ad ad

समाज


दादुरा-रुबेला खोप अभियान : बागमतीमा साढे ८ लाख बालबालिकालाई लगाइँदै

दादुरा-रुबेला खोप अभियान : बागमतीमा साढे ८ लाख बालबालिकालाई लगाइँदै

नेपालखबर
फागुन १०, २०८० बिहिबार १६:३८, हेटाैँडा

बागमती प्रदेशका ८ लाख ४९ हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ। फाल्गुन १३ गतेबाट सुरु हुने खोप अभियान अन्तरगत बागमतीमा ८ लाख ४९ हजार ३२५ बालबालिकामा दादुरा–रुबेलाको खोप लगाइने लक्ष्य रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

अभियान अन्तगत बागमती प्रदेशका १३ जिल्लामा फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म खोप लगाइने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक दीपक प्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार राष्ट्रिय अभियान अन्तगत नै खोप अभियान सुरु भएता पनि प्रदेशका केही जिल्ला अथवा स्थानीय तहमा सुरु हुने दिन फरक पर्न सक्ने छ।

फागुन १३ गते चितवनको इच्छाकामना गाउँपालिकामा रहेको सर्वशान्ति माध्यामिक विद्यालयबाट खोप अभियानको उद्घाटन गरिने तयारी रहेको स्वास्थ्य निर्देशक तिवारीले बताए। उनका अनुसार अभियानका उद्घाटन प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले गर्नेछन्।

कुन जिल्लामा कति बालबालिकालाई खोप लगाइँदै?
प्रदेशको १३ जिल्लामा रहेका ८ लाख भन्दा बढी बालबालिकाहरूलाई दादुरा–रुबेला विरुद्धको खोप लागाउँदै गर्दा सबैभन्दा धेरै बालबालिकाको संख्या काठमाण्डौंमा रहेको छ। जहाँ ३ लाख ६० हजार ३९८ बालबालिकामा खोप लगाइने तथ्यांक छ। यस्तै, रसुवामा सबैभन्दा कम ४ हजार ६३ बालबालिकामा दादुरा–रुबेलाको खोप लगाइने स्वास्थ्य निर्देशनालयको तथ्यांक छ।

यस्तै, दोलखामा ११ हजार २५६, सिन्धुपाल्चोकमा १५ हजार ६६८, धादिङमा २२ हजार ३३७ र नुवाकोटमा १७ हजार ६३० बालबालिकामा दादुरा–रुबेला विरुद्धको खोप लगाइने बताइएको छ।

यस्तै, भक्तपुरमा ७७ हजार ६५१, ललितपुरमा ९६ हजार ६७८, काभ्रेमा २३ हजार ९५६, रामेछापमा ११ हजार ६८९, सिन्धुलीमा २५ हजार ६७८, मकवानपुरमा ३२ हजार ६२५ र चितवनमा १ लाख ४९ हजार ७९६ बालबालिकामा दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेश, हेटौंडाले जनाएको छ।

जसमध्ये प्रदेशका चार जिल्लामा फरक ढंगले खोप अभियान सञ्चालन गर्न लागिएको बताइएको छ। प्रदेशको काठमाडौं, चितवन, ललितपुर र भक्तपुरमा भने ९ महिना देखि १५ वर्ष उमेर सम्मका बालबालिकामा खोप लगाउन लागिएको हो।

अन्य जिल्लाको हकमा भने ९ महिनादेखि ५ बर्ष उमेर समूहका बालबालिकामा मात्रै दादुरा–रुबेलाको खोप लगाइने निर्देशक तिवारीले बताए। उनका अनुसार बालबालिकाको संख्या ठूलो भएको र खोप लगाउन छुटेका बालबालिकाहरु धेरै हुने भएकोले १५ वर्षसम्मका बालबालिकालाई नै खोप लगाउन लागिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .