समाज


२० लाखमा निर्मित सार्वजनिक शौचालय वडालाई, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क

२० लाखमा निर्मित सार्वजनिक शौचालय वडालाई, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क

नेपालखबर
माघ २९, २०७६ बुधबार ५:४७,

एभरेष्ट बैंकले नयाँ बानेश्वरस्थित छक्कुपक्कु पार्कको आडमा निर्माण भएको सार्वजनिक शौचालय वडा कार्यालयलाई हस्तान्तरण गरेको छ। पार्कमा बुधबार आयोजना गरिएको औपचारिक कार्यक्रममा बैङ्कका तर्फबाट शौचालयको साँचो वडा अध्यक्ष रामकुमार केसीलाई हस्तान्तरण गरिएको हो।

व्यावसायिक सार्वजनिक उत्तरदायित्वअन्तर्गत बैङ्कले करिब २० लाख रुपैयाँ खर्च गरेर छक्कुपक्कु पार्कको मर्मत तथा सार्वजनिक शौचालय निर्माण गरेको हो। नवनिर्मित शौचालयमा पुरुषका लागि ४ वटा पिसाब फेर्ने युरिनल र १ वटा दिशा गर्ने ठाउँ, महिलाका लागि २ वटा र अपाङ्गता भएका व्यक्तिका लागि १ वटा छुट्टाछुट्टै ठाउँ छन् ।

शौचालयको साँचो बुझिसकेपछि कार्यक्रममा बोल्दै वडाध्यक्ष केसीले राजधानीको केन्द्रमा मानिस आउँदा शौचालय नभएर खेप्नु परेको सास्ती अब हट्ने बताए। ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बाहिर एउटा राम्रो शौचालय नहुँदा वडालाई पनि अप्ठ्यारो महसुस भएको थियो। सामाजिक उत्तरदायित्वअन्तर्गत शौचालय प्राप्त भएको छ। अब यसलाई गुणस्तरीय ढङ्बाट सञ्चालन गर्छौँ’ वडाध्यक्षले थप्दै भने, ‘शौचालयबाट उत्पादन भएको मलमूत्रबाट बायोग्याँस उत्पादन गरिनेछ भने सरसफाइमा कुनै कमी हुनेछैन।’

अपाङ्गता भएका व्यक्ति, पर्यटक र ज्येष्ठ नागरिकलाई शौचालय निःशुल्क हुनेछ । यसको दिगो व्यवस्थापनका लागि अन्य उपभोक्ताबाट सेवा शुल्क संकलन गरिनेछ । यसरी संकलन भएको रकम सरसफाइ र बायोग्याँस उत्पादनमा खर्च हुनेछ। वडाले यस कामका लागि एरोसान सन्टेनेबल स्यानिटेसनले सञ्चालन गरेको सरसफाइ सहकारी संस्थासँग सहकार्य अघि बढाएको छ।

शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका नायव महाप्रबन्धक आशुतोष शर्माले, व्यवसायिक संस्थागत उत्तरदायित्वअन्तर्गत वडासँग थप सहकार्य हुने बताए। त्यस्तै संस्थागत उत्तरदायित्व समितिका सदस्य डा. गणेश गुरुङले निर्माण भएको शौचालय दिगो र गुणस्तरीय सेवा दिन सक्ने गरी सञ्चालन गरिनुपर्ने बताए।

प्रमुख बजार व्यवस्थापक पुष्पराज उप्रेतीका अनुसार बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्रमा वातावरणमैत्री शवदाह क्षेत्र निर्माण गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad