ad ad

समाज


इजरायलमा १० नेपाली मारिँदा बल्झियो इराक र अफगानिस्तानको चोट

इजरायलमा १० नेपाली मारिँदा बल्झियो इराक र अफगानिस्तानको चोट

सागर न्यौपाने
असोज २३, २०८० मंगलबार ९:२०, काठमाडौँ

रोजगारीको खोजीमा नेपाली युवाहरु विदेशिने क्रम बढ्दो छ। राम्रो तलबको लोभमा नेपालीहरु असुरक्षित गन्तव्यमा पनि जाने गरेका छन्। यसक्रममा नेपाली कामदारले भोगेको कष्टको कुनै हिसाब छैन। त्यसमाथि ठूला आतंकवादी आक्रमणको निसानामा समेत नेपालीहरु पर्ने गरेका छन्। शनिबार यस्तै एक घटना दोहोरियो।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान संकायमा अन्तिम वर्ष अध्ययनरत ४९ जना विद्यार्थी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत एक महिना अघि मात्रै इजरायल पुगेका थिए। तीमध्ये १० जना विद्यार्थीको प्यालेस्टाइनी उग्रवादी समूह हमासको आक्रमणमा परी ज्यान गएको छ।

यो घटनाले १९ वर्षअघि इराक र ७ वर्षअघि अफगानिस्तानमा भएको आक्रमणले दिएको चोटलाई आलो बनाएको छ। यी तीन घटनामा मात्र ३५ नेपालीले ज्यान गुमाइसकेका छन्। 

त्यो कहालीलाग्दो भदौ १५
इराकी आतंककारी समूह अन्सर अल सुन्नाले २०६१ भदौ १५ गते इराकमा रोजगारीका लागि पुगेका १२ नेपालीलाई नियन्त्रणमा लिएर बन्धक बनाई क्रुर तवरले हत्या गरेको थियो।

रोजगारीका लागि इराक पुगेका नेपाली युवा आतंककारीको कब्जामा परेका थिए। 

जसमा रमेश खड्का, सञ्जयकुमार ठाकुर, झोकबहादुर थापा, जीतबहादुर थापा, मंगलबहादुर लिम्बू, ललन ठाकुर, विष्णुहरि थापा, राजेन्द्रकुमार श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी, बुद्ध ठाकुर र मनोज ठाकुर थिए।

नियन्त्रणमा लिएको १२ दिनपछि ती युवाको अमानवीय हत्या भएको थियो। 

भदौ ४ गते आतङ्कवादीको नियन्त्रणमा रहेका उनीहरुले मुक्त गर्न गुहार मागेका थिए। 

तर, सरकारले ती नेपालीलाई मुक्त गरेर सकुशल फर्काउन सकेन।

नेपालका विभिन्न ठाउँका ती युवालाई मुनलाइट नामक मेनपावर कम्पनीले इराक पुर्‍याएको थियो। 

इराकमा आतंककारी गतिविधि बढिरहेकोले त्यसबेला नेपालबाट इराक जान प्रतिबन्ध लगाइएको थियो। 

तर, सरकारले लगाएको प्रतिबन्धको वास्तै नगरी मानव तस्करले जोर्डनको बाटो प्रयोग गरे। उनीहरुलाई जोर्डनमा एक पाँचतारे होटेलमा कुकको काम गर्न भन्दै मेनपावर कम्पनीले लगेको थियो।

रीतपूर्वक निवेदन प्राप्त भएको भन्दै वैदेशिक रोजगार विभागले २०६१ असार १६ मा जोर्डन लैजान श्रम स्वीकृति दियो। असार १९ मा उनीहरु जोर्डनका लागि उडे। 

जोर्डनमा डेढ महिना राखेर मानव तस्करहरुले उनीहरुलाई भदौ ४ गते इराक प्रवेश गराएको मात्र थियो, उनीहरु आतङ्कवादी समूहको कब्जामा परिहाले।

नियन्त्रणमा लिएको ११ दिनपछि उनीहरुलाई आतंकवादीले क्रुर हत्या गरेको दृश्य सार्वजनिक भयो। सो दृश्य सार्वजनिक भएपछि आक्रोशित नेपालीले भदौ १६ गते बिहानैदेखि मेनपावरमाथि आगजनी, कार्यालय, सवारीसाधन तोडफोड गरे। 

आन्दोलनले उग्ररुप लियो। काठमाडौं उपत्यकामा बढी असर प¥यो। झण्डै १ अर्ब बढीको भौतिक सम्पत्ति क्षति भएको थियो। 

अफगानिस्तानले दिएको चोट
२०७३ असार ६ गते अफगानिस्तानको राजधानी काबुलमा आतंवादवादी समूह तालिबानले आत्मघाती आक्रमण गर्दा १३ नेपाली मारिए। 

क्यानेडेली दूतावासका सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु चढेको मिनिबसमा असार ६ गते बिहान आत्मघाती आक्रमण हुँदा १४ जनाको मृत्यु भएको थियो जसमा १३ नेपाली परेका हुन्। 

निवासबाट क्यानडेली दूतावास जाँदै गर्दा सडकमा सो आक्रमण भएको थियो।

घटनामा काठमाडौंका चन्द्रबहादुर राना मगर, वीरबहादुर सुवेदी क्षत्री र हरिबहादुर बरुवाल क्षेत्री, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला र लिलबहादुर गुरुङ, लमजुङका अमृतबहादुर थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्याङ्जाका सुकबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिंह थापा, पर्वतका नवीनबहादुर क्षेत्री र सुनसरीका अंकुर तामाङ र अर्का एक जना मारिए। 

इजरायलमा दोहोरियो दुखान्त
शनिबार बिहान (असोज २०) हमासले इजरायलमाथि आक्रमण गर्दा कृषि अध्ययन र काम गर्न १० नेपाली मारिएका छन्। एक जना बेपत्ता छन्। ४ जना घाइते भए।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि संकाय अध्ययनरत ४९ विद्यार्थी इजरायल पुगेका थिए।

मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६ का गणेशकुमार नेपाली, कैलाली, बौनिया–३ का आशिष चौधरी, दार्चुला, लेकम–५ का दिपेशराज विष्ट, धनुषा, सपही–६ का आनन्द साह, सुनसरी, मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी, पचनली–३ का राजन फुलारा, डोटी, लामिखाल–८ का पदम थापा, सल्यान, शारदा–३ का प्रवेश भण्डारी र दार्चुला, मालिकार्जुन–४ का लोकेन्द्र सिं धामी रहेका छन्।

सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङ दंगीशरण–३ का प्रविण डाँगी, कैलाली, टीकापुर–९ का धन बहादुर चौधरी र गोरखा, गोरखा–८ का हिमाञ्चल कट्टेल घाइते छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।

विगतमा नेपालीहरुले विश्वका कठिनतम लडाइँहरुमा सैनिकका रुपमा भाग लिने गर्थे। अंग्रेजको पक्षबाट नेपालीहरुले विश्वयुद्धहरुमा लडेर ठूलो संख्यामा ज्यान गुमाएका थिए।

अहिले सेनामा जानेहरुको संख्या कम छ। तर, रोजगारीका लागि ठूलो संख्यामा युवाहरु असुरक्षित गन्तव्यमा जान विवश छन्। जसका कारण आफ्नो मुलुकको सरोकार नै नभएको द्वन्द्वमा नेपालीहरु मारिने क्रम रोकिएको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .