ad ad

समाज


धरहराको ‘अन्डरग्राउन्ड’मा गर्न सकिन्छ न्युरोड क्षेत्रको पार्किङ (भिडिओ/तस्बिर)


सरोज बैजु
माघ १२ , काठमाडौँ

न्युरोड क्षेत्रका पार्किङको उपयुक्त विकल्प धरहराको भूमिगत क्षेत्र हुने देखिएको छ। धरहराको भूमिगत पार्किङ खुलाउँदा व्यवसायीको माग सम्बोधन हुनेछ भने नयाँ सडक क्षेत्रको अस्तव्यस्त अवस्थाको अन्त्य हुनेछ। 

काठमाडौं महानगरले माघ ९ गतेबाट न्युरोड क्षेत्रमा सडक पार्किङ गर्न निषेध गरेको छ। सुरुमा व्यवसायी सटर नै बन्द गरी आन्दोलन गरे पनि खुलाउन थालेका छन्। विभिन्न स्वरूपमा काठमाडौं महानगरविरुद्ध आन्दोलन गरिरहेका छन्। 

उपयुक्त विकल्प नदिई पार्किङ बन्द गराउँदा व्यापारमा अप्ठ्यारो परेको उनीहरूको भनाइ छ। धर्मपथमा गाडी पार्किङ गरिए पनि जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, प्युखा, महाबौद्ध आसपासको सडकमा मोटरसाइकल पार्किङ हुँदै आएका थिए। 

व्यवसायीका अनुसार करिब १५ हजार सवारी सडकमै पार्किङ हुने गरेका थिए। पछिल्लो समय नयाँ बन्ने कम्पेक्समा अन्डरग्राउन्ड पार्किङको रुपमा प्रयोग भइरहेका छन्। मिलिटरी हस्पिटलको अन्डरग्राउन्ड र पुरानो बसपार्कको अन्डरग्राउन्डमा पार्किङ गर्नसक्ने विकल्प छन्। 

खिचापोखरी व्यापार संघको कार्यसमिति सदस्य दीपककुमार श्रेष्ठले महानगरले दिएको विकल्प उचित नभएको बताए। पुरानो बसपार्कमा जति पार्किङ सुविधा भए पनि त्यसले न्युरोड क्षेत्रको समस्या समाधान नगर्ने बताए। उनले बजारबाट टाढा भएकाले धेरै हिँड्नुपर्ने अवस्था रहने बताए। 

न्युरोडमा किनमेलसँगै बैंक तथा वित्तीय कम्पनी, अन्य अफिस, सहकारीका कर्मचारीहरुको पनि हो। तर, अधिकांशचाहिँ सामान खरिद गर्न जाने बढी हुन्छन्। 

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरको निर्णय अब पूर्णरुपमा कार्यान्वयन हुने बताए। उनले व्यवसायीसँग सहकार्य गरेरै पार्किङको समस्या समाधान हुने बताए। 

‘लामो समयदेखि सडकमा पार्किङ गरेकालाई अप्ठ्यारो लाग्ला’, मानन्धरले भने, ‘दरबारमार्ग, बागबजारलगायत सडकबाट पार्किङ हटाएकाले त्यहाँ आवागमन सहज भएको छ। न्युरोडमा पनि बानी पर्छ पार्किङ व्यवस्थित बन्छ।’

उनले सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्ने माग जायज नभएको बताए। महानगरले विकल्पको विषयमा विभिन्न प्रयास गरिरहेको बताए। 
व्यवसायी श्रेष्ठले बढीमा ५ मिनेटको दूरीमा न्यून शुल्कमा पार्किङको व्यवस्था हुनुपर्ने बताए। उनले विकल्प धरहरा बन्नसक्ने बताए। 

‘तत्काल धरहरा खुला गर्ने हो भने यो समस्या धेरै हदसम्म समाधान हुन्छ’, उनले भने, ‘त्यो ठाउँ नजिक पनि छ र पार्किङका लागि ठाउँ पनि छ। त्यसैले चाँडोभन्दा चाँडो धरहराको पार्किङ खुला गरेर महानगरले यो समस्या समाधान गरोस्।’ 

दशैँमा न्युरोडमा किनमेल गर्न जाने भीडभाड बढ्दा धरहराको पार्किङ खुल्ला गरिएको थियो। धरहराको निर्माणको काम नसकिएकाले फेरि बन्द गरियो। 

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले धरहरा क्षेत्रमा पार्किङकोलागि रेलिङ हाल्ने लगायतका काम बाँकी रहेको बताए। 

‘सडकको विकल्प धरहराको पार्किङ हुन सक्छ। तर काम सकिएको छैन’, पाण्डेले भने, ‘१ महिनाभित्रै सकिएर पार्किङ गर्न मिल्ने देखिएको छ।’

धरहरामा अन्डरग्राउन्ड ३ तल्ला पार्किङ बनाइएको छ। जहाँको डेढ लाख वर्ग फिट क्षेत्रमा पार्किङ गर्न सकिन्छ। पाण्डेले ४०० गाडी र १५ सय बढी मोटरसाइकल पार्किङ एकै पटक गर्न सकिने बताए। 

प्रवक्ता मानन्धरले केही समयभित्रै धरहराको पार्किङ खुलाउने प्रयास भइरहेको बताए। 

‘धरहरा क्षेत्रमा दुईपांग्रे मात्रै पार्क गर्दा करिब ५ हजार अट्छन्’, उनले भने, ‘गाडी कति र बाइक कति पार्क गर्ने भन्नेमा क्षमता निर्धारण हुन्छ।’ 

माघ १२, २०८० शुक्रबार २०:४४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .