ad ad

समाज


सीआईबीमा महराको ४५ मिनेट, बयानमा भने– के गर्न मिल्छ हेरिदिनू भनेर भन्सार प्रमुखलाई फोन गरेँ

सीआईबीमा महराको ४५ मिनेट, बयानमा भने– के गर्न मिल्छ हेरिदिनू भनेर भन्सार प्रमुखलाई फोन गरेँ

उजिर कार्की
असोज २१, २०८० आइतबार १६:१५, काठमाडौँ

इलेक्ट्रिक सिगरेट (भेप) मा तस्करले ल्याएको सुन भन्सारले पक्राउ गरेपछि आफूले टेलिफोन गरेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले स्वीकार गरेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कागज गर्दै उनले टेलिफोन गरेर मिल्छ भने हेरिदिनू भनेको स्वीकार गरेका हुन्। गत सोमबार सीआईबीले महरालाई बयान कागज गर्नका लागि कार्यालयमै बोलाएको थियो।

साँझ सीआईबीमा पुगेका महराले ४५ मिनेट त्यहाँ बिताएका थिए। सोही क्रममा उनको कागज गराइएको छ। 

२०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हङसङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट ल्याएका थिए। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा उक्त सामान पक्राउ गरिएको थियो। 

‘भन्सारले सामान पक्राउ गरेपछि दावाजिन वाङले उक्त समान त्रिवि भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझिदिनु पर्यो भनि मलाई भनेको तथा मैले अरुण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो कानुन बमोजिम के गर्न मिल्छ हेरिदिनु होला भनि फोन गरेको हो’, महराले सीआईबीमा गरेको कागजमा उल्लेख छ। 

त्यसपछि कृष्णबहादुर महराका छोरा राहुल भन्ने रेशम महरा भन्सार प्रमुखको सम्पर्कमा गएको पनि बाबु कृष्णबहादुरले कागजमा खुलाई दिएका छन्। 

‘मेरा छोरा राहुल भन्ने रेशम महरा के कारणले इलेक्ट्रिक सिगरेट (भेप्स) जफत भएको रहेछ, कानुन बमोजिम मिल्ने भए सहयोग गरिदिनु भनि अरुण पोखरेलको सम्पर्कमा गएका हुन्’, महराको कागजमा उल्लेख छ। 

सीआईबी स्रोतका अनुसार महराले चिनियाँ नागरिक दावाजिन वाङसँग पुरानो चिनजान भएको बताएका छन्। दावाजिनले महरालाई फलफुल व्यापारीको रुपमा नेपालमा व्यापार गरिरहेको भनि चिनाएको र उनीसँग टेलिफोनमा कुरा हुने गरेको पनि महराले बताएका छन्।

अन्य विषयमा कुनै कुरा नहुने र कुनै किसिमको सम्बन्ध पनि नरहेको महराको दाबी छ। 

कृष्णबहादुरका छोरा राहुल भने सीआईबीको हिरासतमा छन्। आइतबार थप म्याद लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणी नेउपानेले बताए।

भदौ १३ गते पक्राउ परेका राहुलको हिरासतमा राख्ने म्याद शुक्रबार सकिएको थियो। 

सीआईबीले उनीसहित चार जनालाई प्रतिवादी बनाउने तयारी गरेको छ। उनीहरुविरुद्ध भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ। तर पछि जिल्ला सरकारी वकिलले कसुर थपघट गर्न सक्ने छ। 

यस्तो थियो घटना
चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सार कार्यालयले गत पुसमा समातेको थियो। 

तस्करहरूले भन्सारका कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा इलेक्ट्रिक सिगरेट नै राखिदिएका थिए।

भन्सारले सुरुमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिको दबाब लगाएको खुलेको छ। जसमा महराका बाबुछोरा समेत जोडिएका हुन्।

चिनियाँ नागरिकहरु लुइ र दावजिङ वाङसँग कृष्णबहादुर महराको पटकपटक सम्पर्क देखिएको छ।

महराका छोरा राहुलको पनि दावजिङसँग सम्पर्क देखिएको छ। जुन कुरा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा खुलाएको छ। 

सुन ल्याउने समूह, भन्सारबाट सुन चोर्ने समूह र सुन बेच्ने समूहका छुट्टाछुट्टै तीनवटा चार्ट अदालतमा पुगेको छ। महराका बाबुछोराको कनेक्सन सुन ल्याउने र सुन बेच्ने समूहसँग देखिएको छ। 

सुन ल्याउने समूहको कनेक्सनमा ८ जना देखिएका छन्। जसमा महराका बाबुछोरासँगै दुई चिनियाँ, लोकेन्द्र पौडेल, श्याम शाह, अश्विन, खुवाप्रसाद न्यौपानेको कनेक्सन रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 

न्यौपानेमार्फत भन्सारबाट सुन चोरेर बेच्ने समूहसम्म कनेक्सन पुगेको छ। दिनेश बस्नेत, निर्मल विक, रेवन्त खड्का, दिपेश बस्नेत, गोपाल सुवेदी, विश्वराम खड्काको कनेक्सन देखिएको छ।

कृष्णबहादुर महरा र राहुल महरा भन्सार अधिकृतको बयानमा पनि जोडिएका छन्। भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले बयानका क्रममा उक्त सुनको बारेमा महराका बाबुछोराले नै चासो राखेको बताएका छन्।

भन्सार अधिकृत श्रेष्ठलाई भेट्न सुरुमा श्यामसुन्दर साह पुगेका थिए। इलेक्ट्रिक सिगरेट जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगको लागि ल्याएको भन्दै राजस्व दाखिला गरी जाँचपास गरिदिनु पर्यो भनी अनुरोध गरेका थिए। 

तर अधिकृत श्रेष्ठले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको बताएका छन्। उनी फर्किएको केही समयपछि कृष्णबहादुर महराले आफूलाई टेलिफोन गरी भन्सार जाँचपास गरिदिन भनेको श्रेष्ठको बयान छ। यही विषयमा कृष्णबहादुरका छोरा राहुलले पनि फोन गरेर जफत भएको उक्त इलेक्ट्रिक सिगरेटको लिलाम प्रक्रियाबारे सोधेको श्रेष्ठले बयान दिएका छन्। 

यसरी फोन गर्ने कृष्णबहादुर महरा थिए। महरासँग कुरा भइसकेपछि पनि काम नभएपछि उनका छोरा राहुलले आफूलाई फोन गरेको भन्सार अधिकृतले बयान दिएका छन्। 

सोही बयान समेतका आधारमा महरा बाबुछोराको कनेक्सन देखिएपछि सीआईबी उक्त मुद्दामा पुन अनुसन्धान गर्न बाध्य भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .