ad ad

समाज


प्रधान सेनापतिसँग ‘युथ एक्सचेन्ज प्रोग्राम’मा सहभागी टोलीको शिष्टाचार भेट

प्रधान सेनापतिसँग ‘युथ एक्सचेन्ज प्रोग्राम’मा सहभागी टोलीको शिष्टाचार भेट

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १९:३६, काठमाडौँ

प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेको भारतीय नेसनल क्याडेट कर्पसको प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेको छ।

त्यस अवसरमा भ्रमण दलका सदस्यहरूले ‘युथ एक्सचेन्ज प्रोग्राम (वाईईपी)’ का दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकोमा आभार प्रकट गर्दै प्रधान सेनापति समक्ष आफ्नो भ्रमण अनुभव प्रस्तुत गरेका थिए।

मंसिर ०५ गते नेपाल आइ पुगेको भारतीय एनसीसी टोली मंसिर १३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। वाईईपीमा भारतीय एनसीसीका छात्र छात्राहरू १६ जना र राष्ट्रिय सेवा दल, नेपालका छात्र छात्राहरू ४ जना सहभागी रहेका नेपाली सेनाले जनाएको छ।

नेपालमा विसं२०२२ सालमा राष्ट्रिय सेवा दलको स्थापना भएको हो । आर्थिक वर्ष २०७९/८० सम्म जुनियर डिभिजन र सिनियर डिभिजन गरी कुल ६६ हजार ७७६ जना छात्र छात्राहरूले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरिसकेका छन्। यस वर्ष उक्त तालिममा ७ हजार ७०४ जना छात्र छात्राहरू सहभागी भई रहेका छन्।

विसं २०२६ सालबाट राष्ट्रिय सेवा दल, नेपाल वाईईपीमा सहभागी हुँदै आएको छ भने विसं २०५६ सालबाट नेपालमै वाईईपी आयोजना गर्न थालिएको हो। यस कार्यक्रम अन्तरगत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा ४२३ जना क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन्।

यसपटक नेपाल भ्रमणमा आएको भारतीय टोलीले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीमा सहभागी हुनुको साथै काठमाडौँ उपत्यका र वरपरका इलाकाहरूको भ्रमण गरेको थियो।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत वाईईपीमा सहभागी दुवै देशका छात्र छात्राहरूको उपस्थिति थियो।

त्यस अवसरमा एनसीसी क्याडेटहरुसँग कुराकानी गर्दै प्रधान सेनापतिले नेपाल–भारत बीचको बहु आयामिक सम्बन्धलाई सुमधुर बनाइराख्न यस किसिमको एक्सचेन्ज प्रोग्रामले पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .