कोसी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्याधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ।
औसत तापक्रम ३९–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ। चर्को गर्मी र तातो हावा ‘लू’ चल्दा बाहिर काम गरेर जीविका चलाउनेहरूको दैनिकी झनै कष्टकर बन्दै गएको छ भने गर्मीकै कारण अस्पतालमा बिरामीको चाप पनि बढेको छ।
अहिले तराईका जिल्लामा उख्खरमाउलो गर्मीको प्रभाव बालबालिकादेखि वृद्धवृद्धासम्मलाई परेको छ। गर्मी बढ्दै गएपछि सहर बजारमा मानिसको चहलपहलसमेत घट्न थालेको छ। वैशाखको पहिलो सातादेखि तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नागरिक उड्ययन प्राधिकरणअन्तर्गत विराटनगर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लोपटक वैशाख ११ गते अत्यधिक गर्मी महसुस भएको छ। विराटनगर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका कर्मचारी सञ्जय सोडारीले वैशाखकै पहिलो हप्तादेखि धेरै नै गर्मी भएको बताए।
चैत–वैशाख महिना भनेको वसन्त ऋतुको महिना हो। यो महिनालाई जाडो र गर्मीको सन्तुलन अर्थात् अनुकुल वातावरण भएको महिना बताइन्छ। तर जलवायु परिवर्तनका कारण उत्पन्न बेमौसमी गर्मीले जनजीवन प्रभावित तुल्याएको हो।
जलवायु परिवर्तनका कारण वर्षेनी गर्मी बढ्दै गएको वातावरणविद् रामचन्द्र अधिकारीले बताए।
सन् २०२३ सर्वाधिक गर्मी भएको वर्ष थियो र अब प्रत्येक वर्ष झन्–झन् गर्मी बढ्ने वातावरणविद्को भनाइ छ। साधारणतया प्रिमनसुनमा गर्मी बढी हुने भएपनि यस वर्ष वसन्त ऋतुमै गर्मी अत्याधिक बढेको बताए। जलवायु परिवर्तनको प्रभावका कारण गर्मी अत्याधिक बढेको उनले बताए।
कोसी प्रदेशको राजधानी विराटनगरका अस्पतालमा यति बेला गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको भने संख्या ह्वात्तै बढेको छ। उखरमाउलो गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, वान्ता हुने लगायतका असर देखिने गर्छ।
तातो हावाबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरमै बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। गर्मीका कारण हुनसक्ने स्वास्थ्य समस्याबाट बच्नका लागि शतर्कता अपनाउनु पर्ने नोबेल मेडिकल कलेजका वरिष्ठ फिजिसियन सुरेन्द्र साहले बताए।
गर्मीबाट जोगिन पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन, छाता र पानी लिएरमात्र घरबाहिर निस्किन उनले सुझाव दिए।
१० वर्ष भन्दा कम र ६० वर्ष माथिका मानिसहरुमा बढी प्रभाव पर्ने उनले बताए। विगतमा केही ढिलागरी सुरु हुने गर्मी यस पटक छिटो गरेर सुरु भएको उनले बताए।
जल तथा मौसम विज्ञान विभागले तापमान अबका केही दिनसम्म चल्ने अनुमान गरेको छ।
Shares
प्रतिक्रिया