समाज


ग्वार्कोमा समयमै ‘फ्लाइ ओभर’ निर्माण सक्न दैनिक २१ घण्टासम्म काम

ग्वार्कोमा समयमै ‘फ्लाइ ओभर’ निर्माण सक्न दैनिक २१ घण्टासम्म काम

नेपालखबर
असोज १८, २०८० बिहिबार ६:२८, काठमाडौँ

निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ। 

केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा अघि बढाइएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।

आगामी फागुन १२ गतेसम्म निर्माण सक्ने गरी अहिले राति पनि काम भइरहेको केन्द्रका इञ्जिनियर राकेश महर्जनले बताए। ‘बिहान सबेरै काम सुरु गरेर रातिसम्म काम भइरहेको छ’, उनले भने, ‘कामदारले सिफ्टअनुसार कहिलेकाहीँ रातभर र कहिलेकाँही राति १२ बजेसम्म काम गरिरहेका छन्।’ 

आगामी पाँच महिनामा सडकको बीचको पुल निर्माण पूरा हुने र दायाँबायाँ पहुँच सडकको काम पनि समानान्तररुपमा गर्न सकिने उनले बताए । उनले भने, ‘अहिले काम गरेको गति हेर्दा निर्माण व्यवसायीले पनि काम समयमै सकाउने गरी काम भइरहेको देखिन्छ।’

हाल निर्माणस्थलमा पाइल (जगमा राखिने कुरा) को काम भइरहेको छ । भदौमा उपकरण आएपछि यसको काम भइरहेको इञ्जिनियर महर्जनले जानकारी दिए । अहिलेसम्म आठ पाइल सकिएको छ । एउटा पाइल बनाउन कम्तीमा दुई दिन लाग्ने उहाँको भनाइ छ । एउटा साइडमा १२ र अर्कोमा १२ गरी जम्मा गरेर २४ पाइल चाहिनेमा अहिलेसम्म सात पाइलको काम सकिएको हो।

‘फ्लाइ ओभर’को माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) लागि आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ । पाइलको समस्याका कारण दुईरतीन महिना काम रोकिए पनि अहिले निरन्तर भइरहेको उनले बताए।

अब पुल चढ्ने ‘र्‍याम्प वाल’ बनाउन बाँकी रहेको इञ्जिनियर महर्जनले बताए । गाडी चढ्नका लागि आवश्यक आरइ वाल (पर्खालको प्रकार) चाहिने र त्यसका लागि ‘प्यानल’ तयारी अवस्थामा छ।

निर्माणको समयमा बीचको लेन बन्द भए पनि अहिले ट्राफिक प्रहरीले छेउछेउका लेनबाट सवारीसाधन नियमित सञ्चालन गरेको छ । सवारीसाधन आवागमनमा सकेसम्म कम बाधा हुने गरी निर्माणको काम भइरहेको केन्द्रले जनाएको छ।

काठमाडौँ उपत्यकाको चक्रपथको ट्राफिक चापलाई व्यवस्थापन गर्न सरकारले ‘फ्लाइ ओभर’ निर्माण अघि बढाएको हो । फ्लाइ ओभर निर्माणपछि सातदोबाटो(कोटेश्वर खण्ड, मङ्गलबजार(इमाडोल हुँदै लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित र व्यवस्थित आवागमन गर्न सुविधा हुने अपेक्षा गरिएको छ।

‘फ्लाइ ओभर’मा बालकुमारीतर्फ तीन सय २० मिटर लम्बाइको र सातदोबाटोतर्फ एक सय ८५ मिटरको र्‍याम निर्माण गर्न लागिएको छ। विसं २०७८ फागुनमा आशीष समानान्तर रेलिगेर जेभीले १७ करोड छ लाखमा निर्माणको जिम्मा पाएको थियो। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad