ad ad

समाज


त्यो ‘ब्रेक थ्रु’, जहाँबाट गगनले शेखरलाई अघि सारे

त्यो ‘ब्रेक थ्रु’, जहाँबाट गगनले शेखरलाई अघि सारे

सागर न्यौपाने
मंसिर २९, २०८० शुक्रबार ७:३७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा रणनीतिक नेताका रुपमा चिनिन्छन्।

पार्टीभित्र छिट्टै प्रभावशाली पदमा पुग्ने थोरै नेता पनि हुन् उनी।

कांग्रेसभित्र कुनै समय शेखर कोइराला खेमामा देखिएका गगनले बीचको केही अवधि भने मझधार समाए।

अर्थात्, उनी कोइराला समूहबाट टाढा पनि गएनन् र नजिक पनि भएनन्।

पार्टीभित्र सभापति शेरबहादुर देउवासँग टक्कर लिइरहेको यो समूह खासगरी गत वर्षको पुस ६ गते भएको संसदीय दलको निर्वाचनदेखि नै आन्तरिक अविश्वासका बीच गुज्रियो। 

गगन शेखरको राजनीतिक धारप्रति खुशी भएनन्। 

बलियो धार निर्माण गरेर देउवासँग मोलमोलाइ गरिरहेका शेखरले गगनसँग पनि दूरी कायम राखे।

यसले शेखर खेमाका धेरै नेता असन्तुष्ट बने। गगन–शेखरलाई मिल्न सुझाव पनि दिए। तर, त्यो प्रभावकारी भइरहेको थिएन।

त्यही बेला शेखर पक्षका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पहल लिएर दुई नेतालाई एकै ठाउँमा उभ्याए। मंसिर २५ गते बिहान ५ बजेदेखि ८ बजेसम्म आफ्नै निवासमा छलफल गरे।

तीन घण्टा चलेको त्यही छलफलबाट उनीहरुबीच मिलेर जाने सहमति मात्र भएन, शेखरलाई नेता मानेर जान गगन तयार भए।

सो भेटमा अन्य के–कस्ता विषयमा सहमति भयो भन्ने खुलेको छैन। तर, एकताबद्ध भएर जान दुवै सहमत भएर उठेको नेताहरू बताउँछन्।
‘तीनजना बसेर राष्ट्रिय राजनीति र पार्टीभित्रको अवस्थाबारे गम्भीर छलफल भयो,’ केसीले भने, ‘आम जनतामा निराशा छाएको छ, यसलाई सुधार नगर्ने। उल्टै हामी नै विभाजित हुँदा लोकतन्त्र धरापमा पर्छ। हामी सबै मिलेर पार्टीमा नयाँ गति दिन एकता जरुरी छ।’

नयाँ सहमति जुटेसँगै २६ गतेका लागि शेखर पक्षले राखेको पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, १४औँ महाधिवेशनमा पदाधिकारीका उम्मेदवार भएका नेताहरूको बैठक एक दिन सारेका थिए। 

सहमतिका सूत्रधार केसी 

झण्डैझण्डै बोलचाल नै नहुने अवस्थामा पुगिसकेका शेखर–गगनलाई एकै ठाउँमा राखेर छलफल गराउने काम अर्जुननरसिंह केसीले गरेका हुन्।

नुवाकोटमा रहेका उनी त्यसकै लागि हतारहतार काठमाडौं आएका थिए। 

लामो समयदेखि कोइराला पक्षमा खुलिरहेका केसीले गगन र शेखरलाई फोन गरेर घरमा बोलाए।

केसीले उपत्यकाबाहिर कार्यक्रममा सहभागी हुन लागेका गगनको कार्यक्रम स्थगित गर्न लगाए।

यस्तै, शेखरलाई पनि कुनै कार्यक्रम नराखी तीन जनाबीच छलफल गर्ने भनेर बूढानीलकण्ठस्थित निवासमै बोलाए।

‘सानातिना मतभेद त्यागेर एकै ठाउँमा उभिने हो भने नयाँ उत्साह जगराउँछ,’ केसीले दुई नेतालाई भने, ‘सबै रुपबाट एक भएर नजाने हो भने यो समूह विघटन गरे हुन्छ।’

उनको प्रस्ताव सुनेपछि दुवै नेताले मिलेर जान तयार रहेको बताए।

त्यसपछि सबैको सहभागिता हुने गरी बैठक राख्ने निर्णयमा पुगेको उनको भनाइ छ। 

गगनले संसदीय दलको नेता परिवर्तन नगरी कांग्रेस बलियो नहुने कुरा पनि सो छलफलमा राखे।

‘मैले त नयाँ नेतृत्व हुनुपर्छ भनेर एकचोटी संसदीय दलको नेता उठेको हुँ तर सफल हुन सकिनँ,’ गगनको भनाइ थियो, ‘अब तपाईँले तयारी गर्ने हो भने सकिन्छ।’

नभन्दै बुधबार काठमाडौंको बत्तीसपुतलीमा बसेको शेखर समूहको बैठकमा गगनले सार्वजनिकरूपमा शेखरलाई दलको नेताको रूपमा अघि सार्ने प्रस्ताव गरे। 

बैठकमा नेताहरूले मिलेर जान सुझाव दिएपछि एकजुट भएर अघि बढ्ने निर्णय भएको शेखरले बताए।

‘एजेण्डामा महामन्त्री र मबीच मतभेद छैन र थिएन,’ शेखरले सञ्चारकर्मीसँग भने, ‘के हुन्छ भने, उहाँको उमेर मेरो उमेर फरक छ, उहाँको सोचाइ, मेरो सोचाइ, मेरो शैली र कार्यशैली फरक छ। त्यो स्वाभाविक हो, त्यसले मात्र हो। एजेण्डामा फरक छैन।’

दुई नेताबीच समझदारी जुटेर एउटा ब्रेक थ्रु भने भएको छ। जसले आगामी दिन सभापति देउवालाई कडा टक्कर दिन सक्ने सम्भावना छ।
यद्यपि, प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री फेरबदलको प्रयास भइरहेको र राष्ट्रिय सभा सदस्यको चुनावको मिति नजिकिएको बेला दुई नेता मिलेर देउवामाथि दबाब बढाउने रणनीति अख्तियार गरेको देखिन्छ। 

त्यस्तै आसन्न महासमिति बैठक सार्ने संस्थापनको तयारीको विपक्षमा पनि यस समूहले आफूलाई उभ्याएको छ।

गत साउन १० मा सम्पन्न केन्द्रीय समिति बैठकले महासमितिको बैठक मंसिर १३ देखि १५ गतेका लागि तोकेको थियो।

त्यसयता दुईपटक मिति सारिसकिएको छ। पछिल्लोपल्ट पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा गर्ने भनिए पनि जाडो बढेको कारण दर्शाउँदै फेरि सार्न खोजिएको शेखर–गगन खेमाको आशंका छ।

यी थिए शेखर–गगन दरारका कारण

२०७८ मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा देउवाविरुद्ध शेखरले सभापतिमा उम्मेदवारी दिए तर पराजित भए। 
शेखरकै समूहबाट महामन्त्रीमा गगनले उम्मेदवारी दिए र जिते। 

त्यसपछि गत वर्ष पुस ५ गते थापाले देउवाविरुद्ध कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिए।

यसपटक गगनको पक्षमा शेखर र महामन्त्री विश्वप्रकाश शर्मा उभिए। 

शेखर समूहसँग ३२ मत रहेको आकलन थियो। तर, गगनले २४ मत मात्र पाए। आफ्नै समूहको मत पनि पाएनन्। ५ भोट देउवालाई खस्यो।
शेखरबाट उचित सहयोग नपाएको गगनको बुझाइ रह्यो भने आफूसँग सल्लाह नै नगरी गगन संसदीय दलको नेता बन्न खोजेको शेखरले ठाने।

संसदीय दलको नेतामा गगन नराम्रोसँग पराजित भएपछि शेखर–गगन समूहमा अविश्वास बढ्न थाल्यो । 

त्यसपछि सरकार गठनका बेला मन्त्री छान्दा शेखर–गगन दूरी अझै बढ्यो।

प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री पठाउँदा शेखरले देउवासँग एक्लै भागबण्डा गरे, जहाँ गगनसँग सल्लाह नै गरेनन्। यतिसम्म कि एकपटक पनि नसोधी शेखरले देउवालाई नाम बुझाए। महामन्त्री गगनका तर्फबाट मन्त्री बन्नै पाएनन्।  

यसले शेखरसँग गगन थप बिच्किए। 

कोशी प्रदेश सरकार गठनमा पनि शेखरले एकलौटी कदम चालेको गगनको बुझाइ छ।

हुन पनि कोशी प्रदेशमा शेखरले आफ्नो खेमाका प्रदेश सांसद केदार कार्कीलाई गठबन्धन निर्णयविरुद्ध विद्रोह गर्न लगाएर विपक्षी एमालेसँगको सहकार्यमा मुख्यमन्त्रीको उम्मेदवार बनाएका थिए। जसको गगनले खुलेर विरोधसमेत गरेका थिए।

कोशीमा विभाजनउन्मुख कांग्रेस एक त भयो तर अझै पनि मुख्यमन्त्री केदार कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छैनन्। 

यी घटनाक्रमले टाढिँदै गएका गगन र शेखर नयाँ खालको समझदारी जुटाएर एकै ठाउँमा उभिएका त छन्। तर, यो कहिलेसम्म भन्ने प्रश्न त छँदै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .