समाज


यसकारण छैन कोरल्ला नाकामा कोरोना भाइरसको चिन्ता

यसकारण छैन कोरल्ला नाकामा कोरोना भाइरसको चिन्ता

नेपालखबर
माघ २२, २०७६ बुधबार ४:४०,

छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन।

चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।

बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङमा दुई सातादेखि आवतजावतसमेत ठप्प छ। उत्तरी मुस्ताङ र तिब्बत जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिमपातका कारण सडक यातयात पूरै ठप्प भएको हो।

कोरल्ला नाकासमेत पूर्णरूपमा बन्द भएका कारण छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नपरेको अर्यालले बताए। उत्तरी मुस्ताङलाई जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिउँ जमेको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ्गसम्मको हिउँ सफा गरिएको प्रजिअ अर्यालले बताए।

लोमान्थाङ गाउँपालिकामा भने हिउँ पन्छाउने काम हुनसकेको छैन। कालीगण्डकी नदीमा समेत बाक्लो हिउँ जमेपछि खोलैखोला सञ्चालन हुने यातयातसमेत बन्द छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चराङ्गसम्मको हिउँ सफा गरिसकेको र चराङ्गदेखि माथिल्लो क्षेत्रको हिउँ लोमान्थाङ गाउँपालिकाले सफा गर्ने सहमति भएको छ। गाउँपालिकाले एक÷दुई दिनभित्र हिउँ सफा गरेर सडक सञ्चालन गर्ने तयारीमा रहेको प्रजिअ अर्यालले बताए।

जाडो शुरु भएपछि मुस्ताङी बेँसी झर्ने गर्दछन्। सिङ्गो लोमान्थाङ गाउँपालिकाभर १०० भन्दा बढी मानिस जाडोयाममा बसेका छैनन्।

भेडा, च्याङ्ग्रा र घर कुर्नका लागि केही मानिस बसे पनि सबै बेँसीमा झरेका छन् । कोरल्ला नाकासमेत बन्द भएका कारण कोरोना भाइरसको समेत प्रभाव परेको छैन। ‘मानिस प्रायः घर बाहिर ननस्किने र सीमामा दोहोरो आवतजावतसमेत नरहेका कारण कोरोनाको प्रभाव छैन’, प्रजिअ अर्यालले भने।

यसैबीच प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिक्षेत्रमा शनिबार सुरक्षाकर्मीलगायतले सरसफाइ तथा हिउँ पन्छाउने काम गरेका छन्।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सैनिक उच्चशिखर शिक्षालयका सैनिक जवान, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक चेकपोष्ट र स्थानीयवासीलगायतबाट मुक्तिनाथको पहिलोद्वारदेखि मन्दिर परिसरको बाटोमा थुप्रिएको हिउँ पन्छाइएको हो।

लगातार तीनपटक परेको हिमपातले मुक्तिनाथ रानीपौवा बजारदेखि मुक्तिनाथद्वारसम्मको करीव दुई किलोमिटर पैदल बाटोमा दुई फिट हिउँ जमेपछि तीर्थालुलाई मन्दिर पुग्न कठिनाइ हुने गरेको छ।

रानीपौवा बजारदेखि मुक्तिनाथसम्मको दूरीमा बाक्लो हिउँ जमेकाले मुक्तिनाथ दर्शन गर्ने तीर्थालुलाई असहज हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad