समाज


दाङका आठ नाकामा प्रहरी शिविर स्थापना हुने

दाङका आठ नाकामा प्रहरी शिविर स्थापना हुने

नेपालखबर
माघ ७, २०७६ मंगलबार ५:२२,

दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ।

दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो। गृहमन्त्रालयको निर्णयानुसार तत्काल साना–ठूला गरी आठ नाकामा सशस्त्र प्रहरी बल शिविर स्थापना गर्न लागिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए।

यो आर्थिक वर्षभित्रै राजपुर गाउँपालिकाको वडा नं ६ को खङ्ग्रानाका, ७ को भौवानाका, भैसाही, दगमारा, खाङ्ग्रा, पटौली, सिरिया र गढवा गाउँपालिकाको वडा नं ८ मुसिनाको भौरीसालमा शिविर स्थापनाको तयारी भएको उनको भनाइ छ। ‘दाङका नाकामा प्रहरी चौकी नहुँदा त्यहाँका नागरिकले सुरक्षाको अनुभूति गर्न पाउनुभएको छैन’, उनले भने, ‘यसैलाई मध्यनजर गरी यो वर्ष आठ नाकामा प्रहरी शिविर स्थापना गर्न लागेका छौँ।’

प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको दरबन्दी रहनेगरी आठ स्थानमा शिविर स्थापना हुन लागेको रिजालले बताए। त्यस्तै यही वर्ष राजपुर गाउँपालिका र गढवा गाउँपालिकासँग समन्वय गरेर अन्य नाकामा पनि शिविर खडा गर्नका लागि प्रक्रिया अघि बढाएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ।

अबको केही समयमा राजपुर गाउँपलिकाको वडा नं ६ खाङ्ग्रानाकामा शिविर स्थापना हुन लागेको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए। अहिले दाङका ३१ नाकामध्ये दुई नाकामा मात्रै सुरक्षा शिविर थिए। यसबाट नाकावासीले सुरक्षाको अनुभूति गर्न पाएका थिएनन्। यसअघि कोइलावास प्रहरी चौकी र खाङ्ग्रा प्रहरी चौकी छन्। त्यसैगरी यसअघि गढवा गाउँपालिका–८ कोइलावासमा एक सशस्त्र शिविर, राजपुर गाउँपालिका–७ सुनपथरी नाकामा शिविर भए पनि प्रभावकारी हुनसकेको छैन। भारतीय सीमा सुरक्षा बलले भने प्रत्येक नाकामा शिविर खडा गरेको छ।

विसं २०२० मा राजा महेन्द्र र रोल्पाका सांसद बालारम घर्तीबीच भारतीय अवकाशप्राप्त गोर्खा आर्मीलाई बासस्थान दिने सहमति भएको थियो तर पछि रोल्पा, रुकुम, सल्यान, प्यूठान र दाङको पूर्वी भागबाट नाका क्षेत्रमा बसोबास गरेको स्थानीयवासी चक्रबहादुर खड्काले बताए। त्यहाँ बस्ती बसेपछि भारतीय सेनाबाहेक अन्य नागरिकलाई हटाउन सरकारले पहल गरे पनि त्यो सफल हुन सकेन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad