठूलो वर्षाको सम्भावना छैन, यस्तो छ मंगलबारसम्मको अनुमान

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन ७, २०८० आइतबार ७:२५, काठमाडौँ

आज (आइतबार) समेत तीन दिन (मंगलबार) सम्म सबै प्रदेशमा पानी पर्ने भए पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिण अर्थात् नेपालदेखि टाढा रहेकाले र त्यो मंगलबारसम्म उत्तर (नेपालतर्फ) सर्ने सम्भावना नदेखिएकाले ठूलो वर्षा नहुने देखिएको हो।

भारतको दिल्लीदेखि बंगालको खाडी हुँदै पाकिस्तानसम्मको क्षेत्रलाई सामान्यतया मनसुनको न्यून चापीय रेखाको सरदर स्थान मानिन्छ।  

मौसम महाशाखाका अनुसार आजदेखि ३ दिनसम्म देशभर यस्तो छ वर्षाको सम्भावना-

साउन ७ गते आइतबार (आज)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

साउन ८ गते सोमबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। 

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

साउन ९ गते मंगलबार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .