अभिनेता अनमोल केसीलाई प्रहरीले आजै छाड्ने भएको छ।
जिल्ला अदालत काठमाडौंले आजसम्ममात्रै हिरासतमा राख्न अनुमति दिएपछि उनलाई आजै छाड्न लागिएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।
‘बयान सकिसक्यो। प्रमाण लुकाउनपर्ने चिज केहीपनि छैन,’ उनले भने, ‘अनुसन्धान अधिकृतले हाजिरी जमानीमा छाड्नसक्छ। त्यही भएर आज उनलाई छाड्न लागिएको हो।’
केसीलाई प्रहरीले शुक्रबार साँझ काभ्रेको साँगाबाट पक्राउ गरिएको थियो। उनी प्रहरीको हिरासतमा बस्न नमानेपछि महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई अस्पतालबाटै आइतबार प्रहरी परिसर टेकु लगिएको थियो।
उनीविरुद्ध निर्माता सुदर्शन थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। टेकुमा उनले आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाएका थिए।
तर, चलचित्र ‘रावायण’को स्क्रिप्ट नै मन नगरेपछि खेल्दिनँ भनेको अवस्थामा आफ्नो खातातमा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्स तयार नभएको उनले बताएका थिए।
अनमोलले आफ्नो खातामा आएको १० लाख फिर्ता दिन खोज्दा निर्माता पक्षले लैजान अस्वीकार गरेको अवस्थामा आफूविरुद्ध उल्टै अन्याय गरिएको बताएका थिए।
उनले निर्माता पक्षले प्राविधिकसहितलाई भुक्तानी गरेको १ करोड ५ लाख रुपैयाँसमेत आफूबाट तिराउन खोज्नु अन्याय हुने पनि बताएका थिए।
Shares

प्रतिक्रिया