ad ad

समाज


जंगी अड्डाबाट प्रधानसेनापतिको चेतावनी : संस्थाबाहिर गएर कसैले चलखेल नगर्नू

जंगी अड्डाबाट प्रधानसेनापतिको चेतावनी : संस्थाबाहिर गएर कसैले चलखेल नगर्नू

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १७:४२, काठमाडौँ

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू सम्बन्धित निकायबाट एकिन गरेर मात्रै जंगी अड्डाले कारबाही अगाडि बढाउने गरेको दाबी गरेका छन्।

मंगलबार कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उम्मेदवारहरूको उमेर, शैक्षिक योग्यता जस्ता विषयमा उठेका प्रश्नको जवाफ दिएका हुन्।

विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीहरूको कागजात शंकास्पद देखिएकोले कारबाही गर्न सिफारिस गरेको उदाहरण पनि प्रधानसेनापति शर्माले दिए।

संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रुपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने बताउँदै प्रधानसेनापति शर्माले भने, ‘स्वस्थ प्रतिस्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भएतापनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्नु होला।’

नेपाली सेनामा सरुवा, बढुवा लगायत वृत्तिविकास सम्बन्धी कार्यहरूका क्रममा गुनासो वा उजुरी गर्ने वैधानिक निकायहरू रहेको र यसबारे सकलदर्जालाई जानकारी पनि भएको भन्दै संस्थाबाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन प्रधानसेनापतिले सचेत गराएका छन्।

नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरूबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिवद्ध रहेको बताउँदै प्रधानसेनापति शर्माले व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकुलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न आफू प्रतिवद्ध रहेको बताए।

पछिल्लो समय सञ्चारमाध्यमको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित संचालन प्रक्रिया लगायतका विषयमा अनर्गल प्रचारबाजि भइरहेको भन्दै यसप्रति सचेत रहन पनि शर्माले निर्देशन दिए।

‘संस्थागत हित नै आफ्नो एकमात्र स्वार्थ रहेको र विधि, पद्धति तथा प्रक्रिया विपरित कसैसँग कुनै सम्झौता हुँदैन’, प्रधानसेनापति शर्माले भने, ‘असंख्य सिपाइहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्था भित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थ सिद्ध गर्ने दुराशयले प्रेरित भइ त्यस किसिमको कार्य गर्नेहरूको दुस्प्रयासले नेपाली सेना कमजोर हुने छैन।।’

प्रधान सेनापतिले आफ्नो र प्रधानमन्त्रीकोबीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भई विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको भनी आरोप लगाएको भन्दै खण्डन गरे। कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूत नियुक्तिमा जान लागेको जस्ता प्रचार गलत भएको बताए।

कमान्डिङ अफिसर ओरिएन्टेसनका सहभागीहरूलाई नेपाली सेनाको कमान्ड भन्नु जागिर वा अधिकारको कुरा नभई सेवा भावका साथ अत्यन्त संवेदनशील भई निर्वाह गर्नुपर्ने उत्कृष्ट जिम्मेवारी भएको बताए। सेनाले गण तथा गुल्महरूको कमाण्ड गरिरहेका एवं निकट भविष्यमा कमाण्डमा नियुक्त हुन लागेका अधिकृतहरूका लागि कमान्डिङ अफिसर ओरिएन्टेसन सञ्चालन गरेको हो।

सहभागीहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय परिस्थितिको चर्चा गरे। त्यसले नेपालको राष्ट्रिय सुरक्षा लगायत राष्ट्रहितका विभिद क्षेत्रमा पारिरहेको र पार्न सक्ने असरहरूका बारेमा चर्चा गर्दै नेपाली सेनाको दायित्वका बारेमा जानकारी गराए।

नेपाली सेनाको गौरवलाई कायम राख्न मुख्य भूमिकामा रहेका युनिट कमान्डहरू लगायत सबैलाई पेसागत मर्यादामा रहेर संस्था र यसमा कार्यरत सकलदर्जाको हितमा समर्पित रहन प्रधानसेनापतिले निर्देशन दिए।

जंगी अड्डामा आयोजित कार्यक्रममा जंगी अड्डा र नजिकका निकायहरूमा कार्यरत रथीवृन्द तथा अधिकृतहरू सहभागी थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .