बाल यौन शोषणको आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जन कहाँ छन्, प्रहरीले अझै पत्ता लगाउन सकेको छैन।
बम्जनविरुद्ध सर्लाही जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि त्यहाँको जिल्ला अदालतले गत बिहीबार उनलाई पक्राउ गर्न अनुमति दिएको छ।
त्यही दिनदेखि प्रहरीले बम्जनको व्यापक खोजी गरिरहेको भए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले बताए।
‘प्रहरीले देशभरि नै उनको व्यापक खोजी गरिरहेको छ तर अहिलेसम्म पत्ता लगाउन सकिएको छैन,’ एसपी पोखरेलले आइतबार बिहान नेपालखबरसँग टेलिफोनमा भने, ‘उनको खोजीका लागि ७७ वटै जिल्लामा प्रहरी सक्रिय भएको छ।’
‘तपस्वी’ बम्जन सिन्धुलीमा रहेको सूचना पाएर सिन्धुली जिल्ला प्रहरी कार्यालयको टोली गत शुक्रबार बिहानै सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारे भन्ने ठाउँमा रहेको उनको आश्रममा पुगेको थियो। तर प्रहरी पुग्दा उनी त्यहाँ भेटिएनन्।
सोधपुछका लागि त्यहाँ रहेका एक जना गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर सोधपुछपछि त्यही दिन उनलाई छाडिएको सिन्धुली जिल्ला प्रहरी कार्यालयकी एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।
‘अब उनी यहाँ (सिन्धुली) मात्र छन् भन्ने ग्यारेन्टी भएन,’ आइतबार बिहान एसपी सिग्देलले टेलिफोनमा नेपालखबरसँग भनिन्, ‘तर एरिया ठूलो छ, हुन पनि सक्छन्, खोजी जारी छ।’
सर्लाहीका एसपी पोखरेलका अनुसार सिन्धुलीमा उनी नभेटिएपपिछ अहिले सर्लाही, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङलगायत सम्भावित स्थानमा उनको खोजी भइरहेको छ।
सम्भावित स्थानमा खोज्दा बम्जन नभेटिएपछि नेपाल प्रहरी प्रधान कार्यालयले नै उनकाे खोजीका लागि देशका ७७ वटै जिल्लाका प्रहरीलाई सर्कुलर जारी गरेको छ।
त्यसबमोजिम देशका सबै ७७ वटै जिल्लाका प्रहरी बम्जन खोजीमा सक्रिय बनेको सर्लाहीका एसपी पोखरेलले बताए।
केही समयअघि बम्जन बसेका सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका-१२, पत्थरकोटमा रहेको आश्रममा पनि उनलाई खोज्दै शुक्रबार दिउँसो प्रहरी पुगेको थियो तर त्यहाँ पनि उनी नभेटिएको सर्लाही प्रहरीले जनाएको छ।
सर्लाहीका एक जना पीडितले बाल यौन शोषण गरेको आरोपमा बम्जनविरुद्ध सर्लाही जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेको त्यहाँका एसपी पोखरेलले जानकारी दिए। तर गोप्यताका लागि उनको हुलियासमेत भन्न नमिल्ने उनले बताए।
याे पनि :

प्रतिक्रिया