ad ad

समाज


घर-आँगनदेखि अन्तरिक्षसम्म अब्बल चिनियाँ महिला

घर-आँगनदेखि अन्तरिक्षसम्म अब्बल चिनियाँ महिला

चीनको कफी रिसर्च सेन्टरकी कर्मचारी (कालो कोट) र भाषा अनुवादक अर्की युवती। तस्बिर : नेपालखबर


ज्ञानेन्द्र खड्का
कात्तिक १५, २०८० बुधबार १०:१६, खुनमिङ, युन्नान (चीन)

झट्ट हेर्दा करिब ४५ वर्ष आसपासकी देखिने उनी युन्नान प्रान्तको फैलिँदो सहर बाओसानको सडकमा बिहान पौने ७ बजे आइपुगिन्। चिनियाँ घरेलु सामग्रीबाट बनेको टोपी र सफाइकर्मीको पोशाकमा देखिएकी उनको हातमा लामो कुचो थियो।

सडकमा सवारी साधन र मानिसको चहलपहल सुरु हुनुअघि नै आइसकेकी उनको दायित्व थियो, बाओसानस्थित जोए लानटिङ होटल क्षेत्रको फुटपाथ बढारेर चिटिक्क पार्ने।

अंग्रेजी भाषा बोल्न नजान्ने उनीसँग हामीले दोभाषेमार्फत् केही कुरा गर्‍यौँ। उनले भनिन्, 'हामी यहाँको सडक सफा गर्न उज्यालो नखस्दै आइपुग्छौँ। उज्यालो नभई सडकमा निस्किँदा पनि हामीले डराउनु पर्दैन। १० वर्षदेखि यहाँको सडक र फुटपाथ बढारिरहेकी छु। अहिलेसम्म कुनै असुरक्षा र अप्ठ्यारो भोगेकी छैन।' 

सुरुमा नाम बताउन अप्ठ्यारो मानेकी उनले हामीले अनुरोध गरेपछि झियायो याङका रुपमा आफ्नो परिचय दिइन्। उनले बिहान साढे ७ नहुँदै आफ्नो भागमा पर्ने सडकको किनारा र फुटपाथ बढारेर चिटिक्क पारिसकिन्। 

बाओसानको संरचना काठमाडौंको जस्तै छ। वरिपरि डाँडाहरूले घेरेको। तर पनि यो सहर सफा र चिटिक्क छ। तीव्र गतिमा अग्ला भवन र अन्य पूर्वाधार बने पनि धुवाँधुलोको तनाव छैन।

तर बढार्नेहरूलाई सडक किनारामा र डिभाइडरमा रोपिएका रुखहरूबाट झर्ने पातले दु:ख दिन्छन्। रातभर सडक र फुटपाथमा खस्ने ती पातहरूलाई याङजस्तै दर्जनौँ महिला सफाइकर्मीले बढारेर उठाइसक्छन्।

अर्की करिब ३५ वर्षजतिकी देखिने महिला पनि बाओसानको सडकमा कुचोसहित भेटिइन्। उनी त अझ बिहान साढे ६ मै सडकमा थिइन्। चीनको दक्षिण-पूर्वी क्षेत्रमा अवस्थित यस सहरमा अहिले बिहान सवा ७ तिर मात्रै छ्याङ्ग उज्यालो खस्छ।

सडक सफा गरिरहेकी महिला

यस्तोमा उनी २४ घण्टा बत्तीले उज्यालो सडकलाई सफा गर्न उज्यालो नखस्दै आइसकेकी थिइन्। उता युन्नानको राजधानी सहर खुनमिङमा दैनिक सफाइ कार्यक्रम चलाउने पनि महिला नै थिए। 

'बिहानै सडक-फुटपाथ सफा गर्न सकियो भने अरु काम पनि सजिलो हुन्छ', उनले अनुवादकको सहयोगमा भनिन्, 'यहाँ हामीलाई कुनै किसिमको हेपाइ छैन। हाम्रो क्षमताले सक्ने काम गर्न पाएका छौँ। पाएको रोजगारीलाई हामी निभाउन राम्रोसँग खटिन्छौँ। बिहान-बेलुका या राति घरबाट बाहिर निस्किँदा कुनै किसिमको डर मानिरहनु पर्दैन।'

यी त भए चिनियाँ सडकलाई चिटिक्क बनाउने महिलाका कुरा। बिहान साढे ७ बजेदेखि खुलिसक्ने विद्यालयमा आफ्ना नानीबाबुलाई कार, मोटरसाइकल र स्कुटरमा राखेर ल्याउनेमा धेरैजसो महिला नै देखिन्छन्।

बाओसानस्थित सुविधासम्पन्न सरकारी विद्यालयमा आफ्नी छोरीलाई बिहान उज्यालो भइनसक्दै ल्याउनेमध्ये एक थिइन्, जी झियाओडी। बा‌ओसानस्थित कफी रिसर्च सेन्टरमा कफी बारिस्टाको भूमिका निर्वाह गरिरहेकी उनले उज्यालो भएलगत्तै छोरीलाई कारमा राखेर स्कुलको गेटमा ल्याइपुर्‍याइन्।

'छोरीलाई स्कुल ल्याएँ। अब आफ्नो काममा जानु छ', उनले सुनाइन्, 'बाओसान क्षेत्रको कफी विस्तारै विश्वमाझ प्रख्यात हुँदै छ। यहाँको कफी खेतीदेखि रिसर्च सेन्टरमा समेत पुरुषसँगै महिलाको उपस्थिति करिब बराबरी छ।'

बिहानै सडक बढार्दै
चीनको कृषि क्षेत्रको अध्ययनका लागि बोलाइएका एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका प्रतिनिधि खुनमिङ विमानस्थलबाट बाओसान विमानस्थलसम्मको यात्राका क्रममा पनि पाइलट महिला नै थिए। चाइना इस्टर्न एयरलाइन्सको जहाज उडाउने मुख्य पाइलट महिला थिइन् भने चालक दलका अन्य सदस्य पुरुष देखिन्थे। 

युन्नानको राजधानी खुनमिङ सहरमा एकजना ५० वर्षीया महिला ट्याक्सी चालक भेटिइन्। प्रसन्न मुद्रामा देखिएकी उनी सुरुमा हामीसँग बोल्न हिच्किचाइन्।

उनका श्रीमान् पनि ट्याक्सी चालक नै थिए। घरव्यवहार चलाउनेसहितका सबै मुख्य कामको नेतृत्व उनैले गर्छिन्। 'म र श्रीमान् दुवैजना ट्याक्सी चलाउँछौँ। हामी सुखी र सन्तुष्ट छौँ', ट्याक्सीको स्टेरिङ बटार्दै यी झियाङले सुनाइन्, 'हामीले मिलेर अपार्टेमन्टमा फ्ल्याट किनेका छौँ। छोरालाई अहिले इन्जिनियर पढाइरहेका छौँ।'

उनलाई आफू घरमै बसेर पतिलाई मात्रै काममा लगाउन मन लाग्दैन। त्यहीकारण उनीहरू दैनिक राम्रो आम्दानी गरेर सुखमय जीवन बिताइरहेका छन्। 

मुस्कुराउँदै उनले सुनाइन्, 'चीनमा हामी महिलाहरू सम्हाल्छौँ घरबार, कसैले रोकछेक गरेर रोकिने हाम्रो संस्कार होइन। हामी काममा विश्वास गर्छौँ। पतिभन्दा म नै सक्षम छु भन्ने लाग्छ । अरू चिनियाँ दिदीबहिनीले पनि सायद त्यही सोच्छन् होला।'

चिनियाँ महिलाहरू घरमा दबिएर, गृहिणी भएर बस्न रूचाउँदैनन्। उनीहरू सकेसम्म आफ्नो खुट्टामा आफैं उभिन चाहन्छन्। नेपालबाट आएर यहाँको संस्कृति बुझ्नेहरू चिनियाँ समाजलाई मातृसत्तात्मक भन्न रुचाउँछन्।

तर नेपालमा त्यसको ठ्याक्कै विपरीत अझै पनि पितृसत्ता हावी छ। महिलाहरू रातसाँझ घरबाहिर निस्किँदा अनेक स्पष्टीकरण दिनुपर्ने हुन्छ।

युनान विश्वविद्यालय दक्षिण एसिया अध्ययन विभागका अध्यापक भरत शर्मा चीनको सामाजिक र आर्थिक क्षेत्रको नेतृत्व महिलाले गरिरहेका बताउँछन्। उनको बुझाइमा चीनको समृद्धिको नेतृत्व महिलाले नै गरिरहेका छन्।

खुनमिङको सडकमा ट्याक्सी ड्राइभर यी झियाङ

राजनीतिक क्षेत्रमा महिलाको उपस्थिति कमजोर छ। तर सामाजिक, आर्थिक र प्राविधिक क्षेत्रमा उनीहरूको उपस्थिति पुरुषको भन्दा बलियो छ।

चिनियाँ महिलामा अन्याय सहेर नबस्ने स्वभाव छ। त्यसैले सानातिना विवादमा पनि पछिल्लो समय सम्बन्धबिच्छेदको दर बढ्दै गएको चिनियाँ अधिकारीहरू बताउँछन्। 

'चीनमा महिला नै प्रमुख हुन्। यहाँ महिलालाई ठूलो सम्मान छ', युन्नान विश्वविधालय दक्षिण एसिया अध्ययन विभागका अध्यापक भरत शर्मा भन्छन्, 'चीनमा कयौँ स्थानमा केटाले केटीलाई दाइजो दिनुपर्छ। यहाँ नेपालको ठीक उल्टो अभ्यास छ। महिलालाई सम्मान गरिने भएकाले उनीहरूसँग रुखो या झर्किएर पनि बोल्ने गरिँदैन।'

शर्माको बुझाइमा चिनियाँ महिलालाई नेपालमा पूजा गरिने देवीबराबरको सम्मान छ। 'चिनियाँ महिला देवी हुन्। यहाँ केटी पाउन केटाले धेरै सेवा गर्नुपर्छ', उनले भने, 'यहाँको गाउँदेखि सहरसम्मको सबै संरचना महिलामैत्री छ। सरकारी र गैरसरकारी क्षेत्रको नेतृत्वमा महिला पुगेका छन्।'

बाओसानका कफी रिसर्चरद्वय

चीनमा पनि युन्नानी महिलाहरू अझै मिहिनेती मानिन्छन्। 

गाउँहरूमा पुरुषले घरमा बच्चा हेरचाह गरिरहेको र महिलाको लर्को खेतबारीमा देख्न सकिन्छ। 

चीनमा लैंगिक विभेद नभएको होइन। तर महिलाले कुनै पनि कुराको निर्णयका लागि आफ्नो परिवारको समर्थन र धेरै सम्मान पाउँछन्।

युन्नान त चीनको मातृवंशीय र मातृसत्तात्मक समाजका रुपमा प्रख्यात छ। चीनमा पितृसत्तासँगै मातृसत्ताको पनि अभ्यास समान रुपमा देख्न पाइन्छ। 

सम्बन्धित सामग्री

चिनियाँ सहरमा कार ड्राइभिङ गर्नेहरू पुरुषकै हाराहारीमा महिलाहरू देखिए। महिलाहरू आफूलाई घरभित्रै सीमित गर्नेभन्दा सार्वजनिक जीवनमा पकड बलियो बनाउनेतिर लागेका छन्।

युन्नानको राजधानी खुनमिङस्थित यु च्वाइस होटलमा कार ड्राइभ गरेर आइपुगेकी यीन सीनझियाङ युन्नान एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसकी एसोसियट रिसर्चर हुन्।

उनीसँग चिनियाँले पिउने हरेक प्रकारका चियाको ज्ञान छ।

'चीनका महिलाहरू चियाका पारखी पनि हुन्। उनीहरू आफ्ना पाहुनाका लागि सात प्रकारका चिया बनाएर सत्कार गर्छन्', उनले सुनाइन्, 'हाम्रो सांस्कृतिक परम्पराका कारण महिलालाई पुरुषभन्दा कमजोर मान्ने गरिँदैन। त्यसैले हामी समाजका हरेक क्षेत्रमा पुरुषभन्दा अब्बल छौँ।' 

आफूलाई मिस याङका रुपमा चिनाउने ३५ वर्षीया युवती बाओसानको कफी अरेबिका रिसर्च सेन्टरमा कार्यरत छिन्। ६ देशको भ्रमण टोली पुग्दा आधारभूत अंग्रेजी भाषा बोल्न जान्ने उनी स्वागतका लागि १० तले कार्यालयको मूलगेटमा उपस्थित भइसकेकी थिइन्।

कोट-पाइन्टमा सजिएर स्वागतमा देखिएकी उनी त्यहाँ रिसर्चरका रुपमा कार्यरत छिन्। उनैले उक्त टोलीलाई भुईँ तलादेखि दसौँ तलासम्म हुने गरेका कामबारे एकएक गरेर विवरण सुनाइन्।

उनको सक्रियता साँच्चिकै लोभलाग्दो थियो। उक्त रिसर्च सेन्टरमा पुरुष कर्मचारी पनि थिए। तर त्यहाँ टोलीलाई प्रत्येक तलाको कामको विवरण सुनाउनेदेखि नबुझेका कुरा बुझाउने जिम्मा उनकै थियो।

उनीसँगै उक्त १० तले रिसर्च सेन्टरका हरेक कार्यकक्षमा ३ देखि ४ जना महिला कर्मचारी देखिए। ल्याबदेखि स्टोर रुम र कफी टेस्ट रुममा पनि महिलाको संख्या धेरै थियो।

सिन्झाइँका सीपीसी नेतासँग भाषा अनुवादक युवती

'हामी यहाँ पुरुषभन्दा धेरै महिला कर्मचारी छौँ। धेरैजसो रिसर्चरका रुपमा कार्यरत छौँ', २०२१ मा स्थापना भएको उक्त कार्यालयबारे उनले भनिन्, 'रिसर्चको मामिलामा महिलाहरूको पकड यहाँ बलियो छ। हामी बाओसाङ क्षेत्रलाई कफीका लागि विश्वमै नमुना बनाउने योजनासहित लागेका छौँ। अबको ५/१० वर्षभित्र विश्व बजारमा पकड बनाउन सक्षम हुनेछौँ।'

युन्नानको लोङच्याङ जिल्लास्थित सिन्झाईं गाउँकी झाओ हुआयिङ कैल्डाई कफी कम्पनी लिमिटेडकी सञ्चालक हुन्। उनका पति वाङ सिन्झाईं गाउँस्थित चिनियाँ कम्युनिष्ट पार्टीका सेक्रेटरी छन्। 

कफी उत्पादन कम्पनीको नेतृत्व गरिरहेकी उनी आफ्ना दर्जन बढी कर्मचारी र मजदुरको नेतृत्व गरिरहेकी छन्। 'कम्पनीको नेतृत्व गरेर अघि बढिरहेकी छु। श्रीमानले समग्र गाउँको विकासमा आफूलाई केन्द्रित गर्नु भएको छ', उनले सुनाइन्, 'मैले घर व्यवहारदेखि आफ्नो कम्पनी पनि चलाइरहेकी छु। सबै जिम्मेवारी आफ्नो काँधमा भएकाले निरन्तर खटिरहनु चुनौतीपूर्ण छ। तर स्थापनाको केही वर्षमै कम्पनीले चर्चा पाउन थालेको छ।'

उनलाई कम्पनी हाँक्न छोराले पनि साथ दिएका छन्। उच्च शिक्षा पूरा गरेर गाउँ फर्किएका छोराले आमालाई कफी कम्पनीसँगै सिन्झाईंमै रहेको कफी बिक्री केन्द्रलाई विस्तार गर्न पनि साथ दिएका छन्। 

इन्स्टिच्युट अफ ट्रपिकल एन्ड सबट्रपिकल इकोनोमिक क्रप्स अफ एग्रिकल्चरल साइन्सेसमा एसिस्टेन्ट रिसर्चरका रुपमा कार्यरत झियाङ सीयाओफाङ महिलाहरूको नेतृत्व अब्बल हुँदा चीनको कफी उद्यम पनि सफल भइरहेको बताउँछिन्।

'यहाँ कफी खेतीदेखि रिसर्च सेन्टर र कफी बिन उत्पादन केन्द्रमा समेत महिलाको पकड छ। ग्रामीण क्षेत्रका कफी फार्ममा महिलाहरू पाखुरी बजाइरहेका भेटिन्छन्', उनले भनिन्, 'त्यहाँदेखि सहरको रिसर्च सेन्टरको नेतृत्वमा पनि महिला पुगेका छौँ। यहाँ महिला र पुरुषको नाममा भेदभाव हुन्न। सार्वजनिक स्थान र सामाजिक जीवनमा मिल्ने सम्मानबाट महिलाहरूले आफूलाई सुरक्षित र अब्बल सावित गर्ने अवसर पाएका छन्।'

उनी आफैँ रिसर्च सेन्टरदेखि २ सय किलोमिटर पर गाउँका कफी फार्मसम्म कार ड्राइभिङ गरेर पुग्छिन्। विश्वका विभिन्न देशबाट आउनेहरूलाई कफीबारे ज्ञान मात्रै बाँड्दिनन् कृषकहाँ पुगेर उनीहरूका समस्याका गाँठा पनि फुकाउन उत्तिकै सक्रिय छिन्। 

नेतृत्व
चीनले अहिले आफ्ना महिला उद्यमी शक्तिको साथ लिएर विश्वको नेतृत्व गर्ने नारा अघि सारिरहेको छ। चिनियाँ क्रान्तिका बेला नेता माओले भनेका थिए, 'चिनियाँ महिलाहरूले वास्तवमै आधा आकाश समातेर राख्छन् भनेर देखाइरहेका छन्। लाखौँ प्रेरणादायी महिला उद्यमीहरूले आ-आफ्नो उद्योगमा सिसाको छानो भत्काएर समाजलाई रूपान्तरण गरेका छन्।' 

माओले भनेझैँ चीनकी सबैभन्दा ठूलो लाइभ स्ट्रिमर भिया, जसले अर्बौं डलरको उद्योगमा आफ्नो पकड बनाएकी छिन्। टिकटकप्रेमीहरूले टिकटकको मूल कम्पनी बाइटडान्सको सीईओको रूपमा झाङ नानलाई सम्झिन्छन्।

चीनमा उद्यमशीलताको क्षेत्रमा पनि महिलाले पकड बनाउँदै लगेका छन्। विश्वका शीर्ष महिला अर्बपतिमध्ये दुई तिहाइ चीनमै छन्।

चीनको राजनीतिमा भने महिलाहरू अझै पछाडि छन्। विशेष गरी चीनको राजनीतिक प्रणालीको सबैभन्दा उच्चतम् तह २५ सदस्यीय पोलिटब्युरोमा महिलाको उपस्थिति नगन्य छ।

विश्वका धेरै देशहरूमा महिलाहरूले लैङ्गिक असमानताविरूद्ध आवाज उठाइरहेका छन्। चीनका एक अर्बभन्दा धेरै इन्टरनेट प्रयोगकर्ताले अनलाइनमा महिला अधिकारबारे बहस छेडिरहेका छन्। महिलाहरूको सक्रियता बढेसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जालका ट्रेन्डिङ पोस्ट्, मार्केटिङ क्याम्पेन र टेलिभिजन समाचारमा पनि महिलाका मुद्दाले प्राथमिकता पाइरहेका छन्।

चीनले गौरव गर्ने एकजना महिला हुन् वाङ यानपिङ। जसले अन्तरिक्षमा पहिलो चिनियाँ महिला शिक्षकका रुपमा आफूलाई चिनाइसकेकी छन्। उता इतिहास कोर्ने क्रममा चीनकी दोस्रो महिलाका रुपमा सन् २०१३ जुन ११ मा वाङ अन्तरीक्षमा पुगेकी थिइन्। 

उनी चीनकी पहिलो महिलाका रुपमा तियानहेनस्थित अन्तरिक्ष स्टेसनको कोर मोड्युलमा सन् २०२१ अक्टोबर १६ मा प्रवेश गरेकी थिइन्। उनै वाङले अन्तरिक्षबाट पढाउने पहिलो महिलाका रुपमा सन् २०१३ जुन २० मा आफ्नो नाम लेखाउन सफल भइन्।

उता चीनको पहिलो महिला अन्तरिक्ष यात्रीका रुपमा चिनियाँ जनमुक्ति सेनाकी मेजर लियु याङलाई चिनिन्छ। उनी सन् २०१२ जुन १६ मा अन्तरिक्ष यात्रामा निस्किएकी थिइन्। 

पहिलो अन्तरिक्ष शिक्षिका वाङ यानपिङ

नीति
१७ असोज २०७८ अर्थात् सेप्टेम्बर २७ मा चीनको राज्य परिषद्ले जारी गरेको ‘चीनमा महिलाको विकासको खाका (२०२१–३०)’ ले नयाँ युगमा लैङ्गिक समानताको आधारभूत राष्ट्रिय नीतिको मध्यकालीन र दीर्घकालीन कार्यान्वयनमा जोड दिएको छ।

चीनको आर्थिक तथा सामाजिक विकासका साथसाथै चिनियाँ महिलाहरू सामाजिक कार्यकलापमा झन्-झन् बढी सहभागी हुँदै आएका छन्।

चीन सरकारले महिलाहरूका लागि राम्रो सामाजिक वातावरण तयार गरिदिएको बताइरहेको छ। चीनले बितेको एक दशकमा लैंगिक समानतालाई व्यापक बढावा दिँदै आएको जनाएको छ। त्यसकै प्रभावस्वरूप सामाजिक र सार्वजनिक जीवनमा महिलाको उपस्थिति र प्रभाव बढ्दै गएको बताइन्छ।

सन् २०२० मा अखिल चीन महिला महासंघ र राष्ट्रिय तथ्यांक विभागले संयुक्तरूपमा महिलाको सामाजिक स्थितिसम्बन्धी सर्वेक्षण गरेका थिए। 

राष्ट्रव्यापी रूपमा १८ देखि ६४ वर्ष उमेर समूहका ३० हजार पुरुष र महिला उत्तरदाताहरूमध्ये करिब ९७ प्रतिशतले महिलाहरूले आफूहरूका लागि देशको सामाजिक वातावरण अनुकूल बन्दै गएको बताएका थिए। 

उक्त सर्वेक्षण‍ले मुख्यत: शिक्षा, अर्थतन्त्र, सामाजिक सुरक्षा, राजनीति, विवाह, परिवार, स्वास्थ्य र कानुनी संरक्षण र जागरुकताको क्षेत्रमा महिलाको सामाजिक स्थितिको मूल्यांकन गरेको थियो।

'बितेको दशकमा चिनियाँ महिलाले आर्थिक र सामाजिक विकासमा व्यापक सहभागिता जनाएका छन्। धेरै क्षेत्रले महिलाहरूका लागि रोजगारी बढाएका छन्। चिनियाँ महिलाहरू आर्थिक र सामाजिक विकासमा पुरुषहरू समान क्षमता देखाउन सक्षम छन्,' उक्त सर्वेक्षणले भनेको थियो।

सर्वेक्षणमा सहभागीमध्ये करिब ९४ प्रतिशत उत्तरदाताले महिलाहरू आफ्ना पुरुष साथीहरूजत्तिकै सक्षम रहेका बताउँदै सामाजिक र आर्थिक विकासमा 'आधा आकाश थाम्ने' कुरामा पनि उनीहरूले आफूलाई अब्बल सावित गराएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .