समाज


सोलुखुम्बुमा ४ वटा स्काभेटरमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

सोलुखुम्बुमा ४ वटा स्काभेटरमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

नेपालखबर
पुस २९, २०८० आइतबार ११:२४, सोलुखुम्बु

सोलुखुम्बुमा आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी भएको छ।

थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो। आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। 

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो। 

आगजनीबाट रु ४० लाख बराबरको क्षति भएको थियो । यस्तै गत असार ५ गते राति थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो । पेट्रोल छर्किएर गरिएको उक्त आगजनीबाट रु ४० लाखबराबरको क्षति भएको प्रहरी निरीक्षक मिश्रले बताए। 

त्यसैगरी गत साउन ४ गते राति सोही स्थानमा जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु ८० लाखबराबरको क्षति भएको थियो। 

यस्तै गत मङ्सिर ३ गते राति थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा जलेश्वर हाइड्रोपावरकै प्रदेश–३–०१–००३क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु एक करोडबराबरको क्षति भएको थियो। 

‘सबै घटनामा प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाएको अनुसन्धानबाट खुलेको छ । आगजनीबाट चारवटै स्काभेटरमा पूर्णरूपमा क्षति पुगेको छ’, प्रहरी निरीक्षक मिश्रले भने।

आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई छन्। पाँचैजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad