ad ad

समाज


मुगुकी बलात्कारपीडित किशोरीको बयानः काम छ भन्दै बोलाए, पालैपालो करणी गरे

मुगुकी बलात्कारपीडित किशोरीको बयानः काम छ भन्दै बोलाए, पालैपालो करणी गरे

दिनेश बुढा
माघ २, २०८० मंगलबार १२:२६, सुर्खेत

आइतबार साँझतिर मुगुकी १४ वर्षीया किशोरी बलात्कृत भएको घटना बाहिरियो। ५ महिनाअघि घटेको घटनाको विषयमा किशोरीले आफ्नो पेटमा गर्भ बसिसकेपछि प्रतिवादीविरुद्ध प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो। 

पेट दुख्ने समस्या लिएर स्थानीय स्वास्थ्य संस्थामा पुगेकी उनको गर्भमा १८ हप्ताको बच्चा रहेको पाइएपछि घटना बाहिरिएको हो।

गत भदौ र असोजमा बलात्कार भएकी किशोरीले जाहेरी दिएपछि अहिले प्रहरीले अनुसन्धान अघि बढाएको छ। पीडित किशोरीले जाहेरीमा ९ जनाविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी छन्।

आरोपित ५ पक्राउ, ४ फरार 

किशोरीले दिएको जाहेरीका आधारमा मुगु प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार, प्रकाउ पर्नेमा तीन जना नाबालक छन्। प्रहरीले नाबालकको परिचय गोप्य राखेको छ।

पक्राउ पर्नेमा तीन बालकहरूमा परिवर्तित संकेत नामथर छायाँनाथ (ढ) ६०, छायाँनाथ (द) ६० र छायाँनाथ (ध) ६० रहेका छन्। 

यस्तै, पक्राउ पर्ने दुई युवकमा छायानाथ रारा नगरपालिका–५ बस्ने ३० वर्षीय वसन्तबहादुर कार्की र मुगुकै सोरु गाउँपालिका–८ का २२ वर्षीय वसन्त रोकाया रहेको प्रहरीले जनाएको छ। 

कार्की नगरपालिकामा कार्यरत नगर प्रहरी र रोकाया कृषि विकास कार्यालय, गमगढीका कार्यालय सहयोगी हुन्।

प्रकाउ परेका उनीहरूमाथि अदालतबाट म्याद थप भएर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

यस्तै, बलात्कार आरोप लागेका तीन बालकसहित एक युवक फरार छन्। फरार हुनेमा जुम्लाको चन्दननाथ नगरपालिका–७ बस्ने ३० वर्षीय पदमबहादुर कठायत र तीन बालक छन्। 

कसरी भयो घटना?

मुगुको छायाँनाथ-रारा नगरपालिका–१४ घर भएकी बालिका सदरमुकाम गमगढीस्थित डेरामा बसी कक्षा ७ मा पढ्दै आएकी थिइन्। पीडित बालिकाले आफूमाथि फरकफरक समय गरी दुईपटक सामूहिक बलात्कार भएको उल्लेख गरी प्रहरीसमक्ष दुई छुट्टाछुट्टै जाहेरी दर्ता गराएकी छन्। 

किशोरीले दर्ता गराएको एउटा बालकले गत भदौ १६ गते बेलुका अन्दाजी ९ बजे कोठामा बोलाएपछि आफू पुगेको बताएकी छन्। 

गमगढीस्थित ती बालकको कोठामा पुगेकी उनीमाथि ६ जनाले पालैपालो जबरजस्तीकरणी गरेका थिए। उनीमाथि बलात्कार गर्ने ती सबै १८ वर्षमुनिका छन्। 

सोही करणीबाट आफ्नो पेटमा गर्भ बसेको दाबी बालिकाले गरेकी छन्।

‘हाल पेट दुखेपछि जिल्ला स्वास्थ्य सेवा कार्यालय, मुगुमा गई चेकजाँच गराउँदा मेरो पेटमा गर्भ रहेको कुरा थाहा पाएकी हुँ,’ उनले भनेकी छन्, ‘मेरो पेटमा रहेको गर्भ निज अन्यायीहरु मध्ये को– कसको हो, मलाई थाहा छैन। तर, मलाई काम छ भन्दै बोलाए, सबैले पालैपालो जबरजस्ती करणी गरे।’ 

यस्तै, बालिकाले आफूमाथि १० असोजमा पनि अर्को सामूहिक करणी भएको जाहेरी दिएकी छन्। 

सोही दिनको राति ९ बजे छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्कीले आफू बस्ने कोठामा आएर ललाईफकाई एक छिन काम छ भनी बाहिर बोलाएको पीडितले बताएकी छन्।  

बाहिर आएपछि कार्कीले आफ्नो हात समाई आफूसँगै हिँड्न लगाएर कृषि विकास कार्यालय भवनको एक कोठामा पुर्‍याएको उनले भनेकी छन्। 

उक्त कोठामा पुग्नेबित्तिकै कार्की, कृषि विकास कार्यालयका कार्यालय सहयोगी वसन्त रोकाया र त्यही कार्यालयका सवारी चालक पदमबहादुर कठायतले डरत्रास देखाई पालैपालो करणी गरेको पीडितको भनाइ छ।

करणीपछि उनीहरूले बालिकालाई कहीँकतै भने ज्यानै खतरामा पर्ने चेतावनी दिएपछि आफू खुल्न डराएको बालिकाले बताएकी छन्।

१४ वर्षीया बालिका कसरी उनीहरूको सम्पर्कमा पुगिन् र बलात्कृत भइन् भन्ने विषयमा सूक्ष्म अध्ययन भइरहेको प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

हाल बालिकालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .