ad ad

समाज


बच्चा चोर्नेलाई के सजाय हुन्छ?

बच्चा चोर्नेलाई के सजाय हुन्छ?

नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष शालिकराम सापकोटा


नेपालखबर
फागुन १२, २०८० शनिबार १८:२२, काठमाडौँ

शुक्रबार काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि लगिएको एक शिशुलाई ‘म बोकिदिन्छु’ भन्दै एक महिलाले काँडाघारी पुर्‍याएको फेला पर्‍यो।

बिहान पौने १२ बजेतिर हराएको शिशु १२ घण्टापछि प्रहरीले भेटेको हो।  

त्यसैले बच्चा लैजाने व्यक्ति दैलेखको नौमुले गाउँपालिका वडा १ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने मनकुमारी सिंह रहेको प्रहरीको भनाइ छ। उनका पति नेपाली सेनामा कार्यरत रहेको र दम्पतीसँग आफ्नो सन्तान नरहेको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ।

यसरी आमालाई झुक्याएर अरूको बच्चा लैजानेलाई के कारबाही हुन्छ त?

नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष शालिकराम सापकोटाका अनुसार, यस्तो घटनामा अपहरण तथा शरीरबन्धकसम्बन्धी कानुन आकर्षित हुन्छ।

‘अभिभावकको मञ्जुरीबेगर बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँ घुमाउन त लैजान पाइँदैन,’ अधिवक्ता सापकोटा भन्छन्, ‘यस घटनामा त झुक्याएर अर्काको बच्चा आफ्नो बनाउने उद्देश्यले लगिएको छ। जस्तोसुकै पुनीत कार्यका लागि भए पनि अर्काको नवजात शिशु यसरी आमाबाट छुटाएर लैजानु गम्भीर फौजदारी अपराध हो।’

मुलुकी अपराध संहिता, २०७४ को दफा २११ मा अपहरण गर्न नहुने भन्ने व्यवस्था छ।

सोही दफाको उपदफा २ मा कुनै व्यक्तिलाई बल प्रयोग गरी, धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोरजुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरिरहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यसउपर कुनै किसिमले नियन्त्रण गरी कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण गरेको मानिने उल्लेख छ।

त्यस्तै बालबालिका वा शारीरिक अशक्तताको कारणले अरूको आश्रयमा बसेको व्यक्तिलाई बाबुआमा वा संरक्षकको मञ्जुरीबिना वा झुक्यानमा पारी जबर्जस्ती कुनै ठाउँमा लगेमा पनि अपहरण गरेको मानिने उल्लेख छ।

दफा २१२ मा बालबालिका र होस ठेगान नभएको व्यक्ति भए निजको आमाबाबु वा संरक्षकको मञ्जुरीबिना छलकपट गरी वा झुक्यानमा पारी नियन्त्रणमा लिई थुनामा वा नियन्त्रणमा राखेमा शरीर बन्धक लिएको मानिने उल्लेख छ।

सोही संहिताको दफा २१४ मा ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना हुने गरी सजाय पनि तोकिएको छ।
अपहरण गरी शरीर बन्धक लिने व्यक्तिलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र एक लाखदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना हुने संहितामा लेखिएको छ।

 प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ तर कुन कानुनअनुसार कारबाही अघि बढ्छ भनेको छैन।

‘कतिपय अवस्थामा अभद्र व्यवहार वा सार्वजनिक कसुरमा कारबाही चलाएको पनि देखिन्छ,’ सापकोटा भन्छन्, ‘तर यो अपहरण र शरीरबन्धक नै हो।’

​सम्बन्धित समाचार:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .