ad ad

समाज


एनआरएनए २० वर्ष पुग्दाको हर्ष : गैरआवासीय नागरिकता

एनआरएनए २० वर्ष पुग्दाको हर्ष : गैरआवासीय नागरिकता

वसन्त अर्याल
असोज ३०, २०८० मंगलबार १८:३०, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको २० वर्षमा गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण सुरु भएको छ। एनआरएनए स्थापनादेखि नै महत्वपूर्ण एजेन्डा रहेको नागरिकता २० वर्षमा पूरा भएको हो। 

२०७२ को संविधानले कल्पना गरेको गैरआवासीय नेपालीलाई नागरिकता २०८० असोजबाट वितरण सुरु भएको छ। पहिलो नागरिकता पाउनेमा गैरआवासीय संघका अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसीले लिए।

सरकारले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुनेगरी नागरिकता वितरण गरेको छ। तीन पुस्ते विवरण देखाएसँगै गैरआवासीय नेपालीले नागरिकता पाउन सक्ने कानुनी व्यवस्था गरिएको छ। 

गैरआवासीय नेपालीको विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक पटकका नेपाली विश्वका जुनसुकै देशमा पुगे पनि नेपाली नै हुने बताए। 

‘नागरिकताको कथा छुट्टै छ। तर आजबाट नागरिकता पाउन सक्ने अवस्था बनेको छ,’ राष्ट्रपति पौडेलले भने। 

संघीय संसदले पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न सुझाव सहित संसदमै फिर्ता गरेकी थिइन्। संसदले पुनः पारित गरे पनि उनले प्रमाणीकरण गरिनन्। 

राष्ट्रपति बन्नेबित्तिकै पौडेलले सो विधेयक प्रमाणीकरण गरेका थिए। त्यसपछि सरकारले नागरिकता नियमावली बनाएर वितरण थालेको हो। 

‘गैरआवासीय नेपालीको रुपमा पहिलो नागरिकता पाउँदा खुसी भएको छु,’ अध्यक्ष कुल आचार्यले भने, ‘एनआरएनए अभियानको महत्वपूर्ण उपलब्धि हो।’

गैरआवासीय नेपाली करिब ५० लाख छन्। त्यसमा १५ लाख बढीले विदेशको नागरिकता लिएको अनुमान छ। विदेशी नागरिकता लिएका नेपालीले मात्रै एनआरएनए नागरिकता पाउन सक्ने छन्।

अध्यक्ष कुल आचार्यले नागरिकताको मागलाई सरकारले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे। उनले अब गैरआवासीय नेपालीले पनि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गर्नु पर्ने बताए। उनले आफू जन्मे हुर्केको ठाउँको माटो बिक्री नगर्न पनि आग्रह गरे।

एनआरएनएका कार्यकारी अध्यक्ष डा.बद्री केसीले एक पटकको नेपाली सधैंको नेपाली रहेको प्रमाणित हुनेगरी नागरिकता वितरण भएकोमा खुसी व्यक्त गरे। 

ठूला परियोजनामा लगानीको आशा
गैरआवासीय नेपालीले उठाएका मुद्दा सम्बोधन हुँदै गर्दा उनीहरुले ठूला परियोजनामा लगानी गर्ने आशा सरकारले गरेको छ। हालसम्म एनआरएनले करिब १ खर्बको लगानी भित्र्याएको अनुमान गरिए पनि कुनै क्षेत्रमा ठूलो प्रभाव पार्नेगरी लगानी भित्रिएको छैन। 

राष्ट्रपति पौडेलले एनआरएनले नेपालको अर्थतन्त्र सन्तुलनमा राख्न सहयोग पुर्‍याउनु पर्ने बताए। नेपालको जलविद्युत विश्वमा निर्यात गर्न र नेपालमा विश्वभरबाट पर्यटक भित्र्याउन एनआरएनएले योगदान गर्न सक्ने उनको भनाइ छ।

‘एनआरएनहरुले विदेशमा विकसित नयाँ प्रविधि नेपाल भित्र्याइ योगदान गर्न सक्छन्,’ राष्ट्रपति पौडेलले भने। 

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हासिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताए।

उनले एनआरएनहरुले विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोले राष्ट्र समृद्ध बनाउने उदेश्यले एनआरएनएको स्थापना भएको बताए। कुनै नेपाली मात्रै समृद्ध नभई देश नै समृद्ध आवश्यक रहेको बताए। 

उनले १० अर्बको नेपाल डेभलपमेन्ट फन्ड सञ्चालन गर्न कार्यविधि बन्न बाँकी रहेको जानकारी दिए। वैदेशिक रोजगारीमा गएका नेपालीले सहजै पासपोर्ट पाउने व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २ दशकपछि परिणाम देखिने केही आयोजनाको सुरुवात भएको बताएका छन्। अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले एनआरएनएले नेपालमा अझै ठूलो परियोजना सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए।

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण थालेकोमा धन्यवाद व्यक्त गर्दै उनले लगानीको लागि कुनै अप्ठेरो सिर्जना भए सहजिकरण गर्ने बताए। 

‘नेपालमा लगानीको प्रचुर सम्भावना छ,’ ढकालले भने, ‘जुनसुकै क्षेत्रमा लगानी गर्नको लागि निजी क्षेत्र सहकार्य गर्न तयार छ।’

८७ देशमा विस्तार, ५९ देशका प्रतिनिधि काठमाडौंमा 
२००३ अक्टोबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भैसकेको छ। अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी भएका छन्। ५९ मध्ये ११ देशमा अनलाइन भेरिफिकेसनको आधारमा निर्वाचन भएको थियो।

काठमाडौंमा उपस्थित प्रतिनिधिले मतदान स्थलमै उपस्थित भएर भोट गर्ने छन् भने विदेशमा रहेका प्रतिनिधिले आफ्नै घरबाट गर्न सक्छन्। 

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको छ। हालका अध्यक्षसहित उपाध्यक्ष पनि एनआरएनएको नेतृत्वको लागि प्रतिस्पर्धामा उत्रिएका छन्। 

संघको निर्वाचन समितिका अनुसार अध्यक्षमा डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गरेका छन्। 

अधिवेशनसँगै एनआरएनएको तेस्रो ज्ञान सम्मेलन पनि हुँदै छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यता अधिवेशनको समापन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .