समाज


राजीनामा फिर्तापछि डीआईजी चन्दलाई विमानस्थलबाट सरुवा गरिँदै

आईजीपीले फकाउँदै भने- एक वर्ष काम गरेर सँगै घर जाउँला
राजीनामा फिर्तापछि डीआईजी चन्दलाई विमानस्थलबाट सरुवा गरिँदै

डीआईजी अर्जुन चन्द ठकुरी


उजिर कार्की
माघ २२, २०८० सोमबार १९:७, काठमाडौँ

राजीनामा फिर्तापछि प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दलाई सरुवा गरिने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख समेत रहेका डीआईजी चन्दले राजीनामा दिएका थिए। 

तर उनको राजीनामा पत्र प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ। उनलाई १० दिन बिदा दिइएको छ। यहीबीचमा विमानस्थल सुरक्षा कार्यालयबाट सरुवा गर्ने तयारी भएको प्रहरी उच्च स्रोतले नेपालखबरलाई जानकारी दियो। 

‘पछिल्लो परिस्थितिले उहाँलाई पनि विमानस्थलमा असहज भएको देखिन्छ। शान्ति सुरक्षाका हिसावले पनि अब त्यहीँ राख्नु उपयुक्त देखिएन। केही दिन बिदामा बस्नुहुन्छ, त्यसपछि उहाँलाई सरुवा गरिन्छ’, उच्च स्रोतले भन्यो। 

गत वैशाखमा विमानस्थल सुरक्षा प्रमुखका रुपमा सरुवा भएका चन्द यसअघि नै त्यहाँबाट अन्यत्र जान चाहेका थिए। उनको इच्छा प्रदेश प्रमुख भएर जाने थियो। तर सरकारले गत महिना सबै प्रदेश प्रमुख हेरफेर गर्दा पनि चन्द परेनन्। 

त्यसपछि असन्तुष्ट रहेका चन्दलाई थप दुई वटा घटनाले निराश बनाएको थियो। विमानस्थल भन्सारमा नेपाल प्रहरीलाई जिम्मा नदिई सशस्त्र प्रहरीलाई खटाएपछि नेपाल प्रहरी असन्तुष्ट छ।

यसको अपजस पनि आफूले व्यहोर्नु परेको र नेपाल प्रहरीले विमानस्थलमा विश्वास जित्न नसक्दा यो अवस्था आएको भन्दै उनको आलोचना भएको थियो। 

यसअघि विमानस्थलमा भएका सुन तस्करीका छानविन समितिले पनि भन्सारमा नेपाल प्रहरीलाई पनि खटाउनु पर्ने राय दिएका थिए। तर ती रायविपरीत विमानस्थलमा सशस्त्र प्रहरीको टोली खटाइएको थियो। 

सशस्त्र प्रहरीले विमानस्थलमा काम थालेको केही दिनमै अध्यागमननका अधिकारी र प्रहरीबिच कुटाकुट भयो। कुटाकुटपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो।

छानबिन समितिले पनि उनको भूमिकामाथि प्रश्न उठाएको थियो। विमानस्थल प्रहरी नेतृत्वको कमजोरीका कारण पनि उक्त घटना भएको निष्कर्ष समितिले निकालेको थियो। 

कुटाकुटको घटनामा संलग्न अध्यागमन अधिकृत छायाँ मोक्तानलाई सरुवा गरिएको छ। उनलाई विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालय सरुवा गरिएको छ।

तर प्रहरीलाई भने निलम्बन नै गरिएको छ। विमानस्थलमा तैनाथ डीएसपीलाई सचेत गराउने, असईलाई निलम्बन गर्ने र दुई जवानलाई विभागीय कारबाहीका लागि छानबिन समितिले सिफारिस गरेको थियो। 

यसबाट पनि उनी मातहतकै प्रहरी असन्तुष्ट थिए। विमानस्थलका अन्य निकायसँग प्रहरीको दूरी पूरै बढेको छ।

अध्यागमनका कर्मचारी लगायत विभिन्न कर्मचारी संगठनहरुले गृहमन्त्रीसमक्ष विमानस्थलका अन्य सुरक्षामासमेत सशस्त्र प्रहअरीलाई जिम्मेवारी दिएर नेपाल प्रहरीलाई मिकाविहीन बनाउन माग गरेपछि उनको कामप्रति प्रहरी नेतृत्वले पनि प्रश्न उठाएको थियो। 

आफूमातहतका प्रहरी र अध्यागमनका कर्मचारीको कुटाकुटका कारण विवाद भएपछि चौतर्फी दबाबका कारण उनले राजीनामा दिएका थिए। 

डीआईजी चन्दले राजीनामा दिएपछि उनको प्रशंसा भएको थियो। उनले आफूनिकटहरूसँग विमानस्थलका प्रहरीलाई कारबाही गरेका कारण राजीनामा दिएको बताएका थिए।

तर छानबिन समितिले प्रश्न उठाएको र नेतृत्वबाट समेत विमानस्थलका अन्य निकायसँग समन्वय गर्न नसकेको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए। 

तर उनको राजीनामाले प्रहरी नेतृत्व र संगठनमा राम्रो सन्देश नजाने भन्दै फिर्ता लिन भनिएको थियो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र मानव स्रोत विकास विभागका प्रमुख टेकप्रसाद राईले उनलाई बोलाएरै राजीनामा फिर्ता लिन भनेका थिए। 

डीआईजी चन्द, एआईजी राई र आईजीपी कुँवरकै ब्याची हुन्। स्रोतका अनुसार छलफलमा चन्दलाई आईजीपी कुँवरले भनेका थिए, ‘२९ वर्ष सँगै काम गरियो, अब एक वर्ष त हो, मिलेर काम गरौं र सँगै घर जाउँला।’

एआईजी राईले पनि त्यस्तो द्वन्द्वका बेला त नछाडेको जागिर अहिले किन छाड्ने भन्दै सम्झाएको स्रोतले बताएको छ। 

अहिले राजीनामाको प्रक्रिया नमिलेको भनेर फिर्ता गरिदिने, त्यसपछि चन्दले अर्को राजीनामा पत्र नदिने र उनलाई १० दिन बिदामा पठाउने समझदारी प्रहरी नेतृत्वमा भएको छ। 

यहीबीचमा उनलाई विमानस्थल प्रमुखबाट सरुवा गरेर अर्का डीआईजीलाई त्यहाँ खटाउने तयारी पनि भएको उच्च स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .