ad ad

समाज


संसारले आदर्श मानेका अर्जुनप्रसादको पीडादायी अवसान

संसारले आदर्श मानेका अर्जुनप्रसादको पीडादायी अवसान

राधिका अधिकारी
माघ २९, २०८० सोमबार १६:२८, काठमाडौँ

२०४४ भदौ ४ गतेको एक बिहान काठमाडौँको विशालबजारतिर टहलिरहेका काभ्रेका अर्जुनप्रसाद मैनालीका आँखा ‘रक्तदान’ लेखेको एउटा ब्यानरमा ठोक्कियो। त्यो ब्यानरमुनि थोरै मानिस रक्तदान गरिरहेका थिए, हेर्नेहरुको भिड ठूलो थियो। 

त्यही भिडमा मिसिएका अर्जुनले रक्तदानका विषयमा सर्वसाधारणलाई बुझाउन खटिएका स्वयंसेवकका कुरा सुने। आफूलाई मनमा आएका प्रश्न पनि राखे। र, आफूले पनि रक्तदान गरे। 

यो उनको जीवनकालको पहिलो रक्तदान थियो। लायन्स क्लबले आयोजना गरेको उक्त शिविरमा रक्तदान गरेर फर्किएका उनको मन रक्तदानमा मात्रै गैरह्यो। त्यसपछि बिदा र फुर्सदको अधिकांश समय उनी रक्तसञ्चार केन्द्रतिर बिताउन थाले। 

काभ्रेको कोर्थुम्कामा जन्मेका मैनालीले १९ वर्षको उमेरबाट रक्तदान सुरु गरेको उनकै आत्मकथामा उल्लेख छ। २०४४ सालबाट रक्तदान गर्न थालेका उनले त्यसपछि हरेक वर्ष कम्तीमा ४ पटक रक्तदान गर्थे। 

उनी भन्थे, ‘मान्छेहरुलाई बचाउन सकूँ र समुदायलाई पनि उत्प्रेरणा दिन सकूँ भन्ने मेरो मूल उदेश्य हो। रक्तदान महादान हो। यो असाधारण काम हो। रगत निकाल्दा कमजोर बनिन्छ भन्ने आम धारणा छ। तर, होइन।’ 

उनले केही वर्षअघि मात्रै रक्तदानपछिको अनुभव सुनाउँदै भनेका थिए, ‘आफ्नो शरीरमा सुचारु भएको रगत एकाएक निकाल्दा रगतका कोसिका र नसाहरुमा केही गडबड भने हुन्छ। यसले कसैकसैलाई केही अप्ठ्यारो हुन्छ तर तरल पदार्थको यथेष्ट उपभोगले एकदुई दिनमा नै यथारुपमा आउँछ। रगत खेर जाने चिज होइन, यो सबैलाई चाहिने कुरा हो, अरुलाई रगत दिनु र उसलाई बचाउनु चानचुने कुरा हुँदै होइन।’

नेपालबाट सुरु भएको मैनालीको रक्तदान यात्रा नेपालमा मात्रै सीमित रहेन। उनले १९ देशमा पुगेर रक्तदान गरेको उनकै आत्मकथामा उल्लेख छ। अमेरिकाको क्यालिफोर्नियादेखि अलास्का र न्युयोर्कदेखि नर्थ क्यारोलिनासम्मका सहरमा उनीले कयौँ पटक रक्तदानकै लागि यात्रा गरेका थिए। हाइटी, केन्या, मालावी, इथियोपिया, रुवान्डा, युगान्डा, इक्वेडरजस्ता गरिब र अल्प विकसित देशका पनि रक्तदान गर्न पुगेका मैनाली आयरल्यान्ड, क्यानडा, अस्ट्रेलिया, बेलायत, मकाउजस्ता विकसित देश पनि रक्तदानकै सिलसिलामा पुगे।

अहिलेसम्म २ सय ६ पटक रक्तदान गरेर थुप्रैको जीवन बचाएका मैनाली सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनमा भाग लिन अमेरिका पुगेका थिए। त्यसपछि उनले परिवारलाई पनि अमेरिकै लगै। हाल उनी अमेरिकाकै नर्थ क्यारोलाइनामा परिवार सहित बस्दै आएका थिए। 

मैनाली लेखक जो थोमसको ‘द ब्लड डोनर’ कथाबाट प्रभावित थिए। सन् १९८६ मा आफूले उक्त कथा पढेको उनले उल्लेख गरेका छन्। उनी त्यतिबेला काठमाडौँको नेपाल कमर्स क्याम्पसमा प्रमाणपत्र तह अध्ययन गर्थे। कथाले मैनालीलाई रक्तदानप्रति जिज्ञासु बनायो। थोमसको ‘द ब्लड डोनर’मा एक जना अमेरिकी नागरिकले रगत दिएर धेरै मान्छेलाई बचाएको कथा लेखेका थिए। त्यसपछि आफ्नो मनमा म पनि अरुलाई बचाउन सक्छु कि भन्ने भावना विकास भएको र ‘मेरो रगत समूह कुन होला, मानिसको रगत कसरी झिक्छन् होला, अरूको शरीरमा कसरी राख्छन् होला, रगत कसरी बन्छ होलाजस्ता जिज्ञासाले रक्तदान गर्न उत्प्रेरित गरेको मैनालीले सुनाउने गरेका थिए। 

उनले आफूले रक्तदान मात्रै गरेनन्। थुप्रै युवालाई रक्तदानका लागि उत्प्रेरणा दिए। रक्तदान जीवनदान हो भन्दै थुप्रै ¥याली र समारोहमा सरिक भए। रक्तदानपछि मानिस कमजोर हुन्छ भन्ने आम धारणा चिर्नका लागि थुप्रै काम गरे। मैनाली हरेक मानिसलाई वर्षमा कम्तीमा एक पटक रक्तदान गर्न आग्रह गर्थे। भन्थे, ‘म सबैलाई वर्षमा कम्तीमा एक पटक रक्तदान गर्न अनुरोध गर्छु। तपाईंले दान गरेको रगतले कोही बिरामी बाँच्न सक्छ।’

उनी बेलाबेला स्मरण गरिरहेका हुन्थे, युवा र समुदायका लागि रगत दिनुपर्छ भन्ने आफ्नो उत्प्रेरणा र हौसलाले अरु थुप्रै मानिसले रक्तदान गरेको कुरा। नेपालमा रहँदा होस् अथवा अमेरिकामा आफूले रगत दिनु मात्रै होइन, युवालाई यो कुरामा प्रोत्साहन र हौसला दिनका लागि उनी संस्थागत रुपमै अगाडि बढे। नेपाल ब्लड डोनर्स क्लबका संस्थापक सदस्य रहेका उनले २००९ मा अमेरिकामा पनि ‘ब्लड डोनर्स अफ अमेरिका’ नामक संस्था स्थापना गरेका थिए। 

उनले सन् १९९० ताका वर्षको कम्तीमा पनि एक पटक रक्तदान गरौँ भन्ने नारा बोकेर साइकलमा नेपाल भ्रमण गरेका थिए। उनको भनाइ थियो, ‘मेरो जीवन कसैका लागि उपहार हो। यो उपहार म सकिन्जेल प्रदान गरिरहन्छु।’ 

उनले रक्तदान गरेरै विश्वकीर्तिमान कायम गरेका थिए। साइकल यात्रा गर्नुका पछाडि उनलाई रक्तदान गरेका मानिस कमजोर हुँदैनन् भनेर सन्देश पनि दिनु थियो। ब्लड बैंक परिसरमा देखिएको एउटा दृश्यले उनलाई यस्तो सन्देश आवश्यक रहेको महसुस गरायो।

एक जना पुरूष श्रीमतीको अपरेसनका लागि दुई पोका रगत माग्न आइपुगे। दुर्भाग्यवश त्यतिखेर ब्लड बैंकमा उनलाई आवश्यक रगत थिएन। कर्मचारीले ती पुरूषलाई श्रीमतीका लागि एक पोका रगत आफैँ दिन सुझाए। तर, उनी आफ्नो रगत दिन डराए। मैनालीलाई लाग्यो, ‘आम युवालाई पनि रक्तदान गर्न प्रेरणा दिनुपर्छ।’ 

सन् १९९० डिसेम्बर ५ मा १६ औँ पटक रक्तदान गरेको एक घण्टापछि मैनालीले रगत दान गरेर पनि मान्छे कमजोर हुँदैन भन्ने प्रमाणित गर्न लगातार ३१ दिन साइकल यात्रा गरेका थिए। त्यसपछि हो, उनले लियो र लायन्स क्लबमा आबद्ध भएर रक्तदान अभियानको प्रवद्र्धन गर्न थालेको। 

यी र यस्तै प्रेरणादायी काम गरेका मैनालीले थुप्रैखालका सम्मान पनि पाए। उनी जीवित रहदै वेएस्टर डे, न्युयोर्कले डिसेम्बर २२ लाई ‘विश्वरक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा ग¥यो। अमेरिकन रेडक्रसले उनलाई सन् २००९ मा ‘द गुड नेबर’ सम्मान प्रदान ग¥यो। सोही वर्ष अमेरिकामा ब्लड डोनर्स अफ अमेरिका, सन् २०१४ मा इन्टरनेसनल नेप्लिज ब्लड डोनर्स र सन् २०१९ मा वल्र्ड ब्लड डोनर अर्जुन मैनाली इनकर्पोरेसन स्थापना भए। तीनै संस्थाका संस्थापक अध्यक्ष मैनालीको सामाजिक सञ्जाल हेर्दा केही समय अघि पनि रक्तदान गरेको देखिन्छ।

३६ वर्षदेखि लगातार रक्तदान गर्दै आएका मेनालीले २०७७ सालमा आफ्नो आत्मकथा ‘विश्व रक्तदाता’ समेत प्रकाश गरेका थिए। उनको उक्त आत्मकथा विश्वका ११ भाषामा प्रकाशन भएको छ। 

सामाजिक छवि उँचो बनाएका मैनालीको आर्थिक अवस्था भने कमजोर रहेको बताइन्छ। उनले केही वर्षअघि भनेका थिए, ‘सामाजिक मान–सम्मान पाए पनि घरको आर्थिक अवस्था भने तन्दुरुस्त छैन। यो सबै मेरी श्रीमतीको साथ र सहयोगले सम्भव भएको हो।’ अन्त्यमा उनले श्रीमतीलाई नै सम्बोधन गर्दै लामो स्टाटस लेखेर मृत्यु वरण गरे। 

रक्तदाताका रुपमा संसारभर चर्चा पाएका मैनाली नेपाली समय अनुसार सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो र भावुक स्टाटस हालेर अलप भए। उनले स्टाटसमा आफू मृत्युको बाटोमा हिँडेको बताएका थिए। उनले फेसबुकमा लेखेको उक्त स्टाटस क्षणभरमै भाइरल भयो। विश्वका थुप्रै मुलकबाट मानिसहरुले उनको जीवन रक्षाका लागि प्रार्थना र कामना गरिरहेका थिए। 

यता सञ्जालमा उनको जीवनका लागि कामना गर्दै गर्दा उनी भने अमेरिकाको नर्थ क्यारोलाइनास्थित लट्टा नेचर प्रिजर्भ नामक पार्कमा मृत भेटिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .